राजधानीका लागि बुटवल उपयुक्त छैन : किरण सिंह

मेयर, कपिलवस्तु नगरपालिका, कपिलवस्तु

स्थानीय सम्वाद्

1/30/2020

० कपिलवस्तु नगरपालिकामा निर्वाचित भएर आएपछि केकस्ता कामहरू गर्नुभएको छ ?

— कपिलवस्तु नगरपालिकामा अधिकांश ग्रामीण क्षेत्र छ । जहाँ पहिला पूर्वाधार नै केही थिएन । हामी निर्वाचित भएर आइसकेपछि जनताको इच्छा र आकांक्षाअनुरूप विकास निर्माणका पूर्वाधारहरू खडा गरेका छौं । वडा समितिहरूबाट आएका योजनाअनुसार ग्रामीण क्षेत्रमा बाटोघाटो, खानेपानी, शिक्षा, कृषि लगायतका क्षेत्रमा कामहरू अगाडि बढाएका छौं । कपिलवस्तु नगरपालिकामा फुसको छानो भएका घरहरू बढी थिए । हामीले २०७५ सालदेखि नै फुसको छानो हटाउने अभियान चलाएका छौं । फुसको छाना हटाएर जनताको सुविधाअनुसारको छानो भएको घर निर्माण गरिरहेका छौं । हामीले कपिलवस्तु नगरपालिकालाई फुसको छानोमुक्त बनाउने अभियान चलाएका छौं ।

० अन्य योजनाहरू के छन् ?

– जहाँ पूर्वाधार नै छैन भन्ने त्यहाँको जनताको पहिलो माग भनेको नै पूर्वाधारको विकास गर्नुपर्छ भन्ने रहन्छ । घर निर्माण, बाटो निर्माण, ढलको मर्मत सम्भार, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार जस्ता कार्यक्रमलाई हामीले पहिलो प्राथमिकता दिएका छौं ।

० कपिलवस्तु नगरपालिका ऐतिहासिक पृष्ठभूमि बोकेको नगरपालिका पनि हो, हरेक क्षेत्रमा यति पछाडि पर्नुको कारण के होला ?

– कपिलवस्तु सिंगो नेपाल चिनाउने ठाउँ हो । यहाँ तीनवटा बुद्धको कर्मस्थल रहेको छ । भगवान बुद्ध ज्ञान प्राप्त गरेर आईसकेपछि आफ्नो आमालाई पहिलो पटक भेट्नुभएको ठाऊँ कुदाङ हो । कपिलवस्तु इतिहासको धरोहर हो तर केन्द्रको दृष्टि पुग्न नसकेको कारण आजसम्म त्यो ठाउँमा पुग्ने बाटो समेत निर्माण हुन सकेको थिएन । पूर्वाधार नै नभएर यो क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न नसकिएको हो । अब यो क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकार तीनै तह मिलेर अगाडि बढ्नुको विकल्प छैन  ।

० तपाइँको नगरपालिकाको जनजीवन पनि कृषिमै आधारित छ, कृषिमा के–कस्ता योजनाहरू ल्याउनु भएको छ ?

– कृषिमा सिचाँईको योजना ल्याएका छौं । बल र बिउविजनमा अनुदान उपलब्ध गराउँदै आएका छौं । तर केन्द्रीय सरकारले चाहिएको समयमा मलखाद, बिउविजन उपलब्ध गराउन नसक्दा अपेक्षा गरेअनुरूपको उत्पादन हुन सकेको छैन । देश कृषिप्रदान हो, हामी कृषकका मागहरू सम्बोधन गछौं भनेर भाषण मात्र गर्ने तर कृषकका समस्या नबुझ्ने प्रवृति अहिले पनि उस्तै छ ।

० तपाईहरू निर्वाचित भएर आएपछि त्यहाँका जनताले स्थानीय सरकारको अनुभूति कत्तिको गर्न पाएका छन् ?

– कुनै पनि कार्यक्रम अगाडि बढाउनुभन्दा पहिले हामी जनतामा जान्छौं । वडा–वडामा छलफल चलाउँछौं, भेला गराउँछौं र त्यहाँबाट आएका निष्कर्षलाई छनोट गरि हामी बोर्डको बैठक बस्छौं । त्यसपछि परिषद्मा लैजान्छौं अनि मात्र कार्यान्वयनको चरणमा जान्छ । कुनै पनि योजना लागू गर्दा हामी जनतासँग सिधैं छलफलमा जान्छौं अनि मात्र लागू गछौं । यहाँका जनताले प्रत्यक्ष रूपमा स्थानीय सरकारको अनुभुति गरेका छन् ।

० सिंहदरबार गाउँ गाउँमा भन्ने नारा साकार भएकै हो त ?

– त्यो त कागजमा मात्र हो व्यवहारिक रूपमा भएको छैन । सरकारले कुनै काम गर्न चाह्यो भने पनि प्रशासनको असहयोग रहन्छ । कुनै पनि नयाँ कामको थालनी गर्दा त्यसमा केही समय त लाग्छ । हामी नयाँ व्यवस्थाको प्रारम्भिक चरणमै छौं । अहिले नियम कानुनको पनि अभाव छ । सबै कानुनहरू निर्माण भईसकेपछि काम गर्न केही सजिलो हुन्छ कि भन्ने आशा गरेका छौं ।

० अहिले भ्रमण वर्ष २०२० मनाइँदै छ, त्यसका लागि तराई–मधेशका पूर्वाधार विकासमा राज्यको ध्यान गएन भन्ने विभिन्न किसिमका गुनासाहरू आइरहेका छन्, तपाईहरूले आफ्नो क्षेत्रमा पर्यटकलाई लोभ्याउनका लागि के–कस्ता योजनाहरू ल्याउनुभएको छ ?

– पूर्वाधार नभई कुनै क्षेत्रको पनि विकास हुनै सक्दैन । यस्तो ऐतिहासिक स्थललाई पुरात्तत्व विभागले बेवास्ता गरिएको छ । भ्रमण वर्षका लागि सरकारले सार्वजनिक गरेको घुम्नुपर्ने स्थानको सूचीहरूमा पनि समेटिएको छैन । केन्द्रले पुरै बेवास्ता गरेको छ । कुनै पनि विषयमा घोषणा गरेर मात्र हुँदैन, त्यसको लागि पूर्वाधारको विकास गर्नुपर्दछ, तीन तहकै सरकार मिलेर योजना बनाएर अगाडि बढ्ने हो भने मात्र सफल हुन सकिन्छ ।

० तपाईहरूको प्रदेशको नाम लुम्बिनी हुने लगभग पक्का नै छ । राजधानीको विषयमा विवाद देखिएको छ, तपाईहरूको यो विषयमा के धारणा छ ?

– बुटवलमा राजधानी राख्नु उपयुक्त नै छैन । त्यहा जनसंख्या एकदमै वृद्धि भइसकेको छ । जुन ठाउँको विकास भएको छैन राजधानी त्यहाँ राख्नुपर्छ । बुटवल त अहिले नै विकसित छ भने फेरि त्यहीँ राजधानी किन राख्ने ? राजधानी बुटवलदेखि यता चौराहा, घोराही, तौलिहवा जता राख्दा पनि हुन्छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ