वि.सं. २००८ सालमा स्थापना भएको यो नगरपालिकामा २०३८÷३९ सालमा चन्द्रगढी र महेशपुर गा.वि.सको केही वडाहरूलाई एकीकृत गरी १५ वडामा विभाजन गरिएको छ । त्यसपछि वि.सं.२०७१ साल मंसीर १६ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्)बाट भएको निर्णयबाट भद्रपुर नगरपालिका, महेशपुर र चन्द्रगढी गा.वि.स.समायोजन भई भद्रपुर नगरपालिकाको क्षेत्र विस्तार भई ७३.०२८३२६ वर्ग कि.मि हुन गयो । भने वि स. २०७३ को राज्य पुनर्संरचनामा साविक पृथ्वीनगर गाविस पनि भद्रपुर नगरपालिकामा समायोजन भएको छ ।
० जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएदेखि के–कस्ता कामहरू गर्नुभयो ?
— हामीलाई विभिन्न प्रकारका काम र दायित्वहरू लिएर अगाडि बढ्नुपर्ने आवश्क्ता छ । सबैभन्दा महत्वपूर्ण विकास निर्माणका कामहरू छन् । सुशासनलाई कसरी व्यवस्थित गर्ने, जनजीविकासँग सम्बन्धित कामहरू अगाडि बढाउनुपर्ने लगायतका कामहरू छन् । त्यहीअनुसार नै हामी अगाडि बढिरहेका छौं । वर्षौंदेखि रहेका समस्याहरू निराकरण गर्न लागिपरेका छौं ।
० कामहरू गर्न कस्ता चुनौती महसुस गरिरहनु भएको छ ?
— धेरै नै चुनौती छन् । जनताका अपेक्षा र आकांक्षा धेरै छन् । हामीसँग साधनस्रोतहरू सीमित छन् । घरदैलोमा सिंहदरबार भनिएको छ तर सिंहदरबार घरदैलोमा भन्ने कुराको महसुस गराउने अवस्थासम्म हामी पुगिसकेका छैनौं । किनभने हामी निर्वाचित भएर आएको करिब २ वर्ष हुन लाग्यो तर अहिलेसम्म कर्मचारी समायोजन हुन सकेको छैन । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनका लागि भनेर विषयगत सरकारी कार्यालयहरू जेजति थिए ती सबैलाई नगरपालिका र गाउँपालिकामा समायोजन गरेर अगाडि जानेभन्दा हामी अलि फरक ढंगबाट गइरहेका छौं । कर्मचारी समायोजन नभएकोले अत्यन्तै धेरै समस्याहरू छन् ।
० भनेपछि स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा भन्ने कुरा नारामा मात्रै सीमित छ ?
— सम्पूर्ण कुराहरू नारामा मात्रै सीमित छन् भनेर त भन्न सकिँदैन । सिंहदरबारका धेरै अधिकारहरू स्थानीय तहमा आएका छन् । भद्रपुर नगरपालिकाले न प्रहरी चलाउन पाउँछ र न प्रशासन चलाउन पाउँछ । नगरपालिका सरकार हो तर, नगरपालिका सरकारसँग आफ्नै प्रहरी प्रशासन छैन । हामीसँग पुग्दो साधनस्रोत पनि छैन । न त पर्याप्त मात्रामा कर्मचारी नियुक्त गर्न पाउँछौं न त हामीले भनेबमोजिमको दरबन्दी कायम गरिदिने हो सरकारले । त्यसैले, अहिले जटिलता धेरै छन् । संघीयता लागू भएको छ, जनताका केही अधिकारहरू हामीले अभ्यास गरेका छौं । सडक बनाउनेदेखि लिएर पुलपुलेसा बनाउने, विद्युतीकरण गर्ने लगायतका कामहरू हामीले गरिरहेका छौं । तर पनि जनताको आकांक्षाअनुसार पर्याप्तरूपमा पूरा गर्न सकिरहेका छैनौं । त्यसैले, सिंहदरबार गाउँ–गाउँमा नारा त होइन तर नारामै सीमित बनाउन खोजिएको छ ।
० केन्द्रिकृत मानसिकताले यसलाई नारामा सीमित गर्न खोजिरहेको छ ?
— केन्द्रिकृत शासन पद्धतिले हामीलाई नारामा सीमित राख्न खोजिएको भन्दा पनि के विषयवस्तु छ जसको कारणले स्थानीय तह र संघ–प्रदेशहरूको बीचमा अधिकारको बाँडफाँडको लडाईमा अहिले पनि स्पष्टता आउन सकेको छैन । किनभने हामी स्थानीय तहमा जनताका दैनिक काममा व्यस्त हुन्छौं । स्थानीय तहलाई बलियो बनाउनका लागि केन्द्रीय तहबाट जुन भूमिका खेलिनुपर्ने हो त्यस्तो भइरहेको छैन ।
० तराई–मधेश समृद्धि कार्यक्रमबाट कतिको कार्यक्रमहरू पाउनुभएको छ ?
— भद्रपुर नगरपालिका पूर्णरूपमा तराई–मधेश हो तर, हामीलाई तराई–मधेश समृद्धि कार्यक्रमबाट एउटा पनि कार्यक्रम दिइएको छैन । यो नगरपालिकालाई तराई–मधेश समृद्धि कार्यक्रमबाट बजेट परेको छैन । यो नगरपालिका पूर्णरूपमा तराई–मधेश हुँदा पनि परेन भने यो नगरपालिका तराई मधेश होइन भन्ने व्याख्या हुनुप¥यो । हामीभन्दा अलि अवस्था राम्रो भएको नगरपालिकाहरूमा तराई–मधेश समृद्धि कार्यक्रम गयो तर हाम्रो भद्रपुर नगरपालिकामा आउन सकेन ।
० भद्रनगरपालिका तराई–मधेश समृद्धि कार्यक्रममा किन पर्न सकेन ?
— यो नगरपालिका पूर्णरूपमा मधेश हो । यहाँ मधेशवासीहरूको बसोबास पनि घना छ । सन्थाल, आदिवासी, राजवंशी, गन्गाई, बंगाली, बिहारी लगायतका समुदायहरूको बस्ती छ । यो पूरानो नगरपालिका पनि हो र सीमानासँग पनि जोडिएको छ । यस्तो अवस्थामा नगरपालिकामा तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत कार्यक्रम माग गरियो, हामीले योजना पठायौं तर पनि हामीले पाउन सकेनौं । अझै पनि पहुँचकै आधारमा विकासको अवधारणा अगाडि जाने हो कि हामीलाई लागेको छ ।
० भनेपछि, नेकपा निकटका नेता कार्यकर्ताहरूले मात्र लाभ लिइरहेका छन् ?
— म पनि नेकपाबाटै स्थानीय प्रतिनिधिको रूपमा निर्वाचित भएको हुँ । त्यसैले नेकपाभन्दा पनि व्यक्तिगत पहुँचको आधारमा योजना तथा कार्यक्रमहरू दिइएको हो । यो नगरपालिकामा पक्षपात गरिएको छ ।
० तपाइँ आफ्नो कार्यकालमा यो नगरपालिकालाई कस्तो बनाउने सोच्नुभएको छ ?
— हामी निश्चय पनि कुनै राजनीतिक पार्टीको ब्यानरमा निर्वाचित भएर आएका छौं । त्यो स्मरण गरेर हामी रहिरहेका छैनौं । अब हामी जनताका आमरूपमा प्रतिनिधि बनेका छौं । कुनै पनि व्यक्तिगत वा पार्टीगत लहरमा भद्रपुरको विकास अगाडि बढ्न सक्दैन । विकास निर्माणका लागि अगाडि बढ्न हामी केही ठोस गुरूयोजनाहरू निर्माण गर्नुपर्छ । हामीले भिजन मिसन निर्धारण गर्दा ‘पूर्वी क्षेत्रको व्यापारिक द्वार, शान्ति र समृद्धिसहितको भद्रपुर नगर’ भनेर योजना बनाएर लक्ष्य तय गरेर गणतव्यमा पुग्ने छौं । हामीले १५ वर्षे आवधिक योजना तयार गरेका छौं जसलाई एकीकृत सहरी विकास योजना पनि भन्छौं । हामी भूउपयोग गुरूयोजना पनि तयार गरिसक्यौं । यस नगरपालिका पर्यटकीयस्थलहरूलाई विकास गर्न विषयगत विज्ञहरूलाई राखेर पर्यटन गुरूयोजना पनि निर्माण ग¥यौं । भद्रपुर नगरपालिकाको विकास र समृद्धिका लागि मेची रंगशाला, मेची अञ्चल अस्पताल लगायतका पूर्वाधार र संरचनाहरू निर्माण गरिरहेका छौं । हिजोको गतिभन्दा अहिलेको गति हामीले द्रूतगतिमा विकास र समृद्धिको बाटोमा लागेका छौं ।
तपाईको प्रतिक्रिया