रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशील

समाचार

रुपन्देही, २९ बैशाख । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

निर्वाचन अवधिका लागि रुपन्देहीमा चार हजार ६०४ सुरक्षाकर्मी परिचालन गरिएको हो । मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् ।

जिल्लाका १२८ मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको छ भने ६२ वटा मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन् ।

जिल्लामा ७८ वटा मतदानस्थल भने सामान्य सूचीमा छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले सुरक्षा चुनौतीलाई मध्यनजरमा राखेर काम गरिएको बताउए ।

यहाँ म्यादी प्रहरी दुई हजार चार सय, नेपाल प्रहरी एक हजार चार सय र सशस्त्र प्रहरी छ सय, नेपाली सेना छ सय परिचालन गरिएको छ ।

निर्वाचनका बेला तीन वटा घेरामा सुरक्षाकर्मी परिचालन गरिनेछ । पहिलो घेरामा म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी रहनेछन् । मोबाइल टोलीको रुपमा सेनालाई पनि खटाइनेछ ।

रूपन्देहीमा सात सय मतदान केन्द्र र २०८ मतदान स्थल तोकिएका छन् । अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका हुन् । मतदाताको सङ्ख्या बढेपछि मतदान केन्द्र थप गरिएको हो ।

सबैभन्दा धेरै मतदाता हुने जिल्लामध्ये रूपन्देही चौथो जिल्ला रहेको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ