दार्चुला, २२ मंसिर । नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार भारतको पिथौरागढ जिल्लाको धार्चुलामा छलफल भएको छ ।
सो छलफलमा दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी रुपमा निर्माण गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको महाकाली नदी पुनः पुरानै धारमा फर्काउने सहमति भएको हो ।
१० दिनभित्र नदीलाई पुरानै धारमा फर्काउने सहमति भएको हो ।
धार्चुलामा भएको छलफलमा नेपाली पक्षको मागअनुसार नदीको बीचमा रहेको अस्थायी संरचना हटाउन १० दिनको समय दिइएको जनाइएको छ ।
नेपालतर्फ सोझिएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन, संरचना तत्काल हटाउने, त्यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमति बनेको हो ।
तोकिएको समय १० दिनमा सहमतिअनुसार काम गरे नगरेको अवस्था हेरी पुनः भारतीय प्रशासनसँग छलफल अघि बढाइने छ ।
नेपाल सरकारले कुटनीतिक नोट पठाएपछि भारतीय अधिकारीले महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमन गरेका थिए ।
दुई देशीय सीमा सुरक्षा बैठकमा दार्चुला र धार्चुलाका स्थानीय अधिकारीहरुको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया