काठमाडौं, २७ फागुन । वैशाख ३० गतेका लागि स्थानीय निकायको निर्वाचन हुँदैछ । निर्वाचनका लागि दलहरुले आन्तरिक र बाह्य तयारी सुरु गरिरहेका छन् ।
सरकारमा रहेका दलहरुले वर्तमान गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जाने वा नजाने विषयमा फरक फरक मतमा विभाजित छन् ।
कांग्रेसबाहेक सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा गठबन्धनलाई निर्वाचनसम्मै लैजाने पक्षमा छन् ।
यी तीनवटै पार्टी एक वर्ष भित्र विभाजित भएका हुन् । विभाजन पछि पार्टी कमजोर मात्र होइन, उनीहरुका नेता तथा कार्यकर्ता पनि अर्को पार्टीमा छन् । नेकपा एकीकृत समाजवादी झन नयाँ बनेको हो, उसको देशभरि अहिले संगठन पनि छैन । कमजोर धरातलमा उभिएका यी दलहरु गठबन्धन बनाएर नै निर्वाचनमा जान सकिने ‘मुड’मा छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई÷दुईपटक प्रतिनिधिसभा भंग गरेपछि संविधान जोगाउन भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको हो । एमसीसी अनुमोदनमा फरक मत रहेको जनमोर्चा गठबन्धनबाट बाहिरिए पनि समर्थन कायमै राखेको छ ।
पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा अहिले सरकारको नेतृत्व गरिरहेका छन् । गठबन्धनकै असर र प्रभावका कारण सातमध्ये चार प्रदेशको एकल नेतृत्व गरिरहेको एमालेले सरकारबाट बाहिरिनु परेको छ ।
संघदेखि प्रदेशसम्म एकपछि अर्को गरी एमाले सत्ताच्युत हुँदै गएपछि अब आउन लागेको चुनावहरूलाई लक्षित गरी चार दलीय गठबन्धन कायमै रहने वा नरहने विषयले चर्चा पाएको हो ।
आगामी चुनाव तालमेल गरेरै लड्नुपर्नेमा एमालेबाट अलग भएर एकीकृत समाजवादी सबैभन्दा प्रष्ट देखिन्छ । चुनावको परिणाम एमालेको पक्षमा जानबाट रोक्ने उसको पहिलो प्राथमिकता हो । नयाँ दल भएका कारण देशभर संगठन विस्तार गर्न भर्खर पाइलामात्र टेकेको एकीकृत समाजवादीले आगामी चुनावमा गठबन्धनलाई अपरिहार्य ठानेका छन् ।
नेकपा एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई निर्वाचनमा स्थापित हुने चुनौती छ । त्यसका लागि पनि उसले गठबन्धनलाई चुनावसम्म निरन्तरता दिनुपर्ने दाउमा जोड दिइरहेको छ ।
जसपाको जोड
त्यसैगरी राजपा र समाजवादी एकीकरण भएर बनेको जसपा पनि विभाजित भइसकेको छ । विभाजित दलहरूबीच बढेको तिक्तताका कारण आगामी चुनावमा ती दुई दलबीच गठबन्धनको सम्भावना टाढासम्म नरहेको नेताहरू बताउँछन् ।
त्यसैले आगामी निर्वाचनसम्म गठबन्धन कायमै राख्नुपर्नेमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै जसपाको जोड छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउँछन् । चुनावमा आवश्यक्ताअनुसार तालमेल हुने भए पनि लोकतन्त्र र संविधानको रक्षाका लागि पनि अहिलेको गठबन्धनलाई चुनावसम्म निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।
गठबन्धनआवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनबारे प्रष्ट देखिए पनि कांग्रेसभित्र यस विषयमा पर्याप्त छलफल नै हुनसकेको छैन । यहाँ सम्म कि गठबन्धनको निरन्तरताबारे कांग्रेसभित्रको फरक मत बाहिर आउन थालेको छ ।
विभाजन भए पनि मुख्य आधार क्षेत्र मधेश प्रदेशमा जसपाले सांगठनिक हिसाबले ज्यादै क्षति बेहोर्नु परेको छैन । प्रदेश २ मा २९ सिट जितेको तत्कालीन समाजवादी पार्टीसँग जसपा विभाजनपछि तत्कालीन राजपाका १० जना थपिएर ३९ प्रदेश सांसद पुगेको छ ।
मधेश प्रदेशका पहिलो पार्टी रहेको जसपा गठबन्धनमै चुनाव लडेर अन्य प्रदेशहरूमा आफ्नो राजनीतिक उपस्थितिलाई बलियो बनाउने रणनीति लिएको छ ।
जसपाले सबै प्रदेशमा गठबन्धन कायम राखेर जाने प्रयास गरे पनि गठबन्धनका अन्य दलको निर्णयमा भर पर्ने देखिन्छ ।
सत्ता गठबन्धनका दलहरुको चाहना निर्वाचनसम्म गठबन्धन कायम राख्ने चाहना कांग्रेसमाथि निर्भर छ । यदि कांग्रेसले गठबन्धन कायम राख्न तयार भएन भने त्यसको सबैभन्दा बढी क्षति एकीकृत समाजवादी र जसपाले व्यहोर्ने छ ।
ओलीको रणनीति
सत्तारुढ गठबन्धनबीच निर्वाचनसम्म तालमेल गर्ने सम्भावनाकाबीच नेकपाले पनि अन्य साना दललाई समेटेर गठबन्धन बनाउने रणनीति तय गरेको छ ।
सत्ता गठबन्धनको तयारीलाई दृष्टिगत गरी ओलीले पनि अलग गठबन्धनमा ध्यान दिन थालेका हुन् । उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गर्ने सम्भावना बढेको छ । ओली र ठाकुरबीच निकट सम्बन्ध छ ।
ठाकुरले पनि सार्वजनिक रुपमा ओलीको प्रशंशा गर्दै आएका छन् । दुई नेताबीच निर्वाचनमा मिलेर जानेबारे समेत विभिन्न माध्यमले कुराकानी चलेको बुझिएको छ ।
मधेश प्रदेशमा प्रभाव बढाएका सीके राउतसँग पनि ओलीले पछिल्लो समय निकटता बढाएका छन् । राउतलाई मूलधारको राजनीतिमा ल्याउन ओलीले नै मुख्य भूमिका निर्वाह गरेका थिए । किसान आन्दोलन उठाएर मधेशमा प्रभाव जमाउँदै गएका राउतले पनि ओलीबाट चुनावी लाभ लिन खोजेका छन् ।
तपाईको प्रतिक्रिया