प्रदेश २ कै सबभन्दा ठूलो बजार बनाउँदैछौं : देवनाथ साह मेयर

गोलबजार नगरपालिका, सिरहा

स्थानीय सम्वाद्

9/27/2019

० जनप्रतिनिधिको रूपमा निर्वाचित भएको दुई वर्ष भयो, के–के काम गर्नुभएको छ ? 

— हामीले दुई वर्षमा गरेको कामको मूल्यांकन जनताले नै गरिरहेका छन् । हामीले समग्रमा १० वटा वार्डलाई पक्की सडकमा जोड्यौं । यसैगरी, स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा काम गरेका छौं ।

० तपाइँहरूको कामबाट जनता सन्तुष्ट छन् ? 

— त्यो मूल्यांकन त जनताले गर्ने हो । अहिलेसम्म जनताले राम्रो काम भइरहेको भनिरहेका छन् । जहाँ बाटो थिएन, त्यहाँ बाटो निर्माण भएको छ । त्यस्तै, बजारको सरसफाइदेखि हरेक क्षेत्रमा कामहरू भइरहेको छ । त्यसकारणले जनताले विकास भएको अनुभूति गरिरहेका छन् । हाम्रो कामबाट जनता सन्तुष्ट नै छन् ।

० सिंहदरबार गाउँमा आएको छ ? 

— सिंहदरबार गाउँमा भनेर सुरू जसरी कुराहरू गरियो, जुन हैसियत राखेर स्थानीय तहहरू खडा गरियो, त्यो अनुसारको अहिलेसम्म भइसकेको छैन । २२ वटा अधिकार जुन स्थानीय तहलाई दिने भनिएको थियो, ती अधिकारहरूलाई पनि केन्द्रले कुण्ठित गरेको छ । जस्तै, संविधानको धारा ५७ मा अनुसूचि ८ ले दिएको अधिकारलाई पूर्णरूपेण प्रयोग गर्न सकिएन । शिक्षातिर काम अगाडि बढाउँदा त्यसमा पनि विभिन्न बाधा अवरोधहरू छन् । शिक्षा नियमावली हामीले बनाएर अगाडि बढ्दा विभिन्न मुद्दाहरू पर्दैछ र अगाडि बढ्न दिएको छैन । खासगरी प्रदेश २ मा शिक्षाको स्तर एकदमै खस्किएको छ । हामीले केही न केही बल प्रयोग गरेर सुधार गरेका छौं । स्थानीय तहका कतिपय अधिकार प्रदेशलाई दिइएको छ । कतिपय करहरूबारे प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय नगरी लगाएको छ ।

० भनेपछि, सिंहदरबार अझै पनि गाउँमा आएको छैन ?

— सिंहदरबार गाउँमा भन्ने कुरा अहिले पनि नारामै सीमित छ ।

० तपाइँहरूको अधिकार कटौती हुँदा सम्बन्धित निकायमा आवाज उठाउनुभएको छैन ? 

— हामीले सम्बन्धित निकायमा पत्राचार गर्छौं तर, सुनुवाई हुँदैन । सबै स्थानीय तहले नगर÷गाउँपालिका संघको माध्यमबाट यस्तो विषयमा जोडदार आवाज उठाइएको छ तर अहिलेसम्म सुधार भएको छैन । अहिले पनि माथिल्लो एकाईले हामीलाई सबैथोक पठाइदियो भने उसको महत्व घट्छ कि भन्ने सोचाइ देखिएको छ । त्यसकारणले, हामी उद्देश्यअनुरूप काम गर्न सकेका छैनौं ।  

० करिब दुई दशकदेखि स्थानीय तह जनप्रतिनिधिविहीन थियो, त्यसपछि तपाइँहरू निर्वाचित भएर आउँदा जनताका अपेक्षा कस्तो पाउनुभयो ? 

— जनताका अपेक्षा त धेरै ठूलो छन् । जति हामी काम गर्न सक्छौं, त्योभन्दा कयौं गुणा बढी जनताका अपेक्षाहरू छन् । किनभने अहिलेसम्म नेपाली जनताले विकास नपाएको अवस्था छ । राष्ट्रियस्तरमा मात्र केही विकासहरू भएको थियो । तर, सीमा क्षेत्रका जनताले अहिलेसम्म विकासको अनुभूति गर्न पाएका थिएनन् । हाम्रै गोलबजारमा एउटा राइस मिल थियो जसले पहिला दैनिक दुई हजार बोरा चामल भारत निर्यात गथ्र्यो । तर अहिले दिनको १० हजार क्विन्टल आएन भने यस भेगका जनता भोकै मर्छन् । पहिले हामी निर्यात गथ्र्यौं भने अहिले आयात गर्नुपर्ने बाध्यता छ ।

० तपाइँहरू पनि त अहिले त्यहाँको सरकार हुनुहुन्छ । पहिलाजस्तै निर्यात गर्ने अवस्था सिर्जना गर्न तपाइँहरूको के पहल छ ? 

— हाम्रो गोलबजार सात वटा हटिया छ । हामीले ६/७ ट्रक तरकारी निर्यात गरिरहेका छौं । यसरी हामीले तरकारी निकासी गरिरहेका छौं । अहिले कृषि क्षेत्रमा रहेका अधिकृतहरूलाई खटाएका छौं । उहाँहरूले अध्ययन गर्दै हुनुहुन्छ । अहिले किसानहरूको अवस्था एकदमै दयनीय छ । किसानहरूको सबै समस्या हामीले मात्रै समाधान गर्न सक्दैनौं । किनभने उद्योग कलकारखाना खोल्ने अधिकार केन्द्र सरकारमै निहीत छ । विदेशी लगानीकर्ताहरूलाई नेपाल भित्र्याउने काम अहिलेसम्म सरकारले सुरू गरेको छैन । नेपाल सरकारले टेक्नोलोजीमा अहिलेसम्म न त चीनसँग प्रतिस्पर्धा गर्न सकेको छ न त भारतसँग । त्यसकारण, हाम्रो देशका टेक्निसियनहरू त्यो मोडेलमा अहिलेसम्म विकास भइसकेको छैन । जसले गर्दा हाम्रो देश पछाडि पर्दै गएको छ । 

० तर, प्रदेश सरकारले नयाँ उद्योग, कलकारखाना स्थापना गर्नेको कर माफ गर्ने निर्णय गरेको छ नि ? 

— प्रदेश सरकारको निर्णय पनि कागजमै सीमित छ, व्यवहारमा देखा परेको छैन । जसरी सिंहदरबार गाउँमा आयो भनेर जुन कागजमा छ, त्यसरी नै यो निर्णय पनि कागजमै देखिएको छ । पहिलेको भन्दा अहिले अलि बढी अधिकार त आएको छ तर अहिले पनि धेरै कुराहरू कटौती गरिएको छ । प्रदेश सरकारले गरेका कामहरूको अवस्था हेर्दा सन्तुष्ट हुने स्थान छैन । 


० तपाइँले आफ्नो कार्यकालभित्र गोलबजारलाई कस्तो बनाउने सोच राख्नुभएको छ ? 

— ‘हाम्रो नगर, समृद्ध नगर : हाम्रै पालामा सम्भव छ’ भन्ने नाराका साथ हामी आफ्नो कामहरू अगाडि बढाइरहेका छौं । गोलबजारलाई हामी समृद्धिको बाटोतर्फ उन्मुख गर्दैछौं । जहाँ अस्पताल छैन, त्यहाँ स्वास्थ्य सेवा पु¥यायौं, जहाँ बाटोघाटो छैन, त्यहाँ बाटोघाटो बनायौं । यहाँ राम्रो अस्पताल छैन, त्यसका लागि १५ बेडको अस्पतालका लागि जग्गा व्यवस्था गरेका छौं । गोलबजारमा ठूलो अस्पतालका लागि देशी तथा विदेशी नियोगहरूलाई आग्रह गरेका छौं । प्रदेश २ मै सबभन्दा ठूलो बजार बनाउनका लागि १२ करोड रूपैयाँको तीनतल्ले भवन बनाएर २४सै घन्टा बजार खुल्ला राख्ने गरी बजार निर्माणका लागि डिपिआर तयार गरिसकेका छौं ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ