खेलाडीहरुप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ : मन्त्री खान

समाचार

कमलराज पौडेल देवकमल

बर्दिया, २१ माघ । संघीय सरकारका खानेपानी मन्त्री अब्दुल खानले खेलाडीहरुप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

बर्दियाको बाँसगढीमा भइरहेको पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहमा मन्त्री खानले सो कुरा बताएका हुन् ।

मन्त्री खानले खेलकुद क्षेत्रको विकासका लागि सदैव प्रतिवद्ध रहने बताउँदै शारीरिक र मानसिक स्वास्थ्यका लागि पनि खेलकुद महत्वपुर्ण रहेकोमा जोड दिँदै विद्यार्थीहरुलाई पठनपाठन सँगै खेलकुद क्षेत्रमा पनि लाग्न आग्रह समेत गरेका छन् ।

स्वच्छ र शुद्ध खानेपानीको पहुँच आम नागरिकसम्म पुर्याउन र खानेपानीको माध्यमबाट रोजगार सिर्जना गर्न आफूले अध्ययन गरिरहेको कार्यक्रममा मन्त्रीले बताए ।

बाँसगढी नगरपालिकाको आयोजना र रामजानकी मावि भैसासुरको संयोजन तथा व्यवस्थापनमा बाँसगढी ८ रिहारपुरमा रहेको नगर स्तरीय खेल मैदानमा शुक्रबारदेखि रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले खेलकुद क्षेत्रले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्पूर्ण भएको बताए ।

त्यस्तै, बासँगढी नगरपालिकाका पूर्वनगर प्रमुख शालिकराम अधिकारीले आफ्नो कार्यकालमा ४ पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न सफल भएको भन्दै उनले नयाँ–नयाँ र ऊर्जाशील खेलाडीहरु उत्पादन आजको आवश्कता भएको बताए ।

बासँगढी नगरपालिकाका नगर प्रमुख तथा प्रतियोगिता मूल आयोजक समितिका संयोजक खडक बहादुर खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मूल आयोजक समितिका सदस्य सचिव एवं प्रतियोगिता संयोजन तथा व्यवस्थापन रामजानकी मावि भैसासुरका प्रधानाध्यापक नारायण प्रसाद शर्माले माघ २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा माध्यमिक विद्यालय र आधारभुत विद्यालयहरु गरी ३० वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको जानकारी गराउँदै प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, हाइजम्प, लङजम्प र शतपत लगायतका खेल समावेश गरिएको बताए ।

उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी माध्यमिक तथा आधारभूत विद्यालयहरुको मार्च पाससँगै विभिन्न साँस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ