वडाभित्र फोहोरको समस्या बढी छ : राकेश गुप्ता रोशन

वडा अध्यक्ष लहान नगरपालिका वडा नं. ७

स्थानीय सम्वाद्

9/17/2018

० तपाईंको वडामा के—कस्ता कार्यहरू भइरहेका छन् ?
— अघिल्लो बजेटमा निर्धारित भएर यस वडाको लागि परेका योजनाहरूको काम सम्पन्न भइसकेको छ । आब ०७५÷७६ को लागि हाम्रो वडामा जुन जुन योजनाहरू परेका छन् त्यसको लागि काम कसरी अगाडि बढाउने भनेर छलफलमा छौं ।


० २०७४\७५ को बजेटमा तपाईंहरूले कति खर्च गर्न सक्नुभयो ? 
— मेरो वडाका लागि बजेट पनि थोरै थियो र १००% खर्च भयो । लहान नगरपालिकाको केही बजेट खर्च हुन नसकेर फ्रिज भएको भनेर मैले जानकारी पाएको छु ।


० आर्थिक वर्षको अन्त्यमा असारे विकास गरेर बजेट सकाउने गरिन्छ भन्ने आम जनगुनासो रहने गरेको छ नि ? 
— हाम्रो वडामा त्यस्तो जनगुनासो छैन । यो बजार क्षेत्र हो, यसमा विकासका कार्यक्रमहरू पनि सबै ठोस कार्यक्रमहरू नै रहने गरेका छन् ती सबै कामहरू हामीले निर्धारित समयमा नै सकाएका छौं । असारभन्दा पहिले नै हामीले काम सकिसकेका छौं ।


० विगतको बजेटमा तपार्इंले कुन कुन विषयलाई प्राथमिकतामा राख्नुभएको थियो ? 
— हामी जितेर आउनुभन्दा पहिले कर्मचारीहरूले बजार एरिया सञ्चालन गरेका थिए । त्यतिबेलाका कामकाजमा जनताले खासै चासो नराख्ने भएको हुनाले आफ्नै हिसाबले काम कारवाही अगाडि बढेको हुन्थ्यो । अहिले जनप्रतिनिधिहरू आएपछि जनताको चासो पनि धेरै बढ्यो । यो अवस्थामा हामीले बडा भेला गराएरै कुन कुन विषयलाई मुख्य रूपमा अगाडि बढाउनुपर्छ भनेर भेलाबाट नै योजनाहरू छनोट ग¥यौं । बजार क्षेत्रको सबैभन्दा ठूलो समस्या पानीको निकाु नहुनु देखियो । बर्खाको समयमा पानीको निकास नभएर जलमग्न हुने अवस्था आउने गर्दथ्यो । त्यसैलाई मध्यनजर गरेर गत वर्षको योजनामा पनि हामीले पानीको निकास व्यवस्थित रूपमा गर्ने कामलाई महत्व दिएका थियौं ।


० तपाईंहरूको काम गराईबाट जनता सन्तुष्ट भएका छन् ? 
— हामीले गरेको विकास कार्यबाट कोही असन्तुष्ट छैन । तर, असन्तुष्ट हुने अर्को पाटो भने छ । सहरी क्षेत्र भएको हुनाले पनि यो क्षेत्रमा सरसफाईको एकदमै ठूलो समस्या रहेको छ, फोहर संकलन गर्ने, उठाएर लगेर व्यवस्थित गर्ने काम म्यानपावरको अभावले गर्दा हुन सकिरहेको छैन । यो विषयमा जनगुनासो रहेको छ । पहिले लहान नगरपालिकामा जम्मा १० वटा वडा मात्र थियो । अहिले थपिएर २४ वडा बनाइएको छ । नेपालमा नै सबैभन्दा पनि वडा भएको नगरपालिका लहान नगरपालिका हो । म्यानपावर चाँहि १० वटा वडामा जति थियो अहिले २४ वटा वडा हुँदा पनि त्यति नै रहेका छन् । काम बढी भयो तर म्यानपावर उतिकै नै भएको हुनाले हामीले सरसफाईमा ध्यान दिन अलि समस्या भइरहेको छ । यो विषयमा जनगुनासो पनि रहेको मैले पाएको छु ।


० चुनावको समयमा गर्नुभएको प्रतिबद्धता कसरी पूरा गर्दै हुनुहुन्छ ? 
— हामी निर्वाचित भएर आएको समय धेरै भएको छैन । छोटो समयमा जति पनि काम ग¥यौं यो प्रतिबद्धता भित्रै रहेर काम गरेका छौं । तर सबै काम पूरा गर्न त समय लाग्छ ।


० तपार्ईको मुख्य प्रतिबद्धताहरू के–के थियो ? 
— सहरलाई सफा र सुन्दर बनाउने । हाम्रो बजारक्षेत्रको बीचबाट एउटा नहर गएको छ त्यो नहरलाई व्यवस्थित गर्ने एउटा प्रतिबद्धता थियो जसको लागि बजेट आइसकेको छ अहिले बर्खाको समय भएर काम भइरहेको छैन । छिट्टै यो काम अगाडि बढ्छ । यो सहरलाई कसरी ग्रीन सिटी बनाएर लैजाने र एउटा सामाजिक सद्भाव कसरी कायम गर्ने, शैक्षिक बेरोजगारको समस्या कसरी हटाउने यी सबै विषयहरूमा हामी प्रतिबद्ध छौं । केही कुराहरू केन्द्रबाट मात्र हुन सक्छन् । त्यसमा हामीले हस्तक्षेप गर्न मिल्दैन तर स्थानीय रूपले हुने कुराहरूमा हामी काम गरिरहेका छौं ।


० स्थानीय निर्वाचन पश्चात् सिंहदरबार गाउँगाउँमा भन्ने गरिन्थ्यो । यसको अनुभूति तपाईंका वडाका जनताले गर्न पाएका छन् ? 
— छैनन् । स्थानीय सरकार सञ्चालन ऐनका अनुसार हरेक वडाको कार्यालय आफ्नै वडाभित्रै हुनुपर्ने त्यसमा अधिकृत स्तरको वडा सचिव हुनुपर्ने त्यो अधिकृतको मातहतमा ५ जना वडा स्तरकै प्राविधिक समेत गरी कर्मचारी हुने भन्ने व्यवस्था छ । यो सबै व्यवस्था जबसम्म पुरा हुँदैन तबसम्म जनताले पूर्ण रूपले स्थानीय सरकारको अनुभूति गर्न पाउँदैनन् जस्तो मलाई लाग्छ ।


० आगामी आर्थिक वर्षमा तपार्ईका प्राथमिकताका विषयहरू के—के रहेका छन् ?
— जनतालाई स्थानीय सरकारको अनुभूति गराउने मेरो पहिलो उद्देश्य हो । यसको लागि कर्मचारीको अभाव हुनुहुँदैन, कानुन प्रष्ट रूपमा आउनुपर्दछ । विकासका कार्यहरू नियमति भइरहने कामहरू हुन् । यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत आवश्यक्ता पूरा गर्न म हर तबरले लागिरहनेछु । लाहन नगरपालिका वडा नम्बर ७ ले यसपालिको बजेट चैत्र मसान्तसम्म नै काम गरेर सकाउने लक्ष्य लिएको छ ।

 

प्रकाशित मिति : २०७५ साल साउन १८ गते शुक्रबार ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ