नेपाल एअरलाइन्सले चिनियाँ विमानहरू बेच्ने

समाचार

काठमाडौं, ५ असोज । नेपालको ध्वजावाहक विमान कम्पनी नेपाल एअरलाइन्सले आठ वर्ष अघि ल्याएको चिनियाँ विमान बेच्ने योजना बनाएको छ ।

चिनियाँ विमान आकाशमा उड्नु भन्दा पनि भूइँमै थन्किने भएकाले यसको ऋणभार बढ्न थालेपछि नेपाल एअरलाइन्सले तिनलाई बेच्ने योजना बनाएको हो ।

चिनियाँ विमानहरू दुई वर्ष बढी समयदेखि ग्राउण्डेड अवस्थामा रहेका छन् । सेप्टेम्बर १४का दिन नेपाल एअरलाइन्सले तिनलाई लिजमा दिने एक सूचना सार्वजनिक ग¥यो ।

पाँच मध्ये तीन १७ सिट भएको वाई१२ई र दुई विमान ५६ सिट भएको एमए६० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी क्षेत्रमा थन्किएर रहेका छन् । अर्का एक नेपालगञ्जमा दुर्घटनागस्त भइ उड्न नसक्ने अवस्थामा रहेको छ ।

कम्पनीका प्रवक्ता अर्चना खडकाले सार्वजनिक गरेको जानकारी अनुसार यो सूचना ड्राइ लिज नोटिस हो । यो भनेको विमान कम्पनीले विमान मात्र लिजमा दिने नोटिस हो । कर्मचारीलगायत कुनै पनि सहयोग उपलब्ध नगराइने गरी जारी गरिने नोटिसलाई ड्राइ लिज नोटिस भनिने गरिएको छ ।

कम्पनीले यो काम अर्थ मन्त्रालयको निर्देशनमा गरेको जनाएको छ । पहिले लिजमा दिने सम्भव नभए बेच्ने योजना रहेको छ ।

लिजमा लिन कोही तयार नभए अन्ततः बिक्री गरिने छ । यसको अन्तिम मिति ३१ अक्टोबरसम्मका लागि तोएिको छ ।

यो विमानलाई जतिधेरै समय कम्पनीले राख्यो त्यतिधेरै घाटा हुने भएकाले यो निर्णयमा पुगिएको जनाएको छ ।

करिब एक दशक अघि सन् २०१२को नोभेम्बरमा नेपाल एअरलाइन्सले चीनको कम्पनी द एभिएसन इन्डस्ट्री कोरपोरेसन अफ चाइनासँग सम्झौता गरेको थियो ।

यसमा ६ चिनियाँ विमान किन्ने सम्झौता थियो । ४वटा १७ सिट भएका वाई १२ई विमान र २वटा ५६ सिट भएका एमए६० विमान खरिद गर्ने सम्झौता थियो ।

यो सम्झौतामा चीनले अनुदान र सहुलियत ऋण सहयोग गर्ने सहमति गरेको थियो । ६ अर्ब ६७ करोड रुपैया बराबरको खरिद सम्झौता गरिएको थियो । यसमध्ये २ अर्ब ९४ करोड रुपैया अनुदान र ३ अर्ब ७२ करोड रुपैया ऋण सहयोग थियो ।

यसअन्तर्गत पहिलो ब्याचका विमानहरू सन् २०१४मा नेपाल आए । दोस्रो ब्याच सन् २०१७को जनवरीम आयो । अनि त्यसपछि २०१८को फेब्रुअरीमा अन्तिम दुई वाई १२ई विमान आयो ।

नेपाल एअरलाइन्सले भने चिनिया विमानले कम्पनीलाई ठुलो घाटा हुने भन्दै आएको थियो । अन्ततः अर्थमन्त्रालयले कम्पनीलाई सन् २०२१को मार्चमा चिनियाँ विमानलाई लिजमा दिन वा बेच्ने विकल्पका लागि आदेश दिएको थियो ।

यसो हुनुमा जुलाई २०२०मा नेपाल एअरलाइन्सको बोर्डले एकमतले चिनियाँ विमानहरू नउडाउने निर्णय मुख्य सहयोगी भयो । जारी भएको नोटिस अनुसार एमए६० विमानका लागि मासिक लिज रकम ७८ हजार ९७ अमेरिकी डलर तोकिएको छ ।

यसैगरी अर्को एमए६०को रजिस्ट्रेसन नम्बर ९एन एकेआरका लागि मासिक न्यूनतम ६९ हजार ९८० अमेरिकी डलर तय गरिएको छ ।यस्तै वाई१२इ विमान रजिस्ट्रेसन नम्बर ९एन एकेएसका लागि मासिक २९ हजार ४१६ अमेरिकी डलर तय गरिएको छ । यस्तै यही किसिमको अर्को विमानका लागि मासिक ३२ हजार ८८६ अमेरिकी डलर तोकिएको छ भने ३३ हजार ७८५ अमेरिकी डलर तोकिएको छ । — विभिन्न पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ