तमलोपाले माग्यो राष्ट्रपति भण्डारीको राजीनामा

समाचार

जनकपुरधाम, ५ असोज । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेका छन् ।

बुधबार अध्यक्ष लालले एक विज्ञप्ति जारी गरी संविधानको घोर उल्लंघन र आफ्नै देशको जनता बिरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन नसक्ने उल्लेख गरेका छन् ।

‘संविधानको धारा ६१ को (४) मा ’संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।“ भनी स्पष्ट रुपमा उल्लेख छ । तर राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको बाध्यात्मक कार्य नगरी संविधानको घोर उल्लंघन गर्नु भएको छ ।’ उनले आरोप लगाएका छन् ।

संवैधानिक र श्रृंगारिक राष्ट्रपतिले आफूलाई राजतन्त्र जसरी सबै शक्तिको श्रोत देखाउने कोशिश गर्दै बीरेन्द्र शाहको बाटो पछ्याउन खोजिएको अध्यक्ष लालले विज्ञप्तिमा भनेका छन्, ‘यो आफ्नै देशको जनता बिरुद्धको विभेदी मानसिकताले गरिएको षडयन्त्र हो । हामी राष्ट्रपति विद्या भण्डारीको संविधानको घोर उल्लंगनको यस कार्यको भर्त्सना गर्दछौं ।’

संविधानको धारा ११३ को (४) ले राष्ट्रपतिलाई १५ दिनभित्र पुनः पारित भएको विधेयक प्रमाणिकरण गर्नै पर्ने व्यवस्था गरेको छ । सो नगरिए स्वतः प्रमाणित हुने यस धाराको मनसाय हो । यस अनुरुप नेपाल नागरिकता ऐन संशोधन विधेयक ऐन बनेको स्पष्ट रहेको हुँदा सो को घोषणा प्रतिनिधिसभाको सभामुखबाट सूचना टांस गरी गरिनु पर्ने र नेपाल सरकारले त्यसको संपुष्टि गर्नु पर्ने आग्रह उनले गरेका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ