हंसपुरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई अदालतमा उपस्थित हुन आदेश

समाचार

जनकपुरधाम, २९ भाद्र । उच्च अदालत जनकपुरले धनुषाको हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डललाई उपस्थित भई वयान दिन आदेश दिएको छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले साउन २८ गते हंसपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको केशवकुमार अधिकारीलाई नगरपालिकामा हाजिर हुन नगरप्रमुख मण्डलले रोकेका थिए ।

हाजिर हुन नदिएपछि अधिकारले आफूलाई कार्यालयमा हाजिर हुन नदिएको भन्दै उच्च अदालतमा रिट पेश गरेका थिए ।

उक्त रिटमा अदालतले साउन ९ गते अधिकारीलाई हाजिर गर्नबाट रोक लगाउने कार्य नगर्नु नगराउनु भनी हंसपुर नगरपालिकाको कार्यालय समेतका नाउँमा अन्तरिम आदेश जारी गरिएको थियो ।

तर, नगरप्रमुख मण्डल र प्रमुख प्रशाकीय अधिकृत मण्डलले अदालतको आदेशको अवज्ञा गर्दै मन्त्रालयले अधिकारीलाई कार्यालयमा हाजिर गर्न हुन दिएनन् ।

अदालतको आदेशलाई नमानेकाले न्यायधीशद्वय हरिप्रसाद वाग्ले र रमेश ढकालको इजलाशले दुवैलाई अदालतमा भौतिक रुपमा उपस्थित भई बयान दिन आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ