० तपाईहरू निर्वाचित भएर आएपछि जनताले महसुश गर्ने खालका के–कस्ता कामहरू गर्नुभयो ?
— कोहलपुर नगरपालिका केन्द्रविन्दुमा रहेको भए पनि विकास निर्माणको दृष्टिकोणले दुर्गम जस्तै महसुश हुन्थ्यो । हामी यहाँ आएसँगै यहाँको मुख्य सडकबाट प्रत्येक वडासम्म पुग्ने पक्की सडक निर्माण अगाडि बढाएका छौं । कोहलपुर नगरपालिकाको गौरवको योजनामा सडक निर्माणलाई राखेका छौं । यसैगरी आधारभूत तहको शिक्षा पूर्ण निःशुल्क गर्ने भनेर गत वर्ष घोषणा गरेका थियौं । अबको नयाँ शैक्षिक सत्रदेखि त्यो योजनालाई कार्यान्वयन गर्नेछौं । गुणस्तरतीय शिक्षा उपलब्ध गराउन दरबन्दी कम भएका विद्यालयहरूमा दरबन्दी पनि थप गरिरहेका छौं । पर्यटन क्षेत्रमा कोहलपुरदेखि पूर्वपट्टि वडा नम्बर १२ हुँदै १३ नम्बरमा जाने बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार भएको स्थानसम्म पुग्न स्वागत गेटको निर्माण गरेका छौं । हाम्रो नगरपालिका भित्र जेष्ठ नागरिकका निमित्त वर्षमा एक पटक वडामै गएर स्वास्थ्य जाँच गर्ने, हामीसँग भएको औषधिहरू निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेका छौं । कृषि तर्फ उन्नत जातका बीउ वितरण गर्ने, कृषकहरूलाई प्रोत्साहन गर्ने, सिचाँइका निम्ति मोटरहरू पनि वितरण गरेका छौं ।
० त्यहाँका जनताले स्थानीय सरकारको अनुभूति गरेका छन् ?
— सबै योजनाहरू पुरा भईसकेका छैनन् । सडक निर्माण सुरूवाती अवस्थामा छ । जब सडक पूर्ण निर्माण भइसक्छ अनि जनताले महसुश गर्ने हो । छोटा–छोटा योजनाहरू जुन पुरा भइसक्यो त्यसको अनुभूति जनताले गरेका छन् । २० वर्षदेखि जनप्रतिनिधिविहिन भएको स्थानीय तहमा हामी निर्वाचित भएर आउने बित्तिकै कायपलट हुने भन्ने त हुँदैन ।
० स्थानीय निर्वाचन पश्चात् ‘सिंहदरबार गाउँ गाउँमा भन्ने गरिन्थ्यो यो नारा पुरा भएको छ ?
— सिंहदरबारको अधिकार जनताको घरदैलोमा भन्ने नारालाई सार्थकता प्रदान गर्न हामीले १५ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरेका छौं । यस्तै भवनहरू पनि निर्माण भइरहेको छ । वडा कार्यालय सम्बन्धित वडामा स्थापना गरेका छौं । जनताको नजिक सेवा पु¥याउन हामी हरतबरले लागेका छौं । त्यसैले जनताले महसुश गरेका छन् भन्ने लाग्छ ।
० संविधानमा व्यवस्था भएको अधिकारहरू सबै पाएको छ स्थानीय तहले ?
— कतिपय अधिकारहरू अहिले पनि पाएका छैनौं । खानेपानीतर्फ हामीलाई ऐनमा व्यवस्था गरिएको छ तर त्यसको व्यवस्थापनको अधिकार प्रत्याभूत भएको छैन । सामुदायिक वनको क्षेत्रमा पनि त्यसको व्यवस्थापन, अनुगमन गर्न कुनै अधिकार दिइएको छैन । शिक्षा तर्फ माध्यामिक तहसम्म संचालन गर्ने अधिकार त दिइयो आफ्नो पालिकाभित्र कतिपय शिक्षकहरू एक विद्यालयबाट अर्को विद्यालयमा सरूवा गर्नुपर्ने आवश्यकता देखिन्छ तर त्यो अधिकार हामीलाई दिइएको छैन । केही अधिकार दिने केही अड्काएर राख्ने परिपाटी छ । त्यसले गर्दा संघीय सरकारले स्थानीय तहलाई ऐनमा व्यवस्था भएअनुरूपको अधिकार दिन अझै कन्जुस्याँइ गरिरहेको आभाष हुन्छ ।
० प्रदेश सरकारसँग तपाईहरूको सहकार्य कस्तो रहेको छ ?
— प्रदेश सरकारसँग राम्रो सम्बन्ध छ । सडकमा, विद्यालय भवनमा प्रदेशबाट आएका योजनाहरू संचालन भइरहेका छन् ।
० लामो समयदेखि प्रतिनिधिविहीन भएको स्थानीय तहमा जनताका आकांक्षा कस्तो पाउनुभयो ?
— जनताका इच्छा, आंकाक्षा फरक–फरक हुन्छन् । अहिले हामी ऐन, नियम, निर्देशिका, कानुन, नियमावली निर्माण गर्ने आफैंले कार्यक्रमहरू संचालन गर्ने गर्दै गर्दा जनताले आशा गरेका इच्छा, आकांक्षा पूरा गर्नेगरी काम गर्न नसक्ने अवस्थामा पनि छौं । यो अवधि होइन अर्को एउटा पाँच वर्षे अवधि काम गर्ने अवसर प्राप्त हुने हो भने बल्ल जनताले महसुश गर्ने गरी काम गर्न सकिएला । यहि अवधिमा नगरपालिकाभित्र रहेका व्याप्त समस्याहरू सबै समाधान गर्न सकिँदैन त्यसको लागि समय चाहिन्छ ।
० आफ्नो कार्यकालभित्र कोहलपुर नगरपालिकालाई कस्तो बनाउने योजना छ ?
— यो नगरपालिकालाई आन्तरिक र बाह्य पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने केही योजनाहरू अगाडि बढाएका छौं । पार्कहरूको निर्माण गरेका छौं, हात्तीसारसम्म जान पक्की सडक निर्माण गर्ने काम सुरू गरेका छौं । वडाहरूमा पनि रमणीय पार्कहरू निर्माण गर्ने र सबै वडामा पुग्न पक्की बाटो बनाउने, १५ वटै वडामा खानेपानी योजना संचालन गरेर शुद्ध खानेपानी उपलब्ध गराउने मेरो योजना रहकेको छ । तर, अब समय छोटो छ यी सबै योजनाहरू पुरा हुन्छ कि हुँदैन भन्नेमा द्धिविधा छ ।
० विश्वमै महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको विषयमा सचेतना जगाउन र बच्न के कस्ता उपायहरू अबलम्बन गर्नुभएको छ ?
— कोहलपुर नगरपालिकाका स्थानीय प्रशासन, प्रहरी र संघसंस्थाहरूलाई जुटाएर एउटा बैठकको आयोजना गरेर मूल कमिटीको गठन गरेको छु । कोरोना भाइरस प्रवेश गर्न नदिन र प्रवेश गरिहाल्यो भने पनि फैलन नदिन पूर्व सचेतनामूलक कार्यक्रमहरू संचालन गरेर जनतालाई सचेत गराएका छौं । कोरोना भाइरस सम्बन्धी सचेतना फैलाउन ५० हजार पर्चा पप्पलेट १५ वटै वडाका विद्यालयमा पु¥याएर विद्यार्थी मार्फत् घर–घरमा पु¥याउन लगाएका छौं । अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन पनि आग्रह गर्दै माइकिङ पनि गरेका छौं ।
तपाईको प्रतिक्रिया