प्रदेश सरकारबाट कुनै किसिमको सहयोग पाएका छैनौं

स्थानीय सम्वाद्

8/30/2020

० कोरोना भाइरस रोकथामका लागि उपमहानगरले के गर्दैछ ?

— कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका अहिलेसम्म कुनै खोप वा औषधि नआइसकेको अवस्था छ । यो महामारीको प्रकोपबाट बच्नका लागि हामीले सामाजिक दूरी बनाउने, मास्क लगाउने, अत्यावश्यकबाहेक घर बाहिर नकिस्किने, भिडभाड नगर्ने, सेनिटाइज गर्ने लगायतका कुराहरुमा जनचेतना फैलाइरहेका छौं । हामीले कोरोनाको पीसीआर टेष्ट पनि गरिरहेका छौं । यसभन्दा अगाडि हामीले १२५ जनाको पीसीआर टेष्ट गरेका थियौं, जसमध्ये ३० जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसको कन्ट्याक्ट ट्रेसिङ्गमा हामीले ३४४ जनाको पीसीआर टेष्ट गरेका थियौं । त्यसमध्ये पनि ८० जनामा कोरोना संक्रमण देखिएको छ । अहिले ती ८० जनाको पनि कन्ट्याक्ट ट्रेसिङ्ग भइरहेको छ । उनीहरुको पनि कन्ट्याक्ट ट्रेसिङ्ग गरेर फेरि जाँच गरिनेछ ।

० संक्रमितहरुलाई क्वारेन्टाइन वा आइसोलेसनमा राख्ने व्यवस्था कस्तो छ ?

— कलैया उपमहानगरपालिकामा एक वटा आइसोलेसन वार्ड छ । पहिला हामीसँग ११० बेडको क्वारेन्टाइन थियो । त्यसलाई हामीले असार २० गतेतिर बन्द ग¥यौं । त्यतिखेर कलैयामा करिब साढे तीन सयको पीसीआर टेष्ट गर्दा एउटा पनि कोरोना संक्रमित फेला परेको थिएन । फेरि अहिले आएर टेष्ट हुँदा कोरोना संक्रमितहरु फेला परिरहेका छन् । आइसोलेसन वार्ड राम्रोसँच चलाउनका लागि चिकित्सक हुनुप¥यो । कलैया उपमहानगरपालिकाभित्र चिकित्सक छैन । कलैया उपमहानगरको अस्पताल प्रदेश सरकार मातहतमा छ । त्यसमा अहिले कोरोनाको विरामी थप्दै जाँदाखेरि फेरि हामी आइसोलेसन सुरु गर्दैछौं । त्यसका लागि हामीले व्यवस्थापन गरिसकेका छौं ।

० अहिले कोरोना संक्रमितहरु फेला पर्दैछन्, तर तपाइँहरुले आइसोलेसन वा स्वास्थ्य सामग्री लगायतका कुराहरुको पूर्वतयारी किन गर्नुभएन ?

— जसरी नेपालमा कोरोना संक्रमण फैलिन सुरु भयो, त्यसको सुरुवाती अवस्थामै पूर्वतयारी अवस्था थियौं । खासगरी हाम्रो नगरपालिका बारा जिल्लाको सदरमुकाम पनि हो । यसमा प्रदेश सरकारको मातहत कलैयाको अस्पताल रहेकोले प्रदेश सरकारले गर्नुपर्ने थियो । हामीले आइसोलेसन बनाएका छौं तर हामीसँग चिकित्सक छैन । बारा जिल्लाको सदरमुकामको अस्पतालमा कुनै किसिमको व्यवस्थापन छैन । स्वास्थ्यकर्मीको अभावका कारण हाम्रो इमर्जेन्सी वार्ड जहिले पनि बन्द नै हुन्छ ।

० भनेपछि कलैया उपमहानगरसँग स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री पनि छैन ?

— सबभन्दा अप्ठ्यारो हामीसँग स्वास्थ्यकर्मी नै छैन । क्वारेन्टाइन चलाउनका लागि सामान्य अवस्था हो । तर आइसोलेसनमा संक्रमितलाई राखिन्छ, त्यसका दक्ष जनशक्ति र स्वास्थ्य सामग्री नै चाहिन्छ । प्रदेश सरकारको मातहत रहेको कलैया अस्पतालमा अहिलेसम्म केही पनि उपलब्ध गराएको छैन । हामीलाई प्रदेश सरकारको कुनै अनुभूति नै भएको छैन । यस्तो महामारीका बेला पनि प्रदेश सरकारले प्रदेशभरिका अस्पतालहरुको अवस्था बुझ्नुपर्ने थियो, कहाँ के चाहिन्छ भन्ने कुराको जानकारी लिनुपर्ने थियो । तर त्यस्तो केही पनि चाँसो प्रदेश सरकारको देखिएको छैन ।

० तर, प्रदेश सरकारले त कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई अर्ब रुपैयाँ खर्च गरिसक्यो र यसपटकको बजेट पनि करिब दुई अर्ब बजेट छुट्याएको छ नि ?

— प्रदेश सरकारले कति खर्च ग¥यो, कहाँ खर्च ग¥यो हामीलाई केही पनि थाहा छैन । प्रदेश सरकारबाट कोरोना रोकथामको नाममा वा स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मी केही पनि पठाएको छैन । कलैया अस्पतालमा प्रदेश सरकारको तर्फबाट न त स्वास्थ्यकर्मीको व्यवस्थापन हुन सकेको छ न त स्वास्थ्य सामग्रीको । बारा जिल्लामा १६ वटा स्थानीय तह छन् । हामीले सबै स्थानीय तहसँग समन्वय गरेर पीसीआर मेसिन किन्ने प्रक्रिया अगाडि बढाएका छौं । दुई चार दिनमा हामीसँग आफ्नै पीसीआर मेसिन आउँछ । त्यसका लागि जनशक्ति पनि हामी स्थानीय तहले नै ६ महिनाका लागि व्यवस्थापन गर्न गइरहेका छौं । बारा जिल्लाका १६ वटै स्थानीय तहबीच समन्वय भएर हामीले कलैया अस्पतालमा पीसीआर मेसिन राख्छौं र त्यसका जनशक्ति पनि राख्न गइरहेका छौं । त्यसको सम्पूर्ण खर्च हाम्रा स्थानीय तहहरु मिलेर नै जुटाउने छौं । प्रदेश र संघीय सरकारको कुनै चाँसो नदेखिएपछि हामी स्थानीय तहका जनप्रतिनिधिहरुले यस्तो निर्णय गरेका छौं । जनतालाई बचाउनका लागि प्रदेश र संघीय सरकारको मुख ताकेर बस्यौं भने अझ भयावह अवस्था आउँछ ।

० प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले त कोरोना रोकथामका लागि प्रदेश सरकारले इमान्दारी प्रयास गरेको भनिरहेका छन् नि ?

— प्रदेशका मुख्यमन्त्रीले कोरोना रोकथामका लागि के कति इमान्दार प्रयास गर्नुभयो त्यसमा हामीले टिकाटिप्पणी गर्नु आवश्यक छैन । यसका बारे यहाँका जनता र नागरिक समाजले राम्ररी हेरिरहेका छन् । प्रदेश सरकारले कमसेकम स्थानीय तहहरुलाई स्वास्थ्य सामग्रीहरु पठाउनुपर्ने थियो । प्रदेश सरकारले स्वास्थ्य सामग्री तथा चिकित्सकका लागि अहिलेसम्म कुनै कार्यक्रम वा पैसा पनि पठाएको छैन । हामीलाई प्रदेश सरकारबाट पैसा नै चाहिँदैन, हामीलाई स्वास्थ्य सामग्री पठाइदिएको पनि हुन्थ्यो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ