पूर्वाञ्चलको मुटु इटहरीको नामाकरणबारे खोज्दै जाँदा यहाँको आदिवासी चौधरी, थारूहरूको बोलिचालीबाट यस ठाउँको नामाकरण भएको बुढापाकाहरू बताउँछन् । पूर्वाद्र्धदेखि नै यस ठाउँमा ईटाको प्रयोग विभिन्न प्रयोजनका लागि हुँदै आएको थियो । त्यसैताका राणा शासनको समयमा शान्ति सुरक्षार्थ थाना, चौकी राखी अपराधीहरूलाई सजाय दिने नियतले ईट र काठ मिलाएर बनाइएको तुरूङ्ग खुट्टालाई चेपुवाभित्र राखेर सजाय दिने एक साधन निर्माण गरिएको थियो । यहाँको आदिवासी चौधरीहरूको भाषामा ईट्टालाई ईट र काठलाई हरी भनिने भएकोले उक्त इट र हरी मिलेर इटहरी नामाकरण रहन गएको बुढापाकाहरू बताउँछन् । मिति २०७१।८।१६ को नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार इटहरी नगरपालिका, खनार गा.वि.स, पकली गा.वि.स, एकम्बा गा.वि.स र हासपोसा गा.वि.स मिलेर इटहरी उपमहानगरपालिका घोषित भएको थियो ।
० तपाइँले सञ्चारकर्मीलाई नाकको हड्डी भाँचिदिने, सिध्याइदिने लगायतका धम्की दिनुभयो, किन?
— तपाइँ पनि सञ्चारकर्मी हुनुहुन्छ, तपाइँलाई धम्की दिएको छु, नराम्रो व्यवहार गरेको छु, छैन नि । त्यसका पछाडि अनेकौं कारणहरू छन् । यो एउटा लामो शिलशिला हो । जुन पत्रकार (विराट अनुपम)लाई मैले नाकको हड्डी भाँचिदिन्छु भनेको छु, उसले एउटा पत्रिकामा पहिलादेखि नै मविरूद्ध अनर्गलरूपमा प्रचारबाजी गर्दै आएका छन् । उसले मलाई अयोग्य, नालायक, असक्षम, भ्रष्टाचारी मेयर भनेर प्रचार गर्दै आए । जबकि अख्तियारले मलाई क्लिनचिट दिएको छ । विगत डेढ वर्षदेखि सामाजिक सञ्जालदेखि पत्रिकामा बिना आधार मलाई बदनाम गर्दै आएका छन् । त्यसैले मैले फेसबुकमा उसलाई चाटुकार, पत्रुकार लेखिदिएँ । अरूको हण्डी खाएर लेख्नेलाई चाटुकार नभनेर के भन्ने ? त्यसपछि उसले मलाई फोन गरेर तथानाम गाली गर्न थाले ।
० तपाइँलाई नै उसले टारगेट गर्नुको कारण के हो ?
— मलाई नै टारगेट किन ग¥यो भन्ने कुरा उसैलाई सोध्नुस् । उसले मेरो चरित्र हत्या गर्दा म चुप लागेर बस्ने ? पार्टी जिल्ला कमिटी सदस्य रामप्रसाद चौलागाईँको इशारामा त्यो पत्रकार मेरो विरूद्धमा लागे । चौलागाईँ पनि मेयरका दाबेर थिए, तर पार्टीले मलाई टिकट दियो । म विजयी भइसकेपछि मेरो लोकप्रियता देखेर बदनाम गर्नका लागि र अर्कोपटक मेयर बन्नका लागि चौलागाइँलाई अहिले नै हतार भइसक्यो ।
० भनेपछि तपाइँविरूद्ध आफ्नै पार्टीका नेताले षड्यन्त्र गरे ?
— एकदम । पार्टीभित्र गुटबन्दी छ, षड्यन्त्र छ । यस्ता गुटबन्दी गर्ने षड्यन्त्रकारीलाई तह लगाएर छोड्छु । झापड पनि हाने रामप्रसादलाई ।
० तपाइँ इटहरी उपमहानगरमा निर्वाचित भएर आएदेखि जनताले अनुभूति गर्ने केकस्ता कामहरू गर्नुभयो त ?
— जनताले अनुभूति गर्नेखालका भयंकर कामहरू भइरहेका छन् । जनताले २० वर्षमा नभएको काम यो दुई वर्षमा भएको भन्दैछन् ।
० जस्तै ?
— २० किलोमिटर पिच (कालोपत्रे सडक) बनेको छ । २५ किलोमिटरभन्दा ड्रेन निर्माण भएको छ । प्रोटेक्सन वाल, गाउँ–गाउँमा ग्राभेल बनेको छ । यसैपाली हामीले इटहरीलाई हिलोमुक्त बनाउने घोषणा गरेका छौं । सबै बाटाहरू ग्राभेल हुनेछ, तीन वर्षमा मुख्य सडकहरू कालोपत्रे भइसक्नेछ । शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार भएको छ । निजी विद्यालयको जुन मनपरि थियो त्यसलाई कानूनी दायरामा ल्यायौं । सरकारी विद्यालयहरूमा शिक्षक समयमै आउँछन्, नगरपालिकैबाट विद्यालयहरूको मोनिटरिङ्ग गर्छौं । हाम्रो २० वटै वार्ड अनलाइन सिस्टममा छन् । वडावासीहरूले अनलाइनबाट सेवा सुविधा लिनसक्छन् । भ्रष्टाचारमुक्त प्रशासन हामीले सञ्चालन गरेका छौं ।
० भनेपछि इटहरी उपमहानगरपालिका भ्रष्टाचारमुक्त भइसक्यो ?
— पहिला भ्रष्टाचार थियो तर अहिले छैन । अस्ति दुई जना भ्रष्टाचारीलाई कारबाही गरेँ । एउटाको जागिर गएको छ, अर्कोलाई राजीनामा लेख भनेको छु । अरू राजीनामा दिने क्रममा छन् । नसुध्रिए जनकारबाही गर्छु र जनताबाट कालोमोसो दल्न लगाउँछु । इटहरी उपमहानगरका जनता सबै मेरो साथमा छन् । प्राधिकरणको जग्गा हड्पेको थियो एउटा भूमाफियाले, त्यसलाई हामीले सार्वजनिक प्रयोगमा ल्यायौं ।
० स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा भनिन्थ्यो । यो नारा तपाइँहरूले महसुस गराउनुभएको छ ?
— इटहरीका जनताले सिंहदरबार गाउँ–गाउँमा एकदम महसुस गरेका छन् । पहिला–पहिला इटहरी डुबानमा हुन्थ्यो, म निर्वाचित भएको भोलिपल्ट नै यो समस्या समाधान गर्नेतर्फ लागें । डुबानको समस्या अब इटहरीमा हुँदैन । सार्वजनिक जग्गा हड्प्नेहरूको संरचना भत्काउँदैछौं । पाँच लाखसम्म जरिवाना गर्न सक्ने स्थानीय तह सञ्चालन ऐनमा व्यवस्था छ । त्यसैले, सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा जनताले मज्जाले अनुभूति गरेका छन् । संविधानले हामीलाई पर्याप्त अधिकारहरू दिएको छ ।
० तपाइँहरूको मूल नारा के हो ?
— सफा सुन्दर, हरित नगरी इटहरी भन्ने हाम्रो मूल नारा हो । बाटो बनाउँदा हाम्रो दुवैतिर वृक्षरोपण गर्छौं । घर बनाउन इजाजत लिँदा वृक्षरोपण गर्न खुल्ला ठाउँ राखेर मात्रै नक्सा पास हुन्छ ।
० तपाइँ आफ्नो कार्यकालभित्र इटहरी उपमहानगरलाई कस्तो बनाउने सोच्नुभएको छ ?
— म इटहरीवासीलाई भन्न चाहन्छु कि केही वर्षमै तपाइँहरू सफा सुन्दर, हरियाली इटहरी उपमहानगर पाउनुहुनेछ ।
० तपाइँ जसरी कामले भन्दा पनि एउटा प्रकरणले चर्चामा आउनुभयो, यसमा के भन्न चाहनुहुन्छ ?
— यसमा केही नश्लवादी चिन्तन छन् । म तराईको आदिवासी, किसानको छोरो, थारूको छोरो यो पदमा रहेको केही पचेको छैन । केही त्यस्तो छन्, जसलाई अहंकार छ । त्यस्ताले अनेकौं षड्यन्त्र गरेका छन् । यो एक हिसावले सत्तासंघर्ष हो । सत्तासंघर्षका लागि अनेकौं खालका घृणित कार्य गर्न पछि परेका छैनन् । मिडियाहरू तिनै षड्यन्त्रकारीका गोटी बनिरहेका छन् ।
० तपाइँका विरूद्ध यतिका षड्यन्त्रहरू भइरहँदा काम गर्न कतिको अप्ठ्यारो महसुस भइरहेको छ ?
— मलाई केही अप्ठ्यारो महसुस भएको छैन । मेरा विरोधीहरू कराउँदै गर्छन्, विकास हुँदै गर्छ ।
तपाईको प्रतिक्रिया