० तपाइँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको आठ महिना भइसक्यो । यो अवधिमा के–कस्ता कामहरु गर्नुभयो ?
— म निर्वाचित भएर आइसकेपछि सर्वप्रथम जनताका सबभन्दा आधारभूत आवश्यकताहरु, विधिको शासन जस्ता कार्यहरुमा म केन्द्रित रही कार्य गरिरहेको छु । यस्तै, विकासे निर्माणका कार्यहरुलाई प्राथमिकताका साथ अगाडि बढाइरहेका छौं । मेरो यो आठ महिने कार्यकालबाट जनताले अनुभूति गरेका छन् भन्ने मलाई महसुस भइरहेको छ ।
० विकास निर्माणका के–के कामहरु भए ?
— मधेशको दुर्गम पालिकाको रुपमा हाम्रो बलान–बिहुल गाउँपालिका रहेको छ । यहाँ बाटोघाटोको समस्या थियो । वर्षात्याममा बाटो हिलाम्य हुने समस्या थियो । त्यो समाधानका लागि हामीले टोल–टोलमा पीपीसी ढलान, पीसीसी ढलान, आरसीसी ढलान, बाटो मर्मतका कार्यहरु ग¥यौं । त्यस्तै विकासे योजनाहरु पनि धेरै ल्याएका छौं । जनता राज स्थापना गर्ने हाम्रो जनमत पार्टीको जुन परिकल्पना छ, त्यो पूरा गर्न बलान–बिहुल गाउँपालिका प्रतिबद्ध छ । त्यहींअनुसार हामीले कार्य अगाडि बढाएका छौं ।
० तपाइँहरुको चुनावी प्रतिबद्धता के–के थियो ?
— हामीले जनताका आधारभूत आवश्यकतालाई चुनावी प्रतिबद्धताको रुपमा जनतामाझ गएका थियौं । हामी कुनै ठूलो आश्वासन वा सपना बाँडेका छैनौं । हामीले स्थानीय सरकारमार्फत् गर्न सकिने कामहरुलाई जनतामाझ पु¥याउने र जनताराज स्थापना गर्ने भनेका थियौं । सोहीअनुरुप हाम्रो सरकार अहिले कार्यहरु अगाडि बढाउँदैछ ।
० तपाइँ आठ महिनाको अवधिमा गरेको कामबाट तपाइँ आफै सन्तुष्ट हुनुहुन्छ ?
— हामी निर्वाचित भएको अवधि हेर्दा त आठ महिना भयो तर, हामी यो अवधिमा तीन–चार महिना मात्रै काम गर्न पायौं । हामी निर्वाचित हुने बित्तिकै बजेट ल्याउनुपर्ने थियो । हामी समयमै बजेट ल्यायौं । हामी बजेट ल्याएपछि त्यसलाई कार्यान्वयन गर्ने बेलासम्म आउँदा प्रदेश र प्रतिनिधिसभाको चुनावको मिति घोषणा भयो । त्यसपछि निर्वाचन आचार संहिताका कारण झण्डै दुई महिना हामी काम गर्न पाएनौं । अहिले निर्वाचन आचार संहिता निष्क्रिय भइसकेपछि हाम्रो धमाधम काम भइरहेको छ । हाम्रो पालिकामा अहिले विभिन्न विकासे योजनाहरु सञ्चालनमा छन् । आगामी जेष्ठ महिनासम्म विकासे योजनाहरु सम्पन्न गर्ने हामीले लक्ष्य लिएका छौं । त्यहींअनुरुप कार्यहरु अगाडि बढिसकेका छन् । पहिला–पहिला आर्थिक वर्षको अन्तिममा बजेट सकाउनका लागि हतार–हतारमा काम गरिन्थ्यो, त्यो परम्परालाई हामीले अन्त्य गर्ने लक्ष्य लिएका छौं । हामीले काम गर्नका लागि असार मसान्त कुरेर बस्दैनौं । हामीले पारदर्शी र निष्पक्ष ढंगले जनताराज महसुस हुने कार्यहरु गरिरहेका छौं ।
० चालु आर्थिक वर्षको बजेटमा प्राथमिकतामा के–के छन् ?
— हामीले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य, शिक्षा, रोजगार निर्माण गर्ने, बाटोघाटो लगायतका कुराहरुलाई प्राथमिकताका साथ राखेका छौं । भौतिक संरचना निर्माण, सडक निर्माण लगायतका कार्यहरु छन् । बलान–बिहुलका जनतालाई टेक्नोलोजीसँग जोड्नका लागि चौक–चौकमा फ्रि–वाइफाईको व्यवस्था गरिरहेका छौं । हामीले बलान–बिहुललाई डिजिटालाइजेशन गर्न खोजेका छौं । एक–डेढ वर्षभित्रै यो पालिकालाई हामी डिजिटल पालिका बनाउँछौं ।
० तपाइँका दीर्घकालीन योजनाहरु के–के छन् ?
— हामी यो पालिकामा एउटा राम्रो अस्पताल बनाउने योजनामा छौं, जसको काम सुरु पनि भइसकेको छ । अर्को, एउटा प्राािवधिक शिक्षालय स्थापना गर्ने योजनामा छौं । यस्तै, पुरातात्विक धरोहरहरुलाई पर्यटकीय क्षेत्र बनाउन लागेका छौं ।
० जनमत पार्टीले किसानका समस्याहरु उठाउँदै आएको छ, कृषि क्षेत्रमा के–के योजनाहरु छन् ?
— किसानहरुको समस्या हाम्रो प्राथमिकतामै पर्छ । त्यसका लागि हामी पहल सुरु गरिसकेका छौं । किसानलाई सिंचाइका लागि निःशुल्क कृषि मिटर उपलब्ध गराउने र त्यसका लागि किसानले पैसा तिर्नु पर्दैन । मधेश प्रदेशको कृषिमन्त्री पनि हाम्रै पार्टीका हुनुहुन्छ । हामीले कृषि मिटरका लागि विद्युत प्राधिकरणसँग सम्झौता पनि गरिसकेका छौं । सिंचाइका लागि पूर्णरुपमा पालिकाले व्यवस्थापन गर्नेछ । अब किसानलाई आकोश पानीको भरमा खेतीपाती गर्ने अवस्था रहँदैन । किसानका लागि पनि सरकार छ भन्ने महसुस गराउँछौं । त्यस्तै, कृषिमा क्रान्ति गर्नका लागि सिजनअनुसारको बीउबिजन किसानलाई उपलब्ध गराउने योजनामा छौं । अहिले पनि हामीले मकै खेतीका लागि निःशुल्क बीउबिजन वितरण गरिरहेका छौं ।
० किसानले समयमा मलखाद नपाउँदा पनि राम्रो उब्जनी हुन सकिरहेको छैन नि ?
— मलखादको अभाव देशव्यापीरुपमा रहेको छ । हाम्रो देशमा मलखाद उपलब्ध हुँदैन भने छिमेकी भारतबाट पनि किसानले सहजरुपमा ल्याउन पाउने व्यवस्था पनि गरिरहेका छौं । सीमा क्षेत्रमा किसानले एक–दुई बोरा मलखाद ल्यायो भने दुःख दिने कार्य भइरहेको छ, त्यसलाई अन्त्य गर्न पनि हामी पहल गरिरहेका छौं । हामीसँग मलखाद छैन तर किसानले सीमा पारीबाट ल्याउँदा दुःख दिइन्छ भने हाम्रो उत्पादन कसरी बढ्छ ।
० किसानले उत्पादन गरेको अन्नको उचित बजार व्यवस्थापन हुन सकिरहेको छैन, यसमा के छ योजना ?
— किसानले उत्पादन गरेका खाद्यान्न वस्तुहरुको बजार व्यवस्थापन गर्न हाम्रो पालिकाले नै पहल सुरु गरेको छ । त्यसका लागि किसानले उत्पादन गरेको खाद्यान्न पालिकाले खरिद गर्ने, किसानले उचित मूल्य पाउने र सो खाद्यान्न हामी अन्य ठाउँमा निर्यात गर्ने सोच बनाएका छौं । किसानका उत्पादनलाई खरिद गरेर हामी भण्डारण केन्द्र स्थापना गर्छौं । किसानले उत्पादन गरेका खाद्यान्नहरुका लागि कोल्ड स्टोरको व्यवस्थापन छैन । त्यसका लागि हामी योजनाहरु बनाइरहेका छौं । अर्को कुरा, किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य नपाउने समस्या पनि रहेको छ । यो समस्या समाधान गर्न पनि हामी लागिपरेका छौं ।
तपाईको प्रतिक्रिया