० वडाध्यक्षमा निर्वाचित भएपछि कस्ता कामहरू गर्नुभयो ?
– सर्वप्रथम त हामीले वडा कार्यालय, जुन सचिवको झोलामा थियो, त्यसलाई वडामा ल्यायौं । त्यसबाट बिहान १० वजेदेखि साँझ ५ बजेसम्म जनताको कामका लागि खटियौं । विकासका सवालमा भन्नुपर्दा केही कामहरू सकिने अवस्थामा छन् ।
० विकासका कामभित्र के के काम परेका छन् ?
– मैले सबैभन्दा पहिले सडकलाई प्राथमिकता दिएर सडक स्तोरन्नतिको काम सुरू गरेको छु ।
० स्थानीय तह अर्थात सिंहदरबार गाउँ–गाउँमा छ भनिन्छ, जनताले कत्तिको महशुस गरेका छन् ?
– अहिले त जनताले त्यस्तो केही महशुस गरेका छैनन् किनभने सिंहदरबार गाउँ–गाउँमा त भनिएको छ तर त्यो अधिकार हामीलाई दिइएको छैन । यहाँको प्रमुख समस्या भनेको पञ्जीकरणको हो । जन्म, मृत्यु, विवाह दर्ता जस्ता काम अहिले पनि नगरपालिकाले नै गरिरहेको छ । बजेट पनि नगरपालिकाले नै सञ्चालन गरिरहेको छ । यस्तो अवस्थामा हामीले सिंहदरबार गाउँ–गाउँमा आयो भनेर कसरी बुझ्ने ? त्यसकारण जनताले पनि यसको पूर्ण अनुभूति गर्न पाएका छैनन् ।
० तपाईले अहिलेसम्म कति बजेट चलाउनुभयो ?
– अहिलेसम्म मैले चलाएको बजेट करिब ३० लाख होला ।
० त्यसमा तपाईंले गरेको मुख्य काम के–के हो ?
– मुख्यतः सडक नै हो । जसमा हामीले थोरै बनाउँ तर राम्रो बनाउँ भन्ने उद्देश्यका साथ ग्राभेल गरेर त्यसमाथि डिडिसी ढलान गरेर बनाएका छौं ।
० तर तपार्इंले गर्नुभएको कामप्रति युवा पुस्ताको असन्तुष्टि रहेको छ, बजेट पनि पूर्ण रूपमा खर्च गर्नुभएन र काम पनि सन्तोषजनक छैन भन्ने गुनासा पनि आएका छन्, यसमा के भन्नुहुन्छ ?
– यी सबै कुरा सत्य होइनन् तर केही कुरा भने सत्य नै हुन् । मेरो उमेर कम भएकाले पनि के गर्दा के हुन्छ भन्ने कुरा थाहा छैन । यसले गर्दा पनि केही पछाडि छु । केहीले पैसा खायो भन्ने जस्ता कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन् तर मैले काम गरे बापत नगरपालिकाबाट समेत पैसा लिएको छैन भने मैले कसरी पैसा खाएँ ? म युवा भएकै कारण अनुभवको खाँचो थियो त्यो अहिले लिँदै छु । तर त्यस्तो नराम्रो काम केही गरेको छैन । यदि मबाट केही गल्ती भएको छ भने त्यसको सजाय भोग्न म तयार छु ।
० खेलकुद तथा स्वास्थ्य क्षेत्रमा केही काम गर्नुभएन भन्ने गुनासा छन्, त्यसमा के गर्दै हुनुहुन्छ ?
– अघिल्लो बजेटमा त्यस्को कुनै ढाँचा थिएन तर आगामी आर्थिक वर्षका लागि त्यसको पनि योजना बनाएका छौं । अब छिट्टै नै युवा लक्षित खेलकुदका सामाग्रीहरू आउने छन् । स्वास्थ्यका सन्दर्भमा नेपालको कुनै पनि वडामा २४ घण्टा नै स्वास्थ्य सुविधा दिइएको छैन । तर हामीले अब चौबिसै घण्टा इमर्जेन्सी सेवा दिने उद्देश्यले काम अगाडि बढाइरहेका छौं । भवन, कर्मचारी र अन्य सामाग्रीहरूको व्यवस्था गरिसकेको छु । यहि असारमा नै त्यसको उद्घाटन हुँदैछ । विशेषतः यो नेपालकै पहिलो वडा हुनेछ, जहाँ चौबिसै घण्टा स्वास्थ्य सम्बन्धी सेवा जनताले पाउनेछन् ।
० तपार्इंको वडामा रहेको विद्यालयमा पढाइको स्तर कस्तो छ ?
– नेपाल सरकारले दिएको व्यवस्थापन समितिले काम गरेको अवस्था छैन । मेरो वडामा दुईवटा विद्यालय छ, एउटा उच्च माध्यामिक विद्यालयमा र अर्को मुसहर वस्तीमा प्राथमिक विद्यालय । केही त्रुटीका कारण विद्यार्थीले गुणस्तरीय शिक्षा पाइरहेका थिएनन् । त्यसमा मैले कक्षा १ देखि ५ सम्मका विद्यार्थी, जो विद्यालय जान मान्दैन्न, तिनीहरूलाई विद्यालय प्रति आर्कषण गर्नका लागि खाजाको व्यवस्था गरेर र अभिभावकसँग पनि प्रत्यक्ष कुरा गर्नका लागि विद्यालय प्रध्यानाध्यापकलाई आग्रह गरेको छु ।
० प्रदेश सरकारले लागू गरेको विद्यार्थी भर्ना अभियान तपार्इंको वडामा कत्तिको लागू भएको छ ?
– यस वर्षको शैक्षिक सत्रमा हामीले घरदैलो अभियान सञ्चालन गरेका थियौं । प्राविधिक विषयहरू पनि पढाई हुने भएकाले त्यसको पनि प्रचारप्रसार ग¥यौं । प्राविधिक विषयलाई नै हामीले विशेष जोड दिएका छौं । पुराना कमी कमजोरी र नयाँ विषयवस्तुमा शिक्षक, विद्यार्थी र अभिभावक राखेर छलफल गरिरहेका छौं ।
० तपाईंले जति पनि विकासका काम गर्नुभयो त्यसमा प्रदेश सरकारसँग कस्तो सहकार्य छ ?
– प्रदेश सरकारसँग विकासका काममा सहकार्य भएको जस्तो लागेन । किनभने जबसम्म प्रदेश सरकारले आफ्नो नीति तथा नियमहरू बनाउँदैन, काम गर्न समस्या नै हुन्छ । हामीलाई २२ वटा दिएको छ बनाउन त्यो हिसाबले त हामीलाई बाधा अवरोध पार्छ । पहिलाका व्यक्तिहरूले गरेको कामको रेर्कड नहुँदा यहाँ अहिले जिरोबाट काम सुरू गरेको अवस्था छ ।
० प्रदेश भन्दा स्थानीय सरकार बलियो भनिन्छ, तपार्इंलाई के लाग्छ ?
– प्रदेश भन्दा त स्थानीय सरकार नै बलियो छ । किनकी स्थानीय सरकार भन्दा प्रदेश सरकार बिल्कुलै नयाँ संरचना हो । स्थानीय स्तरमा विकास भयो भने त सिंगै नेपाल नै विकास भइहाल्छ । जबसम्म स्थानीय सरकारको विकास हुन सक्दैन तबसम्म प्रदेश र केन्द्रको विकास हुदैन ।
० तपाईं नेपालकै कान्छो वडाध्यक्ष भएकोले अनुभवी नेता, बुद्धिजीवीसँग कति सल्लाह लिनुहुन्छ ?
– काम गर्नुभन्दा पहिले योजना तर्जुमाका समयमा नै सबैसँग बसेर छलफल गर्ने गरेको छु । समस्याहरू त आइरहन्छ तर मैले सबैसँग बसेर समस्याको समाधान गर्ने कोशिस गरेको छु । उहाँहरूबाट धेरै कुरा सिकेको पनि छु । म सबैभन्दा कम उमेरको वडाध्यक्ष भएकाले मबाट पनि गल्ती भएको होला, मैले पनि केही कुरा नबुझेको होला । म पनि अहिले सिक्ने कोशिसमा नै छु । म आफनो कमी कमजोरीलाई हटाउने प्रयास गर्ने छु ।
प्रकाशित मिति : २०७५ असार १५ गते
तपाईको प्रतिक्रिया