० तपाइँ मेयरको रूपमा निर्वाचित भएको दुई वर्षभन्दा बढी समय भइसक्यो, जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
— धनुषा जिल्लामा सबभन्दा बढी पिछडिएको विदेह नगरपालिका नै हो । यहाँ पिछडिएका वर्ग समुदायको बसोबास छ । त्यसैले यहाँको शैक्षिक अवस्था एक एकदमै दयनीय थियो, हामी निर्वाचित भएर आएपछि शिक्षालाई नै बढी प्राथमिकतामा राखेका छौं । यसैगरी, हामीले बाटोघाटो निर्माण, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा पनि हामी काम गर्दैछौं । हाम्रो कामबाट जनता सन्तुष्ट नै छन् । हामीले टीम बनाएर नगरपालिकाको विकास निर्माणका कामहरू गर्दै आएका छौं ।
० विदेह नगरपालिकामा किन पछाडि प¥यो त ?
— पहिलादेखि नै यो ठाउँतिर कुनै पनि नेता वा मन्त्रीहरूको ध्यान पुग्न सकेन । विदेह नगरपालिका छिमेकी मित्रराष्ट्र भारतको सीमासँग जोडिएको छ । यहाँ दलित र मुस्लिमहरूको जनसंख्या बढी रहेको छ । यहाँबाट मत लिनेहरूले यहाँका जनताका बारेमा कहिल्यै पनि सोचेनन्, मतदाताको रूपमा मात्र हेरे । हामी निर्वाचित भएर आउँदा चुनौती अवसर दुवै हेरेका छन् । यस्तो पिछडिएको क्षेत्रलाई ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र व्यापारको अभिभारा आत्मनिर्भर र सुन्दर विदेह’को मूल नाराका साथ काम गरिरहेका छौं ।
० पिछडिएको नगरपालिकाको रूपमा रहेको विदेहमा काम गर्न कतिको चुनौती महसुस गर्नुहुन्छ ?
— जनताले हामीलाई चुनौतीका साथसाथै अवसर पनि दिएका छन् । हामीले चुनौतीलाई स्वीकार गरेर काम गरिरहेका छौं । यहाँ काम गर्न खासै चुनौती छैन । किनभने हामीलाई नगरसभाबाट सहयोग नै प्राप्त भइरहेको छ । कुनै पनि योजना वा कार्यक्रम ल्याउँदा नगरसभाका सदस्यहरूसँग छलफल गरेर सबैको भावना बुझेर नगरपालिकाको काम कारबाही अगाडि बढाइरहेका छौं ।
० नगरवासीले स्थानीय सरकारको अनुभूति गरेका छन् ?
— हो, अवश्य नै नगरवासीले स्थानीय सरकारको अनुभूति गरेका छन् । पहिला यहाँका जनता मतदाताको रूपमा प्रयोग हुन्थे तर, यस पटक जनताको मतको कदर भएको महसुस गरेका छन् । मत र कर मात्र तिर्दै आएका जनताले अब आफ्नै घरदैलोमा सरकारको अनुभूति गरेका छन् । पहिला सिंहदरबार काठमाडौंमा भनिन्थ्यो तर अहिले गाउँ–गाउँमा भनिएको छ । मुलुकमा तीन तहको सरकार छ, तर केन्द्रीय र प्रदेश सरकारभन्दा पनि जनताले स्थानीय सरकारको अनुभूति बढी गरेका छन् । हामीले बजेट सबभन्दा कम दिइन्छ तर, हामीसँग प्राप्त बजेटबाट नै जनतालाई विभिन्न सेवा सुविधा उपलब्ध गराउँदै आएका छौं ।
० भनेपछि, सिंहदरबार गाउँमा आएकै हो त ?
— पूर्णरूपमा सिंहदरबार गाउँमा आएको छैन । किनभने लामो समयदेखि ब्युरोक्रेसीले जसरी चलाउँदै आएका थिए, उसले अप्ठ्याराहरू गरिरहेका छन् । ब्युरोक्रेसीले स्थानीय सरकारका विभिन्न कामहरूमा बाधा अवरोध खडा गरिरहेको छ, उसले आफ्नो पूरानो मानसिकता त्याग्न सकिरहेको छैन । केािन्द्रत शासकलाई छोड्न सकेको छैन ।
० प्रदेश सरकारसँग कस्तो सहकार्य हुन्छ ?
— प्रदेश सरकारले विदेह नगरपालिकासँग सहकार्य गर्न चाहिरेको छैन । प्रदेश २ मा १३६ वटा स्थानीय सरकार रहेका छन् । अहिलेका सत्तारूढ दलले आफ्ना पार्टीको नेतृत्व रहेको स्थानीय तहसँग मात्रै बढी सहकार्य गरिरहेको देखिन्छ । म तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएको हुँ । सायद म फरक पार्टीबाट भएकोले नै प्रदेश सरकारलाई हामीलाई वास्ता गरेको छैन ।
० मुख्यमन्त्रीको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम विदेह नगरपालिमा आएको छ कि छैन ?
— यो कार्यक्रमबारे हामीले सुनिरहेका छौं । हामीसँग प्रदेश सरकारले यसका लागि कुनै सहकार्य गरेको छैन । सत्तारूढ दलकै नेता कार्यकर्ताहरूसम्म मात्र यो कार्यक्रम आएको देखिन्छ । मुख्यमन्त्रीजीले माघदेखि जन्मिने छोरी लखपति हुने भनेर घोषणा गर्नुभएको छ । सोहीअन्तर्गत छोरी बीमा कार्यक्रम पनि ल्याइएको छ । तर, हाम्रो नगरपालिकामा १० प्रतिशत पनि यो कार्यक्रम लागू भएको देखिँदैन । हामी पनि एउटा सरकार हो, तर हामीलाई प्रदेश सरकारले वास्ता नै गरिरहेको छैन ।
० तपाइँ आफ्नो कार्यकालभित्र विदेह नगरपालिकालाई कस्तो बनाउने सोच्नुभएको छ ?
— ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र व्यापारको अभिभारा आत्मनिर्भर र सुन्दर विदेह नगरपालिका’ हाम्रो मूल नारा हो । हामी यही लक्ष्य प्राप्तिका लागि आफ्नो कार्यक्रमहरू अगाडि बढाइरहेका छौं । यो नगरपालिका जति पछाडि परेको छ, त्यतिकै उत्कृष्ट बनाउने मेरो सोच छ । यहाँका देखिएका समस्याहरू जुन विगतमा जनताले भोगिरहेका थिए, ती सबै कुरा हामी आफ्नै कार्यकालमा पूरा गर्छौं । पहिला नगरपालिकाको अधिकांश ठाउँमा चारपांग्रे गाडी जाने अवस्था थिएन, शिक्षाको अवस्था त्यतिकै दयनीय थियो, स्वास्थ्य सेवाबाट जनता वञ्चित थिए यी सबै क्षेत्रमा उल्लेखनीय सुधार ल्याउने छौं । अहिले संरचना नयाँ भएकोले हामीलाई काम गर्न विभिन्न अप्ठ्याराहरू त आउँछन् ।
तपाईको प्रतिक्रिया