सिंहदरबार अहिले पनि काठमाडौंमै छ : धिरेन्द्र कुमार सिंह

मेयर, राजदेवी नगरपालिका, रौतहट

स्थानीय सम्वाद्

11/2/2018

० राजदेवी नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ । नयाँ योजनाहरू के–के ल्याउनुभएको छ ?

— हामीले दोस्रो नगरसभाबाट पारित गरेको नीति तथा कार्यक्रममा अधिकांश क्षेत्रलाई समेटेका छौं । सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

० कुन–कुन शीर्षकमा कति बजेट छुट्याउनु भएको हो ?

— चालू आर्थिक वर्ष २०७५÷२०७६ को ३० करोड २७ लाख २० हजार ११ रूपैयाँको अनुमानित आय तथा चालू तरफ २४ प्रतिशत र पूंँजीगततर्फ २६ प्रतिशत खर्चको निति तथा कार्यक्रम प्रस्तुत गरेका छौं । प्रस्तुत नीति तथा कार्यक्रममा यस आर्थिक वर्षमा आन्तरिक आयमा कर, सेवा शुल्क र दस्तूरबाट ८६ लाख ८५ हजार ५ सय, राजश्व बाँडफाँडबाट ५ करोड ९० लाख ७३ हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान २७ लाख १२ हजार, संघीय सरकारवाट वित्तीय समानीकरण तर्फ १० करोड ४० लाख, गत वर्षको मौज्दात २ करोड ७२ लाख ४९ हजार ५ सय ११ र संघीय सरकारबाट सशर्त अनुदान १० करोड १० लाख नगरपालिकाको आय हुने अनुमान गरिएको छ । चालूतर्फ ७ करोड़ ५० लाख तथा पूंँजीगत खर्चमा १२ करोड ६७ लाख २० हजार ११ रूपैयाँ व्ययतर्फ विनियोजन गरिएको छ ।

० नगरसभाको पूर्वसन्ध्यामा झडप किन भयो ?

— कम्युनिष्टहरूको उदण्डताका कारण झडप भएको हो । झडप नै भइहाल्ने अवस्था थिएन । कम्युनिष्टहरू समूहमा आएर गत वर्षको हिसाव चाहियो भने । मैले भने ठिक्कै छ, हिसाबको त किताब नै तयार भएको छ । उहाँहरूले विभिन्न बुँदाहरूबारे सोध्नुभयो, मैले सबैको जवाफ दिएँ । त्यहीं क्रममा एउटा पोलमा बत्ती बल्दैन भन्ने कुरा आयो । यहीं कुरालाई निहुँ बनाएर विवाद खडा गरेर कुर्सी तोडफोड लगायतका क्रियाकलाप गर्न थाले । त्यसपछि झडपको स्थिति सिर्जना भयो ।

० भनेपछि, नेकपाका नेता कार्यकर्ताहरूले झडपको वातावरण बनाए ?

— हो, नेकपाकै नेताहरूले झडप गरेका थिए । तिनीहरू बिना कारण झगडा गर्न खोजेका थिए । यदि अनियमितता भएको छ भने त्यसको अनुसन्धान गर्ने र कारबाही गर्ने निकाय छ । त्यसमा उजुरी दिँदा हुन्थ्यो नि । त्यसरी उदण्डता देखाउनुपर्ने कारण नै थिएन । त्यस्तै कुनै समस्या छ भने वार्ता र सम्वादको माध्यमबाट टुंग्याउनुपर्छ । तर, उनीहरू हातपात र सार्वजनिक सम्पत्ति तोडफोड गर्न लागेका थिए ।

० राजदेवी नगरपालिकामा अहिलेसम्म के कस्ता भएको छ ?

— जनताको आवश्यक्ताका आधारमा विभिन्न क्षेत्रलाई समेटेर काम गरेका छौं । जसमा हामीले शिक्षा, स्वास्थ्य, कृषि र सडकलाई बढी प्राथमिकता दिएका छौं । यस्तै, स्वच्छ खानेपानीका लागि हामीले काम गर्दैछौं । यस्तै, युवाहरूका लागि विभिन्न किसिमका सीपमूलक तालिमहरूको पनि व्यवस्था गरेका छौं । बेरोजगार युवाहरूका लागि जुन क्षेत्रमा रूचि त्यसमै तालिमको व्यवस्था गरेका छौं । उनीहरू सीप सिकिसकेपछि आफै व्यवसाय सञ्चालन गरेर आय आर्जन गर्न सक्छन् । हामीसँग आयस्रोत कम भएपनि त्यसैमा विभिन्न तालिमहरूको व्यवस्था गरेका छौं ।

० गत आर्थिक वर्षको बजेट कति खर्च भयो ?

— गत आर्थिक वर्षको बजेटको अधिकांश रकम हामी खर्च गरिसक्यौं तर केही मात्र बजेट हाम्रो फ्रिज भएको थियो । विपक्षीहरूको अवरोधका कारण केही शीर्षकहरूमा हामीले प्रवेश नै गर्न पाएनौं । तर, जति पनि काम ग¥यौं त्यसबाट जनता सन्तुष्ट छन् । विपक्षीहरूको सहयोगले गर्दा हामीले चाहे जति काम गर्न नसकेकै हो । विपक्षीहरूले ठाउँ–ठाउँमा विवाद गरेर हामी गर्न सकेनौं । कतिपय ठाउँका विवाद पनि हामीले मिलायौं । विपक्षीहरूले उपभोक्ता समिति गठनमा पनि विवाद गरे । केही काम उपभोक्ता समितिमार्फत गर्नुपर्ने थियो तर विवादका कारणले गर्न सकिएन ।

० निर्वाचनका बेला तपाइँहरूले गर्नुभएको प्रतिबद्धता के–के थिए ?

— मैले व्यक्तिगत रूपमा धेरै कुराहरू प्रतिबद्धता गरेको थिएँ । नगरभर एउटा पनि कच्ची सडक नरहने भनेर पनि प्रतिबद्धता गरेको थिएँ । शिक्षाको स्तरोन्नति उकास्ने, कृषिमा लगानी गर्ने लगायतका विषयमा प्रतिबद्धता गरेका थियौं । प्रत्येक घरमा शुद्ध खानेपानी पु¥याउने पनि प्रतिबद्धता गरेका थियौं । हामीले निर्वाचनका बेला जारी गरेको प्रतिबद्धताअनुसार नै काम गरिरहेका छौं । मैले आफ्नो कार्यकालमा गरेका प्रतिबद्धताहरू पूरा गर्छु । सुरूमा म यो क्षेत्रमा नयाँ थिए, सिक्न पनि पाएँ र अनुभव पनि भयो ।

० तपाइँको एक वर्षको कार्यकाल कस्तो रह्यो त ?

— मैले आफैलाई समीक्षा गर्दा म आफ्नो कामप्रति शतप्रतिशत त सन्तुष्ट छैन तर ९० प्रतिशत सन्तुष्ट छु ।

० स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा जान्छ भन्ने गरिन्थ्यो, यो नारा तपाइँका नगरबासीले महसुस गर्न पाएका छन् ?

— सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा अहिलेसम्म पनि कागजमै सीमित छ । सिंहदरबार गाउँ–गाउँमा भनेर मात्र त हुँदैन, त्यो व्यवहारमा पनि देखिनुप¥यो । भन्नका लागि भनिएको छ स्थानीय सरकार तर हामीसँग काम गर्ने सम्पूर्ण स्रोत र साधन अहिलेसम्म दिइएको छैन । हामीसँग दक्ष जनशक्ति छैन, प्राविधिक छैन । बसेर काम गर्ने ठाउँ छैन । राज्यले नगरपालिका त बनायो तर हामीलाई बस्ने ठाउँ छैन । तैपनि हामीसँग भएका साधनस्रोतलाई उपयोग गरेर काम गर्दैछौं । त्यसैले, अहिले पनि सिंहदरबार काठमाडौंमै छ । हामीले त्यसको अनुभूति गर्न पाएका छैनौं ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ