मुसहर र डोम समुदायका २१९ जना छात्रछात्रालाई सम्मानित

समाचार

काठमाडौं, २५ असोज । नेपाल राष्ट्रिय मुसहर संघले २०७७ सालमा एसईई उत्तीर्ण गर्ने मुसहर र डोम समुदायका २१९ जना छात्रछात्रालाई सम्मान गरेको छ ।

चरम गरिबी, बञ्चितिकरण, अभाव र अशिक्षाको अँध्यरोमा बस्न बाध्य मुसहर र डोम समुदायबाट एसईई उत्तीर्णहरुलाई सामाजिक संस्था भोर नेतृत्वको शक्तिहिनको सशक्तिकरण अभियान र मुसहर संघले उच्च शिक्षाका लागि सम्मान गरेका हुन् ।

देशभरिका मुसहर र डोम समुदायबाट एसईई उत्तीर्ण विद्यार्थीलाई जनकपुरमा आयोजित समारोहबीच अभिनेता नाजिर हुसेनले सम्मान गरेका हुन् । सोही कार्यक्रमबाट ती विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्ययन गर्न सहयोगसमेत घोषणा गरिएको छ ।

सन् २०११ मा जम्मा २ जना मुसहर बालबालिकाले एसईई उत्तीर्ण गरेका थिए । त्यसपछि बढेर अहिले त्यो संख्या २१५ पुगेको छ । बाँकी ४ जना डोम भने समुदायका हुन् ।

मधेसका दलितमध्ये पनि सबैभन्दा पिछडिएको समुदायका रुपमा रहेको मुसहर समुदायबाट सन् २०११ देखि हालसम्म ९२९ जना विद्यार्थीले माध्यमिक तह अर्थात् एसईई तहको परीक्षा उत्तीर्ण गरेका छन् ।

भोरका अध्यक्ष पचु मुसहर माझीका अनुसार सन् २०१२ मा ५ जना, ०१३ मा ७ जना, ०१४ मा ९ जना, ०१५ मा ६१ जना, ०१६ मा ९२ जना, ०१७ मा १४८ जना र ०१८ मा १६६ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए ।

त्यस्तै, ०१९ मा १७२ जना र ०२० मा ५४ जना मुसहरले एसईई उत्तीर्ण गरेका थिए । भोरले विभिन्न दातृ निकायको सहयोगमा ती विद्यार्थीहरुमध्ये छनौट भएका विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग गर्दै आएको छ ।

भोरबाट छात्रवृत्ति प्राप्त गरेर पढेका विद्यार्थीहरुमध्ये अहिलेसम्म ४ जना प्रहरी र ४९ जना गैरसरकारी क्षेत्रमा आवद्ध भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ