० निजगढ नगरपालिकामा निर्वाचित भएर आएदेखि यहाँका जनताले कस्तो महसुश गरेका छन् ?
— विशेषगरी अहिले हामीले सडक निर्माणलाई महत्व दिइरहेका छौं । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत पूर्वाधारको क्षेत्रमा हामीले काम गरेका छौं । जनताले जुन आशा लिएर हामीलाई निर्वाचित गरेर पठाएका छन् जनताको त्यो अपेक्षा पूरा गर्नेगरी हामी काम गरिरहेका छौं ।
० दुई दशकदेखि जनप्रतिनिधिविहीन भएको स्थानीय तहमा तपाईहरू आउँदा जनताका कस्ता अपेक्षा थिए ?
— घरघरमा सिंहदरबार भन्ने त नारा नै छ । स्थानीय सरकार निर्माण भएसँगै सम्पूर्ण अधिकार आफ्नै हातमा हुन्छ हामीले जनताको चाहना अनुसार काम गर्न सक्छौं भन्ने सोचाईका साथ निर्वाचनमा सहभागी भएर जितेर पनि आइयो तर आर्थिक अभाव साथै अन्य विभिन्न कारणले जनताका अपेक्षाहरू पूर्ण रूपले पुरा गर्न सकिएको छैन । संघीय र प्रदेश सरकारले पनि स्थानीय सरकारलाई सहयोग गरेका छौं भनिरहँदा हामीलाई बजेटको अभाव भईरहेको छ । आगामी दिनमा संघ र प्रदेशले दिने बजेटमा भर पर्नुभन्दा पनि स्थानीय तहमा आम्दानीको स्रोतहरू बढाउनुपर्ने देखिन्छ ।
० तपाईहरूले काम गर्दा कस्ता अप्ठ्याराहरू भोग्दै हुनुहुन्छ ?
— नेपालको संविधानले अनुसूचि ८ मा स्थानीय तहको अधिकारको विषयमा उल्लेख गरेको छ । कर्मचारी समायोजन नै अहिलेसम्म पूर्ण रूपमा भईसकेको अवस्था छैन । हाम्रो नगरपालिकालाई ६४ जना कर्मचारी आवश्यक छ तर १०÷१२ जना मात्र कर्मचारीले काम गर्नुपर्ने अवस्था छ । प्राविधिक कर्मचारीको अभाव हुँदा पनि हामी आफैं रातदिन खटेर विकास निर्माणको काम, पूर्वाधार विकासको काम, जनचेतनामुलक कामहरू गरिरहेका छौं । कर्मचारी पूर्ण नहुँदा हामीलाई धेरै समस्या परेको छ र जनतालाई दिनुपर्ने सुविधा पनि हामीले सोचेअनुरूप दिन सकिरहेका छैनौं ।
० प्रदेश सरकारसँग तपाईहरूको समन्वय कस्तो भइरहेको छ ?
— प्रदेश सरकारसँग मेरो एउटै गुनासो रहेको छ र संघीय सरकार वा प्रदेश सरकार जसको सहयोगमा काम भएपनि त्यो सबैको लागि राम्रो विषय हो ।हामी पनि सानै भएपनि सरकार हौं तर प्रदेश सरकारले स्थानीय तहलाई मूल्यांकन नगरेको महसुश भएको छ । स्थानीय तहका लागि विभिन्न शिर्षकमा आउने बजेटमा प्रदेश सरकारले सहकार्य गरेर जानुपर्नेमा प्रदेश सरकार मनापरी ढंगले अगाडि बढिरहेको छ । संघ, प्रदेश र स्थानीय तहबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्नेमा त्यसमा कतै चुकेको महसुश हामीलाई पनि भएको छ तर हामीले सकेसम्म सहमतिमै आएर काम गरिरहेका छौं । प्रदेशबाट जस्तो सहयोग पाईन्छ भनेर अपेक्षा गरेका थियौ त्यस्तो सहयोग पाएका छैन न्युनतम् सहयोग त भइरहेकै छ ।
० तर प्रदेश सरकारलाई भन्दा बढी अधिकार त स्थानीय सरकारसँग छ भनिन्छ नि ?
— अधिकार त दिएको छ भनिन्छ तर व्यवहारमा लागु भइसकेको छैन । शिक्षा क्षेत्रमा दिएको अधिकार पनि जिल्लासँग समन्वयन गरेर मात्र अगाडि बढ्नुपर्र्नेे अवस्था भएको छ । स्वास्थ्य क्षेत्रको कृषि क्षेत्रको अधिकार स्थानीय तहमा हुनेछ भनेर संविधानमा उल्लेख छ तर हामीले अहिलेसम्म पाएका छैनौं । संविधानले दिएको अधिकार पनि व्यवहारमा लागु नहुँदा समस्या उत्पन्न भएको छ ।
० यसमा कमजोरी कहाँ र कसको देख्नुहुन्छ ?
— हामी स्थानीय तहले वडाहरूमा २÷४ लाख भन्दा तलको बजेट विनियोजन गर्दैनौं तर संघीय सरकारले ४÷५ लाख बजेट एउटा वडामा पठाईदिन्छ । त्यहाँका स्थानीय प्रमुख वा त्यहाँका कार्यपालिकाको निर्णय अनुसार विनियोजित भएर बजेट जानुपर्नेमा अहिले पावर र पहुँचको भरमा कुन क्षेत्रमा कुन पार्टीको व्यक्ति प्रमुख छ भनेर हेरी आफ्नो अनुकुलको मान्छे भएन भने बजेट कम पठाउने गरेको पाईयो । प्रदेश र संघको यस्तो व्यवहारले स्थानीय निकायले जनताको चाहना अनुरूप काम गर्न नसकेको मैले महसुश गरेको छु ।
० प्रदेश २ का मुख्यमन्त्रीको बेटी पढाऊँ, बेटी बचाऊँ अभियान कत्तिको प्रभाकारी भएको छ तपाईको नगरपालिकामा ?
— यो नगरपालिकामा यो वर्षदेखि अभियान सुरू भएको छ गत साल थिएन । अभियान प्रभावकारी भएको छ र राम्रो सन्देश पनि गएको छ । यो मुख्यमन्त्रीज्यूको राम्रो कामको थालनी हो यो कामलाई सबैले सहयोग गरेर अगाडि लैजानुपर्छ ।
० तर यो अभियान अन्तर्गत साईकल वितरण मात्र गर्ने अभियान जस्तो देखिएको छ यसको आलोचनापनि हुन थालेको छ नि ?
— यो अभियान अन्तर्गत छोरी बिमा कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढिरहेको छ । हामी कुनैपनि कुराहरू निर्णय त गछौं तर त्यसलाई कसरी कार्यान्वयन गर्ने त्यसभित्र केके समेट्ने भन्ने विषयमा हामीभित्र द्धिविधा हुन्छ यो संघ, प्रदेश र स्थानीय तह सबैको समस्या हो ।
० तपाईहरू निर्वाचित भएर आएको लगभग २ वर्ष त बितिसक्यो अब ३ वर्ष बाँकी छ, तपाई आफ्नो कार्यकालभित्र निजगढ नगरपालिकालाई कस्तो बनाउनुहुन्छ ?
— देशभरी भएका नगरपालिका मध्ये ३ वटा नगरपालिकाको नगर विकासको अध्यक्षमा म छु । निजगढलाई सुचना र संचारको क्षेत्रमा अगाडि बढाउने, सडक मार्गमा सुधार गर्ने त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा सुधार गर्दै अगाडि बढ्न हामीले योजना बनाएका छौं । कृषि क्षेत्रमा सिँचाइलाई जोड दिने, निजगढमा पर्यटनको सम्भाव्यता अध्ययन गर्दै यहाँ पर्यटकीय क्षेत्रहरू विकास गर्नतर्फ मेरो ध्यान गएको छ । निजगढलाई शिक्षा र पर्यटनको हब बनाएर एउटा गन्तव्यस्थल बनाउने मेरो लक्ष्य रहेको छ । मेरो कार्यकालमा निजगढलाई २ नम्बर प्रदेशकै गन्तव्यस्थल बनाउने हिसाबले मैले काम गरिरहेको छु ।
तपाईको प्रतिक्रिया