प्रधानमन्त्रीद्वारा सुदूरपश्चिम महोत्सव उद्घाटन

समाचार

धनगढी, २२ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार उद्घाटन गर्दै पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनाका लागि निर्माण कम्पनीले अनुमतिपत्र (लाइसेन्स) लिइसकेकाले आयोजनाको निर्माण प्रक्रिया चाडै अघि बढ्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले देशको विकास र समृद्धिसँग जोडिएको पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्री देउवाले जलविद्युत आयोजनासँगै रानी जमरा कुलरिया तथा महाकाली सिचाई आयोजना लगायतका योजनालाई सरकारले प्राथमिकता दिएर काम अघि बढाइरहेको उल्लेख गर्दै ती आयोजना निर्माणपछि सुदूरपश्चिम प्रदेशमा समृद्धि आउने बताए ।

सुदूरपश्चिमको कृषि, पर्यटन, आर्थिक, सामाजिक विकासका लागि महोत्सवले थप टेवा पुग्ने बताउँदै उनले सङ्घले अघि सारेका मागप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले महोत्सव आयोजनाले यस प्रदेशको समग्र विकासमा थप टेवा पुग्ने बताए ।

महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव अवधिमा करिब १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

उद्योग, व्यापार, कृषि, पर्यटन, कला संस्कृतिको संवर्द्धन गर्ने उद्देश्य सहित कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ साल देखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ ।

१६ औ संस्करण रहेको यसपालिको महोत्सवमा स्थानीय खानपान, कृषि उपज, बहुराष्ट्रिय कम्पनीका गरि करिब ४ स्टल रहेका छन् । महोत्सवमा प्रदर्शनी, थारु गाउँ, रमाइलो मेला, कलाकारको प्रस्तुती लगायत मुख्य आकर्षण रहेका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ