० तपाइँ भोक्राहा नरसिंह गाउँपालिकामा अहिलेसम्म के–के गर्नुभयो ?
— गत वर्षको बैशाखमा चुनाव सम्पन्न भयो, जेठमा मैले शपथ ग्रहण गरे र त्यसलगतै नेपालीहरुको विभिन्न चाडपर्वहरु आए । त्यसमा पनि २०७९ चुनावी वर्ष थियो । नेपालको आर्थिक मन्दीका कारणले हामीलाई दिइएको बजेटबाट चुनावापछि २५ प्रतिशत कटौती भयो । तर पनि हामीले जति पनि विकास बजेट पायौं, त्यसमा मुख्यतः शिक्षा, स्वास्थ्य र कृषिमा बढी प्राथमिकता दिएँ । मैले पहिलो वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गरें र त्यसमा सफलता पनि पाएँ । अहिले चालु आर्थिक वर्ष २०८०÷८१ मा कृषिलाई नै बढी प्राथमिकता दिएका छौं । यस्तै, विभिन्न विकास निर्माणका कामहरुलाई प्राथमिकतामा राखेको छु ।
० यसअघिका अध्यक्षले गर्नुभएको कामको मूल्यांकन कसरी गर्नुहुन्छ ?
— यसअघिको कार्यकालमा संघीयताको पहिलो अभ्यास थियो । सुरुमा कर्मचारी व्यवस्थापन, विकासको व्यवस्थापन र कानूनको अभाव थियो । मैले यसअघिका अध्यक्षको कार्यको मूल्यांकन गर्दा मिश्रित तरिकाले ठिकठिकै हो ।
० तपाइँले आफ्नो कार्यकालमा गर्नैपर्ने कामहरु के–के छन् ?
— यहाँ थुप्रै कामहरु गर्नैपर्ने छ । भोक्राहा नरसिंह आफ्नो आयस्रोत नभएको पालिका हो । यहाँ शिक्षाको अवस्था राम्रो छैन । देशभरि नै सामुदायिक विद्यालयप्रति नागरिकहरुको धारणा राम्रो छैन, निजी विद्यालयतिर बढी आकर्षण हुन्छ । नेपाल सरकार सबभन्दा बढी लगानी शिक्षामा गरिरहेको छ । मेरो पहिलो प्राथमिकता हो शिक्षालाई सुधार गर्नुपर्छ । सरकारी विद्यालय हाम्रो र राम्रो हो, बच्चालाई सरकारी विद्यालयमै पढाउनुपर्छ भन्ने स्थानीय नागरिकको मैले विश्वास जित्न सकें भने मेरो एउटा टारगेट पूरा हुन्छ । दोस्रो, कृषिको अवस्था । भोक्राहा नरसिंहमा ९५ प्रतिशत जग्गाा कृषियोग्य छ र किसानहरु छन् । मल खाद त हाम्रो राष्ट्रिय समस्या हो तर सिंचाइको पनि ठूलो समस्या रहेको छ । यसपालि मैले नारामा सीमित नराखेर पाँच सय कृषकलाई डिप बोरिङ र मोटर वितरण गर्न रहेको छु । टेण्डर पनि भइसकेको छ । आफ्नै ठाउँमा जैविक मल कसरी उत्पादन गर्ने त्यासका लागि बजेट छुट्याएको छु । तेस्रो, यहाँको स्वास्थ्य क्षेत्रको अवस्था पनि दयनीय रहेको छ । चुनावका बेला मैले जनतासँग वाचा गरेको थिएँ कि प्रत्येक गाउँवासीलाई स्वास्थ्यसँग जोड्ने प्रतिबद्धता गरेको थिएँ । अहिले निःशुल्क स्वास्थ्य बीमाअन्तर्गत हामीले १५ सय नागरिकलाई जोडिसकेका छौं । अहिले हामी दुई वटा बर्थिङ्ग सेन्टर सुचारु गरिसकेका छौं । प्रत्येक वाडमा प्राथमिक स्वास्थ्य सेक्टरहरु छन् । अहिले १५ सैय्याको हस्पिटलका लागि ११ कठ्ठा जग्गा पास गराएको छु । दुईवटा एम्बुलेन्सका लागि पनि यसपालिको बजेटमा छुट्याएका छौं । त्यसरी स्वास्थ्य क्षेत्रमा पनि काम गरिरहेका छांै ।
अर्को हाम्रो सबभन्दा ठूलो समस्या भनेको बेरोजगारी हो । यसलाई पालिकास्तरबाट समाधान गर्न कठिन छ तर हामी प्रयास गर्छौं । सबै घरमा युवायुवती पढेलेखेका छन्, तर काम छैन ।
० बेरोजगारी समस्या समाधान गर्न स्थानीय सरकारले कसरी काम गर्न सक्छ ?
— मैले चुनाव बित्तिकै एउटा सोच बनाएको थिएँ कि खाँडी मुलुकहरु आज कसरी विकसित भएका छन् । हाम्रो पालिकामा सरकारी जग्गाहरु करिब ७०–८० बिघा छन् । भोक्राहा नरसिंह गाउँपालिका वाड नं. १ लाई आर्थिक विशेष क्षेत्र घोषणा होस् भनेर उद्योग मन्त्रालयसँग पहल गरिरहेको छु । त्यहाँ आर्थिक विशेष क्षेत्र घोषणा भयो भने पाँच हजारभन्दा बढी युवाहरुले रोजगार पाउन सक्छन् । हाम्रो क्षेत्रको प्रतिनिधिसभा सदस्यमार्फत् पनि सदनमा आवाज उठाउन लगाएको छु ।
० भोक्राहा नरसिंहलाई आर्थिक विशेष क्षेत्र घोषणा गर्ने आधारहरु के–के छन् ?
— सबभन्दा पहिलो जग्गा उपलब्ध हुनुप¥यो, हाइवेसँग जोडिनुप¥यो, विद्युतको लाइन कट्नु भएन, ती सबै मापदण्ड हाम्रो भोक्राहा नरसिंहमा छन् । नेपालले भारत र बंगलादेश विद्युत निर्यात गर्ने सबस्टेशन भोक्राहा नरसिंहमै छ । विद्युत हामीसँग, जग्गा हामीसँग छन् र हामी महेन्द्र लोकमार्गमा जोडिएका छौं । सबै मापदण्डमा भोक्राहा नरसिंहभन्दा उपयुक्त ठाउँ कुनै छैन । तर अहिलेसम्म राज्यले यसलाई बेवास्ता गरेको छ । यसमा म पर्यत्नरत् छु । मलाई विश्वास छ कि मैले जुन प्रयास गरिरहेको छु, त्यसमा सफल हुन्छु ।
० यदि भोक्राहा नरसिंह गाउँपालिकालाई आर्थिक विशेष क्षेत्र घोषणा गरियो भने रोजगारीका कस्ता अवसरहरु हुन्छन् ?
— आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न किसिमका अवसरहरु हुन्छन् । उद्योग, कलकारखाना लगायत खोल्न सकिनेछ । भारतको नोयडालाई हेर्नुस् । आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न राष्ट्रहरुबाट लगानीकर्ताहरु आउँछन् । भोक्राहा नरसिंह त आर्थिक क्षेत्रको एउटा हब बन्न सक्छ ।
० अहिले संघ सरकारको मुख्य घटक तपाइँको नेपाली कांग्रेस रहेको छ भने कोशी प्रदेश सरकारको नेतृत्व नै गरिरहेको छ । कांग्रेसले कतिको प्राथमिकता दिएको छ त ?
— म नेपाली कांग्रेसको गाउँस्तरको सिपाही र भोक्राहा नरसिंहको अभिभावक हुँ । मैले केन्द्र सरकारप्रति कुनै टिकाटिप्पणी गर्न सुहाएन । तर, नेपाली कांग्रेस एउटा ऐतिहासिक पार्टी हो । आजभन्दा तीस वर्ष पहिला जब नेपालमा लोकतन्त्र आयो त्यतिबेला पहिलो प्रधानमन्त्री नेपाली कांग्रेसकै थियो । त्यतिखेर जति पनि विकास निर्माणका कुराहरु भए, ती सबै कांग्रेसकै सरकारले गरेको थियो । नेपाली कांग्रेस जनता र देशप्रति जहिले पनि उत्तरदायी र जिम्मेवारी साथ काम गर्दै आएको छ । कांग्रेस जिम्मेवारीपूर्वक नेपाली नागरिकका लागि गम्भीर रुपले सोच्छ ।
० तपाइँ आफ्नो डेढ वर्षको कार्यकाललाई स्वमूल्यांकन गर्दा भोक्राहा नरसिंहका जनता कतिको सन्तुष्ट छन् ?
— मैले आफ्नो प्रतिबद्धता पत्र जारी गर्दै चुनाव लडेको थिएँ । हामीले प्रतिबद्धता गरेका थियौं कि हामी विकास, सुशासन, भ्रष्टाचाररहित भोक्राहा नरसिंह बनाउँछौं र हरेक दुःख–सुखमा साथ रहन्छौं । अहिले हामी जनतासँग अध्यक्ष कार्यक्रम सञ्चालन गरिरहेका छौं । म प्रत्येक टोलमा गइरहेको छ । उहाँहरुको गुनासो सुन्छौं, सुझाव लिन्छौं । म आफ्नो कामबाट धेरै सन्तुष्ट छु ।
० जनता सन्तुष्ट छन् कि छैनन् ?
— जनता सन्तुष्ट भएर नै हामीसँग सहकार्य गरिरहेका छन् । उहाँहरुले सुझाव दिइराख्नुभएको छ । जनताले मलाई मत दिएपछि उहाँहरुले त आफ्नो समस्या राख्नुप¥यो नि त । प्रत्येक विद्यालयमा म आफै निगरानी गरिरहेको छु । विद्यालयहरुमा किशोरीसँग उपाध्यक्ष भनेर म आफै गइरहेको छु । कक्षा ८ देखि माथिका विद्यार्थीहरुले आफ्ना समस्या सिधै पालिका अध्यक्षसँग राख्न सकिरहेका छन् । त्यसपछि विद्यार्थीसँग अध्यक्ष कार्यक्रम पनि चलाइरहेका छौं । किनकि विद्यालयमा नै यदि हामीले दक्ष जनशक्ति तयार पा¥यौं भने सभ्य समाज निर्माण गर्न सक्छौं ।
० भनेपछि, सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा जनताले व्यवहारमा महसुस गर्न पाएका छन् ?
— यो नारामा म अलिकति असन्तुष्ट छु । संविधानले हामीलाई धेरै अधिकार दिएको छ तर व्यवहारमा हामीले पाएका छैनौं, धेरै अधिकारहरु कटौती गरिएको छ । साधनस्रोतहरु कटौती गरिएको छ । किनभने जनताका आकांक्षा र अपेक्षा थुप्रै छन् र सीमित साधनस्रोतको कारणले स्थानीय सरकारले समस्याहरु झेल्नुपरिरहेको छ । एउटा ईन्जिनियरले यदि गलत काम ग¥यो भने हामीले कारबाही गर्न सक्दैनौं । प्रदेशको फोरममा पनि मैले यो आवाज उठाएको छु । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुप¥यो । संविधानमा स्थानीय तहलाई अधिकार सम्पन्न भनिएको छ तर कार्यान्वयनमा छैन ।
० स्थानीय तहमा व्यापक भ्रष्टाचार भइरहेको छ, कतिपय पालिका प्रमुखहरु निलम्बित भइरहेका छन्, कतिपय कारबाहीमा छन् । स्थानीय तहमा भ्रष्टाचार बढ्नुको कारण के छ ?
— पालिकाहरुमा कहीं पनि भ्रष्टाचार छैन । केही कानूनी प्रक्रियाहरु हामीले बुझ्न पाएका छैनौं । मैले बारका वकिल र अधिवक्ताहरुलाई ल्याएर पालिकाका वडाअध्यक्षहरुलाई तालिम दिलाएको छु । हाम्रो अधिकार के हो, हामीलाई कानूनले कहाँसम्म अधिकार दिएको छ, हाम्रो दायरा के छ, हामी आफ्नो दायराभन्दा बाहिर छौं कि छैनौं ? लगायतका विषयमा कानूनी प्रक्रियाहरु बुझ्नुपर्छ । म आफै पनि तालिम लिइरहेको हुन्छु ।
तपाईको प्रतिक्रिया