० जनप्रतिनिधिको रूपमा निर्वाचित भएको दुई वर्षभन्दा बढी समय भइसक्यो, जनताले स्थानीय सरकारको महसुस गरेका छन् ?
— हामी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएदेखि संघीय सरकारबाट हामीलाई जुन बजेट आउँछ त्यसले खासै ठूलो उपलब्धि ल्याउन सक्दैनौं । तर, पहिलाको भन्दा त विकासको अनुभूति जनताले गरेकै छन् । तर, हामीले विकास निर्माणका कामहरू गरिरहेकै छौं । मलाई लाग्छ पक्कै पनि हाम्रा जनताले स्थानीय सरकारको अनुभूति गरिरहेका छन् ।
० उल्लेखनीय कार्यहरू के–के भयो त ?
— हामी निर्वाचित भएर आइसकेपछि बाटोघाटो निर्माण, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । कृषिमा भन्नुपर्दा हाम्रो नगरपालिका माछाजोन क्षेत्रमा परेको छ । यसमा केन्द्रीय सरकारले गरिरहेको छ । हामीले कृषिका लागि बोरिङ वितरण गरेका छौं । कृषिका लागि मात्रै खासै बजेट हामीलाई संघबाट आएको छैन । हामीसँग विकासे बजेट भनेर १५ करोड मात्र हुन्छ । शिक्षा क्षेत्रमा हामीले सामुदायिक विद्यालयमा सब इन्जिनियरको कक्षा सञ्चालन गराएका छौं । स्वास्थ्यको क्षेत्रमा संघीय सरकारले बजेट पठाउनुपर्ने हुन्छ । किनभने स्थानीय तहको बजेटले स्वास्थ्य क्षेत्रलाई भ्याउन सक्दैन ।
० करिब दुई दशकदेखि स्थानीय तह जनप्रतिनिधिविहीन थियो, तपाइँहरू निर्वाचित भएर आउँदा जनताका अपेक्षा कस्तो पाउनुभयो ?
— जनताको अपेक्षा यति ठूलो छ र बजेटको आकार यति सानो छ त्यसले गर्दा हामीले एकैचोटि पूरा गर्न सक्दैनौं । जनताको उच्च अपेक्षा हुनु स्वाभाविक हो । तर, हाम्रो बजेट र बलबुत्ताले भ्याएसम्म अपेक्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतिर लागेका छौं ।
० जनताको उच्च अपेक्षा रहँदा त्यसलाई पूरा गर्न कतिको चुनौती महसुस गर्नुभएको छ ?
— जनप्रतिनिधि नहुँदा जनताका कामहरू गराउन कर्मचारीसँग कुरा गर्ने वातावरण एक खालको थियो भने अहिले जनप्रतिनिधिसँग कुरा वातावरण अर्को खालको छ । कुनै पनि सिफारिस जनताले आफ्ना प्रतिनिधिसँग अधिकार सम्झेर माग्छन् । यसले गर्दा यहाँ भ्रष्टाचारको शून्य सहनशीलता रहन्छ । पहिला जनताको सानोभन्दा सानो काम गराउन पनि धेरै अप्ठ्याराहरू थिए, अहिले धेरै सजिलो महसुस गरिरहेका छन् । जहाँसम्म चुनौतीका कुरा छन्, हामीले त्यसलाई स्वीकार गरेर नै जनप्रतिनिधिका लागि तयार भएका थियौं । हाम्रो पाँच वर्षको कार्यकाल सम्पन्न भएपछि हामीले जनताका लागि काम गर्न सके कि सकेनौं भन्ने कुराको मूल्यांकन जनता आफैले गर्नेछन् ।
० यस वर्षको बजेटमा रंगेली नगरपालिकाको महत्वाकांक्षी योजनाहरू के–के छन् ?
— यस वर्ष हामीले बाटोघाटो निर्माण, कोल्डस्टोर बनाउने लगायतका महत्वाकांक्षी योजनाहरू छन् । यहाँ वडा नं. ७ मा शहरी विकास मन्त्रालयले बनाउँछ, हुलाकी सडक आयोजनाभित्र दुई–दुई वटा टेन्डर परेको छ, अर्को नगरपालिकाले बनाउँछ । त्यस्तै, प्रदेश सरकारले पनि बहुवर्षीय योजनाअन्तर्गत सडकहरू निर्माणको कार्य प्रारम्भ गर्दैछ ।
० सिंहदरबार गाउँ–गाउँमा भनिन्थ्यो, यो नारा कतिको लागू भएको छ त ?
— हामीले सिंहदरबारका अधिकांश अधिकारहरू पाएका छौं । तर, केही कुराको अधिकारहरू कटौती पनि भएको छ । संघीयतामा स्थानीय तहले कतिपय पाउनुपर्ने अधिकार अहिले पनि हामीले पाएका छैनौं । केही अधिकार यस्ता आएका छन् कि बजेटको अभावले स्थानीय तहले परिपालन नै गर्न सक्दैन । संघीयतामा एकैचोटि सबै कुरा पूरा भइहाल्छ भन्ने कुरा पनि छैन । अप्ठ्यारा कुराहरूलाई संघीय सरकारले विस्तारै संशोधन गर्दै लानुपर्छ । यस्ता कुराहरूलाई सुधार गर्न तीनै तहको सरकारबीच सहकार्य र समन्वय हुनुपर्छ ।
० जनप्रतिनिधिलाई तलब दिनु गैरकानूनी हो भनेर अदालतले भनेको छ, यसलाई कसरी लिनुभएको छ ?
— प्रदेश नं. १ को सरकारले कानून ल्याउँदा भत्ता सिस्टम गरेको थियो, जुन वैध ठहरियो । हामीले महिनाबारी भनेर तलब लिएकै थिएनौं । मैले पाउने भत्ता बैंकमा दाखिला गरेर राखेको छु । त्यो पैसाले मैले नगरपालिकाभरि एक सय १५ ठाउँमा वाइफाई जडान गर्दैछु । अब आउने मेरो भत्ताले जनतालाई वाइफाईको सुविधा दिने योजना अगाडि बढाएको छु ।
० प्रदेश सरकारसँग कतिको सहकार्य हुन्छ त ?
— प्रदेश सरकारसँग हाम्रो सहकार्य त भई नै रहेको हुन्छ । प्रदेशले पनि हामीलाई बेलाबखतमा बजेट दिइरहेकै हुन्छ । लगभग राम्रै भन्नुपर्छ ।
० रंगेली नगरपालिकामा करको दायरा केकति छ ?
— हामी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आइसकेपछि पहिलाको करमा पनि केही न केही घटाएकै छौं । हामीले करको नाउँमा एक रूपैयाँ पनि थपेका छैनौं । यहाँका जनता करबाट अलिकति पनि पीडित छैनन् । यहाँ केही पनि हामीले कर लगाएका छैनौं ।
० तपाइँ आफ्नो कार्यकालभित्र रंगेली नगरपालिकालाई कस्तो बनाउने उद्देश्य राख्नुभएको छ ?
— हामी निर्वाचित हुनुभन्दा पहिला नै यहाँबाट सदरमुकाम सरिसकेको थियो, त्यसलाई त फर्काउन सक्दिँन । तर, त्यो कम बजार व्यवस्थापन बनाउँदिन भन्ने मेरो अठोट छ । चुनावका बेला मैले रंगेली नगरपालिकाको मुहार फेर्छु भनेको थिएँ, पाँच वर्षभित्र पक्कै पनि मुहार फेर्छु ।
० रंगेलीमा सबभन्दा बढी सम्भावना के छ ?
— यहाँको सबभन्दा बढी आयस्रोत बढाउने सम्भावना भन्सार नाका नै हो । मैले संघीय सरकारसँग भन्सार नाका सुचारूका लागि प्रस्ताव गरेको छु । रंगेलीको सीमा छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएकोले रंगेली भन्सार नाका खोलिदियो भने यहाँको आर्थिक वृद्धिमा ठूलो टेवा मिल्थ्यो । त्यसकारणले मैले वैकल्पिक भन्सार नाको रूपमा संघीय सरकारसमक्ष प्रस्ताव गरेको छु ।
तपाईको प्रतिक्रिया