तीनबुँदे मागसहित जनकपुरधाम उपमहानगरलाई जनमतको १५ दिने अल्टिमेटम

समाचार

जनकपुरधाम, २५ असोज । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकालाई तीनबुँदे मागसहित १५ दिने अल्टिमेटम दिएको छ ।

जनमत पार्टी धनुषाले आइतबार आफ्नो मागपत्र बुझाउँदै अल्टिमेटम दिएको हो । 

जनकपुर उपमहानगरपालिका वडा नं. ८ बलुवाटोल स्थित मिडिया काउन्सिलदेखि वडा नं. ८ को कार्यालयसम्मको बाटो पूर्णतः क्षतिग्रस्त भई एम्बुलेन्स समेत कुनै पनि चारपाङ्ग्रे सवारीसाधन जाने अवस्था नरहेकोले अविलम्ब कंक्रिट ढलान गराउने।  वडा नं. ८ का ६० भन्दा बढी परिवारहरूको तर्फबाट निवेदन र हस्ताक्षर समेत बुझाएको छ । 

यसैगरी, जनकपुर उपमहानगरपालिका भित्रका निजी विद्यालयहरूले उपमहानगरपालिकाले २०७८÷०६÷१४ गते जारी गरेको निर्देश विपरीत अनुचित शुल्क अभिभावकहरूबाट असूल गरेकोले सो शुल्क फिर्ता गर्न लगाउने जनमतले माग गरेको छ ।

यस्तै, जनकपुर उपमहानगरपालिकामा फोहर व्यवस्थापन तथा लामखुट्टे नियन्त्रणमा देखिएको लापरवाहीले नगरपालिका नै बदनाम र अस्वस्थकर भइराखेकोले फोहर व्यवस्थापन र सरसफाई नियमित र प्रभावकारी बनाउन माग गरिएको छ ।

यी मागहरू १५ दिनभित्र नभए जनमत पार्टी धनुषा आन्दोलनमा उत्रिन बाध्य हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ