चक्रपथको निर्माण गर्दैछौं : नेत्रराज अधिकारी

मेयर, शिवराज नगरपालिका, कपिलवस्तु

स्थानीय सम्वाद्

3/12/2020

० जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि जनताले अनुभूति गर्ने के–कस्ता कामहरू गर्नुभयो ?

— हामी निर्वाचित भएको दुई वर्ष पूरा भएर तेस्रो वर्षमा प्रवेश गरेका छौं । हामीले यो अवधिमा सरसफाइलाई विशेष प्राथमिकता दिएका छौं । भौतिक पूर्वाधारको विषयमा पनि हामीले धेरै ठाउँमा बाटोघाटो निर्माण गर्‍यौं । कतिपय ठाउँमा पिच सडक बनाइएको छ भने कतपय ठाउँमा ग्राभेल बाटो निर्माण गरेका छौं । यस्तै, आवतजावतको पनि समस्या थियो, झुलङ्गे पुल, अन्य पुलहरू निर्माण गरेका छौं । करिब ५०–६० वटा साना–ठूला गरेर पुलहरू बनाएका छौं । हाम्रो नगरपालिका तराई भेगमा परेकाले यहाँ खरका छाना भएका धेरै घरहरू छन् । नगरपालिकालाई खरको छानामुक्त बनाउनका लागि करिब एक करोड ९० लाख रूपैयाँ बजेट विनियोजन गरेका छौं । खरको छानाबाट मुक्त गराउन सकियो भने आगलागी नियन्त्रणमा आउनसक्छ । त्यस्तै, नगरपालिकाको सबै वडालाई समेट्ने गरी चक्रपथको निर्माण गर्दैछौं ।

० करिब लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधिको आउँदा जनताका अपेक्षाहरू कस्तो पाउनुभयो ?

— लामो समयको अन्तरालपछि स्थानीय तहमा जनप्रतिनिधि आउँदा जनताका अपेक्षाहरू धेरै नै पायौं । गणतन्त्र आएपछि सबै कुरा एकैचोटि भइहाल्छ भन्ने किसिमका जनताका चाहना छन् । सबै कुरा एकैपटकमा पूरा हुन सक्दैन । हामीले विकासको लहरलाई सुरूवात गरेका छौं । मलगायत मेरो टिमले कम्मर कसेर लागेका छौं । हामीलाई काम गर्न विभिन्न बाधा अड्चनहरू छन्, तर जनताका चाहना धेरै छन् । हामीसँग पर्याप्त कर्मचारी पनि छैनन् । तैपनि हामीले हिम्मत हारेका छैनौं, गर्दै जाने र सिक्दै जाने हो । जनतासँग हामीले जुन कबुल गरेका छौं, त्यो पूरा गरेरै छाड्ने हाम्रो अठोट हो ।

० निर्वाचनका बेला तपाइँहरूले के–के आश्वासन दिनुभएको थियो ?

— निर्वाचनका बेला समय अवस्था हेरेर जे पनि भनिन्छ । तर, मूल कुरो मैले भौतिक अवस्था सुधार गर्ने, यातायातको सुविधा दिने, पठन–पाठन, स्वास्थ्य, कृषि लगायतमा सुधार गर्ने, रोजगारीको अवस्था सिर्जना गर्ने, पर्यटकीय क्षेत्रहरूलाई सुधार गर्ने र पर्यटक भित्र्याउने र त्यसबाट आयआर्जन गराउने लगायतका आश्वासनहरू दिएका थियौं । ती सबै कुराहरू पूरा गर्ने प्रयासमा हामी छौं । केही भइरहेका छन्, केही पूरा पनि भएका छन् ।

० नगरपालिकाको कामबाट जनता कतिको सन्तुष्ट छन् ?

— जतिसुकै राम्रो काम गरेपनि केही तत्वहरूले दोष लगाउन खोज्छन् नै । तर, समग्रमा भन्नुपर्दा म एकदम निष्ठावान भएर काम गरिरहेको छु । जसले जनताले असन्तुष्ट हुने अवस्था देखेको छैन । शतप्रतिशत सन्तुष्ट त ब्रम्हा विष्णु महेशले पनि सन्दैनन् । तर, म कसैलाई काखा वा पाखा नगरेर समग्र नगरपालिकाका जनता हाम्रा हुन्, सबैको घरआँगनमा सेवा सुविधा पुर्‍याउने हाम्रो दायित्व हो भनेर लागिरहेको छु । हाम्रा विपक्षीहरूले पनि बहुत राम्रो काम भइरहेको भनिरहेका छन् ।

० सिंहदरबार गाउँमा भन्ने नारा कतिको अनुभूति गराउन सक्नुभएको छ त ?

— जनताले घरमै बसेर विभिन्न सेवा सुविधाहरू पाइरहेका छन् । वडा–वडाबाट जनताका आधारभूत सेवा सुविधाहरू हामीले पुर्‍याएका छन् । त्यसैले सिंहदरबार गाउँमा भन्ने अनुभूति अवश्य नै भएको छ । कुनै पनि सानोभन्दा सानो समस्या पर्‍यो भने हामी जनप्रतिनिधिहरू पुगेर समाधान गर्ने गरेका छौं । त्यसकारणले जनताले धेरै सुविधाहरू पाएका छन् । पहिला सानो कामका लागि पनि जिल्लाको सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो तर, अहिले त्यस्तो छैन । जनता हाम्रा मालिक हुन्, हामी सेवक हौं भन्ने हिसावले लागिपरेका छौं । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तह नै भएकोले हामीसँग जनता अत्यन्त सन्तुष्ट छन् ।

० प्रदेश सरकारसँग कस्तो सहकार्य भइरहेको छ ?

— प्रदेश सरकारसँग हाम्रो सहकार्य राम्रै भइरहेको छ । प्रदेश सरकारका मन्त्रीहरूसँग हाम्रो सम्बन्ध राम्रा छन् ।

० करको दायरा के छ ?

— मेरो नगरपालिकाका जनता करबाट पीडित छैनन् । यस नगरपालिकामा जग्गा–जग्गाको विषयमा कर लागू भएको छ । यसमा लगाएको कर पनि अत्यन्त न्यून छ । हामीले न्यायोचित तरिकाले राजमार्ग आसपासका जग्गाहरूमा कर लगाएका छौं । कार्यपालिका बसेर उद्योग वाणिज्य संघ, व्यापार संघ, भद्रभलादमीहरूलाई राखेर करको दायरा निर्धारण गरेका छौं । त्यसको आधारमा कर लिइएको छ । मध्यमवर्गीय मान्छेहरूले कम कर लगाइएको र ठूलाबडाहरूले नगरपालिकाले धेरै कर लिएको भन्छन् । समग्रमा भन्नुपर्दा शिवराजका जनता करबाट पीडित हुने अवस्था छैन ।

० तपाइँको महत्वाकांक्षी योजनाहरू के–के छन् ?

— हाम्रो महत्वाकांक्षी योजनाहरू भनेको खरको छानामुक्त नगरपालिका बनाउने भनेर सुरूवात गरेका छौं । त्यस्तै, नगरपालिकाका सबै नगरपालिकालाई जोड्ने एउटा चक्रपथको परिकल्पना गरेर त्यसको डिपिआर गरेर त्यसको काम भइरहेको छ । त्यस्तै, नगरपालिकामा दुईटा ठूला पुलहरू बन्दैछन् । हाम्रो अर्को मुख्य लक्ष्य भनेको शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष प्राथमिकता दिने रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ