संकटमा रहेको पर्यटन क्षेत्र पुनरुत्थानका लागि सरकार निजीक्षेत्रबीच सहकार्य आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

समाचार

काठमाडौं, २९ भाद्र । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजीक्षेत्रबीच सहकार्यको आवश्यक रहेको बताएका छन् ।

मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए ।

पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कने र यसका लागि पूर्वतयारी स्वरुप गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा ढकालले लुम्बिनी पर्यटनको अथाह सम्भावना भएको क्षेत्र रहेको र लुम्बिनी क्षेत्रका व्यवसायीले मुलुकका अन्य क्षेत्रमा रचनात्मक कार्यक्रम आयोजना गर्न सकेमा लुम्बिनी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे ।

ढकालले निजी क्षेत्रलाई रोजगारी सिर्जना गर्ने, लगानी गर्ने क्षेत्रका रुपमा सम्मान दिनका लागि निजी क्षेत्रको एकतावद्ध आवाज बनाउनुपर्नेमा जोड दिए ।

बजेट, मौद्रिक नीति तथा करसम्बन्धी नीतिमा हाल निजी क्षेत्रको सुझाव समेटिन सुरु भएको स्मरण गर्दै यसमा अझै अपुग रहेको उनको भनाइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ महासंघको संस्थापक र सबैभन्दा पुरानो सदस्यसमेत भएकाले यसको सुझावले महासंघलाई नै मार्गनिर्देश गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ