प्रदेश र संघीय सरकारलाई मृतक र संक्रमितको तथ्यांक मात्रै चाहिन्छ : हरि प्रसाद मण्डल

स्थानीय सम्वाद्

8/14/2020

० कोरोना भाइरस (कोभिड–१९) तराई/मधेशको जिल्लामा तीव्रगति फैलिरहेको छ । मटिहानीको अवस्था के छ ?

— निश्चितरुपमा अहिले सम्पूर्ण विश्व समुदायकै लागि एउटा चुनौतीको घडी हो । सुरुवाती अवस्थामा जतिबेला भारतमा संक्रमण तीव्रगति फैलिरहेको थियो त्यतिबेला हामीले पूर्ण लकडाउन गरेका थियौं । त्यतिबेला भयावह स्थिति भइसकेको थिएन तर अहिले नेपालमा पनि भयावह स्थिति आउँदैछ । विगत दुई सातादेखि यहाँ पनि हामीले लकडाउन गरेका छौं । जनचेतनामूलक कार्यक्रमहरु पनि चलाइरहेका छौं । यसैबीचमा वडा नं. ६ शम्भु महतोको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उहाँ पहिलादेखि नै विरामी हुनुहुन्थ्यो । उहाँको अवस्था गम्भीर भएपछि जनकपुरमा उपचारका लागि लगिएको थियो र उपचारकै क्रममा उहाँको निधन भयो । उहाँ निधनपश्चात् मटिहानीमा ल्याएर दाहसंस्कार गरिसकेपछि मात्रै रिपोर्ट पोजिटिभ रहेको आयो । उहाँको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर हामीले अहिले जनकपुर पठाएका छौं । समग्रमा भन्नुपर्दा मटिहानी लगायत महोत्तरी जिल्लाकै अवस्था नितान्त चिन्ताजनक अवस्था छ ।

० मृतक संक्रमितको ट्राभल हिज्ट्री पनि छ कि ? कन्ट्याक्ट ट्रेसिङ्ग गर्नुभएको छ ?

— उहाँको ट्राभल हिज्ट्री छैन तर उहाँको एउटा पसल छ । उहाँ आफ्नै पसलबाट संक्रमित हुनुभयो कि भन्ने शंका हामीलाई लागेको छ । उहाँ पहिलादेखि पनि बिरामी हुनुहुन्थ्यो । उहाँको दाहसंस्कारमा सहभागी भएका ५६ जना हुनुहुन्थ्यो । मृतकको रिपोर्ट आएकै दिन ती सबैलाई घरमै होम क्वारेन्टाइनमा बस्न आग्रह ग¥यौं । त्यहीं दिन वडा नं. ६ लाई सिल ग¥यौं । दाहसंस्कारमा अग्रपंक्तिमा रहेका करिब १५–१६ जना ती सबैको स्वाब संकलन गरेका छौं । उहाँहरुको रिपोर्ट आइसकेपछि थप अगाडिको कदम चाल्छौं । तर, समयमा रिपोर्ट नआउँदा झन बढी जोखिम बढेको हो ।

० मटिहानीमा कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको हो ?

— यस नगरपालिकामा अहिलेसम्म मृतक बाहेक एकजना पनि पोजिटिभ केश देखिएको छैन । तर छिमेकी पालिका जलेश्वर नै अति प्रभावित भएको देखिन्छ । सेवाग्राही कार्यालयहरुमा पनि अहिले कोरोना पोजिटिभहरु फेला परिरहेका छन् । जलेश्वर सदरमुकाम भएको कारणले ओहोर–दोहोर भइरहन्छ । त्यसकारणले मटिहानीभन्दा पनि जिल्लाभरि नै समुदायस्तरमा देखिन थालेका छन् ।

० नगरपालिकामा कतिको परीक्षण गर्नुभएको छ त ?

— बुधबार मात्रै हामीले ९० जनाको परीक्षण गरेका छौं । यसअघि हामीले थुप्रैको स्वाब संकलन गरेका थियौं । बाहिरबाट आएकाहरुलाई क्वारेन्टिमा राख्ने गरेका थियौं । तर अहिले कुन पालिकाको पालो आउँछ त्यसपछि मात्रै परीक्षण हुने गरेको छ । त्यसकारणले प्रशस्तरुपमा अहिले त्यतातिर कामै भएको छैन । हामीसँग प्राविधिक, ल्याब इत्यादि छैन । त्यसले गर्दा परीक्षण गर्न सकेका छैनौं । महोत्तरी जिल्लामै प्राविधिक र ल्याब छैन । जनकपुरबाहेक अर्को उपाय छैन । हामी जनकपुरमै आधारित भएकोले कठिनाइ भोगिरहेको अवस्था छ ।

० जिल्लाको सदरमुकाममै ल्याबको व्यवस्थापन किन हुन सकेन ?

— जिल्ला अस्पताल जलेश्वरमा पहिला २५ सैय्या मात्रै थियो, पछि ५० सैय्याको अस्पताल भयो । अहिलेसम्म जलेश्वर अस्पतालमा भेन्टिलेटर पनि छैन । कोही त्यस्तो गम्भीर प्रकारको विरामी भए भने बाहिरै ल्याउनुपर्ने स्थिति छ । तर अहिले भेन्टिलेटर थप्ने काम भइरहेको मैले जानकारी पाएको छु । पालिकाहरुलाई अन्तिम अवस्थामा बजेट दिइयो । प्रदेश २ सरकारको करोडौं करोड रुपैयाँ फ्रिज भयो । प्रदेशले नै हरेक जिल्ला अस्पताललाई कम्तीमा एउटा ल्याबको व्यवस्था गरिदिएको भए परीक्षणको दायरा बढ्न सक्थ्यो ।

० तर प्रदेश सरकारले त संघीय सरकारबाट सहयोग भएन भनेर गुनासो गरिरहेको छ ?

— संघीय सरकारले सहयोग गरेन, त्यसैले कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न सकिएन भन्ने कुराहरु राजनीतिक कुराहरु मात्रै हुन् । मुख्यरुपमा स्थानीय तहले जसरी युद्धस्तरमा काम ग¥यो, त्यसको तुलनामा न त प्रदेशले काम ग¥यो, न त संघीय सरकारले ग¥यो । सुरुमा स्थानीय निकाय त पूरै तागत लगाएर अहरोत्र खट्यो । तर, परीक्षण गराउनका लागि हामीसँग कीट छैन । प्रदेश र संघीय सरकारसँग मात्रै छ । त्यत्रो महामारी फैलिरहेको बेला जाँचको दायरा प्रदेश अथवा संघीय सरकारले बढाउनुप¥यो नि । अहिले पनि प्रदेश सरकारले दैनिक बुलेटिन मात्रै जारी गरिरहेको छ । हामीले जिल्लास्तरबाट मात्रै गरिरहेका छौं । संघ वा प्रदेशले कसरी म¥यो भनेर एक पटक पनि सोध्दैनन् । कुनै संक्रमित मरिसकेपछि माथिल्लो निकायबाट कुनै किसिमको सोधीखोजी गर्दैन । त्यसकारणले यो आफैमा एउटा जोखिमता हो ।

० प्रदेश सरकारले आफ्नो कमजोरी लुकाउन मात्रै संघीय सरकारमाथि आरोप लगाउने गर्छ ?

— निश्चितरुपमा प्रदेश सरकारले आफ्नो कमी कमजोरी लुकाउन संघीय सरकारमाथि आरोप लगाउने गरेको छ । प्रदेश सरकारको गतिविधि के त ? देखिनुप¥यो नि । यस्तो गम्भीर महामारी फैलिरहेको बेलामा सरकार संवेदनशील हुन सकेको छैन । प्रदेशको भूमिका के त यस्तो बेलामा ? प्रदेश र संघीय सरकारलाई दिनको दिन ५ बजेभित्र मृतक र संक्रमितको तथ्यांक मात्रै चाहिन्छ प्रेस मिटमा जानकारी दिनका लागि । त्यसबाहेक अरु केही पनि छैन ।

(मधेशवाणीका लागि रामसुकुल मडलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ