प्रदेश र संघीय सरकारबाट कुनै सहयोग छैन : संजीव कुमार साह

प्रमुख, भँगाहा नगरपालिका, महोत्तरी

स्थानीय सम्वाद्

1/4/2019

मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अंचलको महोत्तरी जिल्लाका १० वटा नगरपालिका मध्ये यो भंगहा नगरपालिका पनि एक हो । यो वि.सं. २०७४ साल भाद्र १ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम घोषणा भएको हो । हालको राजनैतिक विभाजन अनुसार नेपालको प्रदेश २ को महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं.१ मा पर्ने साविकका ६ (छ) वटा ग.वि.स. भंगहा, सिंग्याही,धर्मपुर, हतिसर्वा, मेघनाथगोरहन्ना र हरिहरपुर हरिनमरी एकिकृत गरि यो भंगहा नगरपालिका घोषणा गरिएको छ । यहाँ जम्मा ९ वडा रहेको छ भने जनसंख्या ४६,७५४ रहेको छ । यसको क्षेत्रफल ७७.२१ वर्ग कि.मी. छ । यसको सिमाना पूर्वमा धनुषा जिल्ला बटेश्वर गाउँपालिका, पश्चिममा औरही नगरपालिका र रामगोपालपुर नगरपालिका, उत्तरमा बर्दिबास नगरपालिका र धनुषा जिल्ला बटेश्वर गाउँपालिका र दक्षिणमा लोहारपट्टी नगरपालिका र बलबा नगरपालिकासम्म रहेको छ ।

० जनप्रतिनिधिको रूपमा निर्वाचित भएदेखि तपाइँले के कस्ता कामहरू गर्नुभयो ?

— देशैभरिमा सबभन्दा बढी अति पिछडिएको समुदाय बसोबास भएको भँगाहा नगरपालिका नै हो । यहाँ मुसहर, चमार, बातर, डोम, दुसाध लगायत पिछडिएका समुदायहरूको बस्ती हो । नगरपालिकामा कसैको बिहे हुँदा विद्यालयमा जन्ती राख्नुपर्ने जुन परम्परा थियो, त्यसलाई अन्त्य गरेका छौं । त्यसका लागि हामीले २७ वटा सामुदायिक भवन बनायौं । यो भवन निर्माणपछि विद्यालय बन्द गरेर जन्ती राख्ने अवस्थाको अन्त्य भएको छ । भँगाहा नगरपालिका बाढी प्रभावित क्षेत्र हो । त्यसतर्फ पनि सुधार गरिएको छ । सडक निर्माण गरेर आवत–जावतमा सहज भएको छ । कृषिमा आधारित भएकोले कृषि आधुनिकीकरणका लागि पनि योजनाहरू ल्याएका छौं । यस नगरपालिकामा ३० वटा विद्यालयहरू छन्, ती सबैका लागि डेस्क बेन्चदेखि लिएर भौतिक पूर्वाधारहरू निर्माण ग¥यौं । त्यस्तै, स्वास्थ्य क्षेत्रमा पनि सुधार ग¥यौं । यसैगरी, यस्ता धेरै योजनाहरू सम्पन्न गरेका छौं ।

० भँगाहा नगरपालिका यतिधेरै पिछ्डिनुको कारण के ?

— राज्यले मधेशलाई जहिले पनि पछाडि पार्ने रणनीति जुन विगतमा थियो जसले गर्दा पिछडिएको क्षेत्र झन् उपेक्षित भयो । बर्दिवास, गौशाला र भँगाहा नगरपालिका महोत्तरीको क्षेत्र नं. १ भित्र पर्छ तर बजेट विनियोजन गर्दा पिछडिएको भँगाहामा सबभन्दा कम बजेट दिने गरेको छ । मधेश जहिले पनि पछाडि रहोस् भन्ने भावनाकै कारण आजसम्म पछाडि परेको हो । यहाँ ३० विद्यालयमध्ये चार वटा यस्ता विद्यालय छन् जहाँ अनुमति ५ कक्षा सम्मको दिइएको छ तर एउटा पनि प्रावि शिक्षकको दरबन्दी छैन । यहाँ प्रावि शिक्षकको भरमा निमावि चलिरहेको छ । माविमा प्राविका शिक्षकहरू पढाउने गरेका छन् । यस्ता विभेदका थुप्रै उदाहरणहरू छन् ।

० तर, विगतमा मधेशकेन्द्रित दलका अधिकांश नेताहरू महत्वपूर्ण मन्त्रालयहरू सम्हालेका थिए, उनीहरूले किन काम गरेनन् ?

— वास्तवमा मधेशी दलका अधिकांश केन्द्रीय नेताहरूले महत्वपूर्ण मन्त्रालयहरू सम्हाले । तर, उहाँहरूले पनि सकारात्मक दृष्टि राख्नु भएन । ती सबै आआफ्ना स्वार्थपूर्तिमै लागे । यद्यपी संघीय सरकारले हामीलाई सहयोग नगरे पनि हामीसँग उपलब्ध बजेटबाट पक्कै पनि परिवर्तनको आभाष दिलाउनेछौं । भँगाहा नगरपालिकाको मुहार पक्कै परिवर्तन हुनेछ ।

० यस्तो पिछडिएको ठाउँमा काम गरिरहँदा कति चुनौती महसुस भइरहेको छ ?

— स्वाभाविकरूपमा धेरै चुनौतीहरू छन् । हामीलाई संघीय वा प्रदेश सरकार कसैको सहयोग प्राप्त भइरहेको छैन । यस नगरपालिकामा प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव बाहेक अरू कुनै पनि मन्त्रीहरूको उपस्थिति छैन । यस नगरपालिकाबाट मत पाएका नेताहरूले यहाँको अवस्थाबारे बुझ्न पनि आएका छैनन् । आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक गर्ने हो भने चुनौतीलाई अवसरको रूपमा परिणत गर्न सकिन्छ ।

० भँगाहालाई आत्मनिर्भर बनाउन सक्ने मुख्य स्रोत के हो ?

— यहाँको मुख्य आयस्रोत भनेको कृषि हो । यहाँका जनजीवन कृषिमा आधारित छन् । सिंचाइका लागि इनार, विद्युतको व्यवस्था गरेका छौं । कृषकहरूलाई गहुँ, धान, तरकारीको बीउ वितरण गरेका छौं । मत्स्य पालनका लागि ३० वटा पोखरीलाई अनुदान दिएर निर्माण ग¥यौं । यहाँ लगभग दुई दर्जन जति पोखरीहरू छन् । त्यसैले हामीले कृषिलाई विशेष जोड दिएका छौं ।

० कृषिका लागि प्रदेश वा संघीय सरकारबाट के–कस्ता अनुदान वा सहयोग पाउनुभएको छ ?

— अहिलेसम्म हामी प्रदेश वा संघीय सरकारबाट कुनै किसिमको अनुदान वा सहयोग पाएका छैनौं । हामीले जे गरिरहेका छौं, त्यो आफ्नो बजेटबाट गरिरहेका छौं । कृषि मन्त्रालयबाट सचिवले बोलाएर छलफल गर्ने, अनुदान दिने लगायतका प्रतिबद्धता दिएका छन् । नमुना नगरपालिका बनाउन आवश्यक सहयोग दिने कृषिका सचिवले आश्वासन दिएका छन् ।

० तपाइँहरूले गरिरहेको कामबाट जनता कति सन्तुष्ट छन् ?

— यो कुरा यहाँका जनतासँगै सोध्नुस् । म आफूलाई जहिले पनि राम्रै काम गरेको ठान्छु । यहाँका जनता पनि सन्तुष्ट नै छन् ।

० स्थानीय निर्वाचनपछि सिंहदरबार गाउँ–गाउँमा जुन नारा थियो, यो कतिको महसुस गराउनुभएको छ ?
— यो नारा बेबकुफ बनाउने मात्रै हो । सिंहदरबार गाउँ–गाउँमा भन्छन् तर, म नगरपालिकाको प्रमुख भएको नाताले एउटा पिउनलाई कारबाही गर्ने अवस्था छैन । विद्यालयमा शिक्षक आउँदैन भने कुन आधारमा मैले कारबाही गर्ने ? मैले एउटा कर्मचारीलाई समयमा किन कार्यालय नआएको भनेर स्पष्टीकरण सोध्दा उसले कुन दफाले स्पष्टीकरण सोध्न अधिकार दिएको छ भनेर जवाफ दिन्छन् । नाउँको लागि सिंहदरबार गाउँ–गाउँमा भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ