‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ को तयारीमा राजेन्द्र महतो

एकत्रित आन्दोलनको प्रण गरौं ः राजेन्द्र महतो, मेची–महाकाली मधेश पद यात्रा प्रारम्भ हुँदै, राष्ट्रिय मुक्ति क्रान्ति बहुआयामिक हुने

समाचार

मधेशवाणी डेस्क

काठमाडौं । खाँटी मधेशवादी अर्थात् अर्गानिक मधेशी नेताको रूपमा चिनिएका नेता हुन् राजेन्द्र महतो । तराई–मधेशसहित हिमाल र पहाडका उत्पीडित, शोषित, उपेक्षित जनसमुदायको मुक्तिका लागि बुलन्द आवाज उठाउँदै आएका नेता महतो एउटा बृहत् राष्ट्रव्यापी अभियानको तयारीमा जुटेका छन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेतासमेत रहेका महतोले सुरू गर्न लागेको ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ एउटा दल विशेषको नभई मुलुकका समग्र पहिचान र अधिकारविहीनहरूको साझा प्लेटफर्मको हुने बताइएको छ ।

राष्ट्रिय मुक्ति अभियानअन्तर्गत नेता महतोले ‘मेची–महाकाली मधेश पद यात्रा’ को तयारीमा लागेका छन् । उनीनिकट स्रोतहरूका अनुसार भाद्र अन्तिम अथवा असोजको पहिलो सातादेखि मेची महाकाली मधेश पद यात्रा सुरू हुन लागेको हो ।

महतो अभियानमा जुनसुकै पार्टी, समूह वा संगठनका लागेका नेता, कार्यकर्ता, अभियान्ता लगायत परिवर्तन पक्षधरहरू सहभागी हुने जनाइएको छ । स्रोतका अनुसार यो कुनै पार्टीको ब्यानरमा नभई राष्ट्रिय मुक्ति अभियानको ब्यानरमा सञ्चालन हुनेछ ।

पदयात्रामा सहभागी हुन एव ठाउ–ठाउमा छलफल, भेटघाट एव अन्तरक्रिया कार्यक्रम गरिने जनाइएको छ । राष्ट्रिय मुक्ति क्रान्ति एकल आयामिक नभएर वहुआयामिक हुनेछ । यो मुक्ति क्रान्तीले देशमा विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन अन्याय अत्याचार, दुराचार भ्रष्टाचार, कुसंस्कार–संस्कृतीबाट देशलाई मुक्ति दिलाई हिमाल, पहाड, तराईका सबै वर्ग समुदाय, जात–जाती, क्षेत्र, लिंगका जनतालाई अधिकार, पहिचान स्वशासन, सुशासन तथा सामाजिक न्याय प्रदान गर्ने छ ।

यो प्राप्तिको लागि विगतमा जस्तै मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लीम, थारू, लगायत शुसाशन र समृधि चाहने जनता छुटा छुटै फुटेर विभाजीत अवस्थामा संघर्ष गर्दा भोगेको पिडा र असफलताबाट सबक लिदै सबै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु को विकल्प नै रहेन । यही क्रान्तिले देशमा सोही अनुसारका शासन र संविधान ल्याउने अभियान रहेको छ ।

राजेन्द्र महतोका निकट मानिएका संस्थापक मधेशवादी नेता एवं हिन्दी भाषा अभियानी रमन पाण्डेयसँग महतोको अभियानबारे जिज्ञासा राख्दा उनले खुलासा गर्न चाहेनन् । तर उनले यस्तो अभियान मुलुकमा एकता र सद्भावका लागि आवश्यक रहेको बताएका छन् । उनले मुलुकका समग्र उत्पीडित, उपेक्षित जनताको पक्षमा यस्तो अभियान सञ्चालन हुनु अति आवश्यक रहेको जिकिर गरेका छन् । स्रोतका अनुसार महतो निकट पाण्डेय, सन्तोष मेहता लगायत पनि अभियानको तयारीमा लागेका छन् ।

संस्थापक मधेशवादी नेता एवं हिन्दी भाषा अभियानी पाण्डेय भन्छन्, ‘मधेशको २२ जिल्लाको सम्पूर्ण आमजनतामा देखिएको निराशालाई हटाउन एउटा अभियान आवश्यक छ । समग्र मधेशी, पहाडी जनजाति, आदिवासी, शोषित पीडितको मुक्तिका लागि अभियान सञ्चालन हुनेछ । मधेशी एवं पहाडी जनजाति पहिचान र अधिकारविहीन अवस्थामा छन् । यस्तो अवस्थामा एउटा अभियान हुन सक्छ ।’

एकत्रित आन्दोलनको प्रण गरौं : वरिष्ठ नेता महतो

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा शुभकामना दिँदै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले एकत्रित आन्दोलनका लागि आह्वान गरेका छन् ।

२९औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा लोसपाका वरिष्ठ नेता महतोले बुधबार शुभकामना सन्देश सार्वजनिक गर्दै एकत्रित आन्दोलनको प्रण गरौं भन्दै आह्वान गरेका हुन् ।

“परिवर्तनको सम्वाहकको रूपमा आत्मनिर्णयको अधिकारको लागि आदिवासी युवाको भूमिका” भन्ने नारा सहित २९औंं विश्व आदिवासी दिवस मनाई रहेका तमाम आदिवासी राष्ट्रका जनताहरू प्रति उनले शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘स्वदेशी/आदिवासी राष्ट्रहरू आधुनिक राज्यहरूमा पनि आफ्नो भूमी, भूक्षेत्र तथा श्रोतहरूमा स्वशासन र आत्मनिर्णयको अधिकारको लागि संघर्ष गरिरहेका छन । नेपालका स्वदेशी (आदिवासी, मधेशी, खस) राष्ट्रहरूले पनि विगत लामो समयदेखी आन्तरिक औपनिवेशिकताबाट मुक्त हुने तथा आफ्नो भूमिमा स्वशासन र आत्मनिर्णयको अधिकार उपयोग गर्न पाउनु पर्ने दावा सहित गरिरहेको संघर्षको जगमा नेपालमा लोकतन्त्र स्थापित भएको हो । स्वशासन, स्वायत्तता र आत्मनिर्णयको अधिकार, प्रथाजनित कानुन, भूमि–प्राकृतिक स्रोतको सामूहिक अधिकारमा सशक्त दाबी गर्ने तहसम्म यो आन्दोलन आइपुग्योर । तर नेपालमा सन् २०१५ को संविधान निर्माण हुँदा नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको International Labor Organization 169, United Nation Declaration on the Rights of Indigenous Peoples (UNDRIP) लगायत सन्धी, अभिसन्धीहरूले प्रत्याभुत गरेको अधिकारहरूलाई ईन्कार गरेको छ ।’

‘संविधान निर्माणकै समयमा भएको बिशाल मधेश आन्दोलन तुहाइयो, थरूहट आन्दोलनलाई दवाइयो, पाँच महिनादेखि अविराम चलिरहेको कोशी नाम खारेजी आन्दोलन टुङ्गोमा पुगेको छैनर । जर्सिङपौवामा हाइटेन्सन लाइनले तामाङ समुदायलाई विस्थापित गरेविरूद्धको आन्दोलन होस् या आदिवासी समुदायको प्रथाजनित बिबाह सम्बन्धि अभ्यासको मनोमानी जेनेटिक अपराधी व्याख्याविरूद्धको संघर्षमा टेकु परिसरमा भएको दमनविरूद्धका आन्दोलनहरू छुट्टाछुट्टै भएर उपलब्धि हासिल गर्न सकिरहेको छैनर ।’ शुभकामना सन्देशमा भनिएको छ ।

आन्दोलनकै बलबाट स्थापित भएको विश्व आदिवासी दिवस आदिवासीहरूमाथि भएका र हुने विभेद, हिंसा र शोषणहरूविरूद्ध प्रतिरोध र प्रतिकार गर्ने विशेष सन्दर्भ हो । उनले भनेका छन्, ‘यस सन्दर्भमा स्वदेशी/आदिवासी आन्दोलनको रोगको रूपमा रहेको दलीयकरण र एनजीओकरणबाट मुक्त भएर एकत्रित आन्दोलनको प्रण गरौं ।’

महतोले अधुरा रहेका क्रान्तिलाई पूरा गर्नको निम्ति नयाँ एकीकृत संघर्षको माग गर्दै आजको दिनले नेपालका स्वदेशी राष्ट्रहरूमाथि कायम रहेको औपनिवेशिकता अन्त्य गर्दै स्वाभिमान एव आत्मनिर्णयको अधिकार प्राप्तिको लडाईमा लाग्ने प्रेरणा स्वदेशी राष्ट्रहरूको युवामा जागोस भनि शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ