जनकपुरधाम । किसानले उत्पादन गरेको वस्तुले बजार पाउन नसकेको भन्दै मधेश प्रदेशसभाकी सांसद रानी शर्मा तिवारीले सरकारलाई ध्यानाकर्षण गराएकी छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी उपाध्यक्षसमेत रहेकी प्रदेश सांसद शर्माले मंगलबार प्रदेशसभामा प्रदेश कृषि विकास विधेयक २०८० को छलफलमा भाग लिँदै सो कुरा उठाएकी हुन् ।
किसानले उत्पादन गरेको खाद्यवस्तुले उचित बजार व्यवस्थापन पाउन नसक्दा फाल्नु पर्ने अवस्था अत्यन्तै दुःखद रहेको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताएकी छन् ।
अस्ति भर्खरको एउटा घटना सुनाउँदै उनले भनिन्, ‘रौतहटको मिथिला कृषि फर्मले मूलाको खेती गरेको थियो, त्यो मूला बजारमा लान नसक्दा खेतमै कहिने अवस्था भएपछि फर्मका सञ्चालकले आम जनतालाई आह्वान गर्नुभएको थियो कि कसलाई चाहिन्छ लैजानुस् । किनकि मिहिनेत गरेर खेती गरिएको हुन्छ, त्यो मिहिनेत गरेर उत्पादन गरेको वस्तु फाल्न पनि माया लाग्दोरहेछ । उहाँले बेच्न नसकेर सित्तैमा लिन आउनु भनेर सर्वसाधारणलाई आह्वान गर्नुभएको थियो । भनेपछि उहाँले बिना लगानी र मिहिनेत त्यो उत्पादन गर्नुभएको थिएन होला । त्यो लगानीको उत्पादनलाई सरकारले व्यवस्था गर्न सकेन ।’
उनले किसानले उत्पादन गरेको वस्तु बजार नपाउने बाध्यतालाई सरकारले बुझ्नुपर्ने बताएकी छन् । किसनले उत्पादन गरेको वस्तुको बजार व्यवस्थापन सुनिश्चित हुनुपर्ने माग उनले गरेकी हुन् ।
मिथिला कृषि फर्मका सञ्चालक जासर यादवले आफूले उत्पादन गरेको मूला बजार पाउन नसकेपछि खेतमै कुहिने अवस्था आउँदा सर्वसाधारणलाई सित्तैमा लिएर जान आह्वान गरेका थिए ।
लोसपाका महासचिवसमेत रहेको यादवले सामाजिक सञ्जालमा लेखेका थिए, ‘आफ्नो मिथिला कृषि फर्मको मुलाको बजार नभएकोले आम जनतालाई सित्तैमा लैजान आग्रह । सरकारले सबैभन्दा पहिला किसानले उत्पादन गरेका बस्तुलाइ बेब्स्ती र मर्यादित बनाउनु परियो ।’
तपाईको प्रतिक्रिया