काठमाडौं, १७ असार । जनता समाजवादी पार्टी (जसपा) विभाजनको निकै नजिक पुगेको छ । संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद चर्किएकै बेला दुई नेता आ–आफ्नो बाटो लाग्न राजी भएका छन् ।
यसअघि जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरु अलग भएर लोसपा बनाएका हुन् ।
भट्टराईले यादव समक्ष पार्टीबाट अलग हुने प्रस्ताव राखेका थिए । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भट्टराईको प्रस्ताव थियो ।
छलफलमा अध्यक्ष भट्टराईले यादव क्षेत्रीय र जातीय राजनीतिबाट माथि उठ्न नसकेको भन्दै सँगै काम गर्न नसकिने बताएका थिए । उनले आफूलाई पार्टीमा सँगै काम गर्न गाह्रो भइरहेको भन्दै सहमतिमै अलग हुन यादवसँग प्रस्ताव गरेका थिए ।
त्यसमा यादव पनि सहमत भएको भट्टराई पक्षले जनाएको छ । यादव पक्षका नेताहरुले पनि दुई नेताबीच सहमतिमै अलग हुने सहमति भएको बताएका छन् । भट्टराईसँगको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ दिएका थिए ।
जसपाका दुई शीर्ष नेताहरु सहमतिमा अलग हुने निर्णय गरेपछि केन्द्रीय सदस्य र सांसदहरु कसको पक्षामा जाने समस्या भएको छ । अध्यक्ष भट्टराई पार्टीबाट अलग हुने भएपछि उनीसँग अरु को–को अलग्गिने अहिलेसम्म खुल्न सकेको छैन ।
यद्यपी अहिले पार्टीमा अध्यक्षको बहुमत भएकाले पार्टीको आधिकारिकता यादवसँग रहने छ । उता, आफूहरुको बहुमत पुग्ने सम्भावना कम भएकाले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आउन सक्ने भट्टराई पक्षको विश्लेषण छ ।
पार्टीबाट औपचारिक बिदा लिनुपूर्व भट्टराईले जसपाको राष्ट्रिय भेला बोलाएर अलग हुने सोच बनाएका छन् । नेताहरुका अनुसार यद्यपि यादवसँग सहमति बने पनि उनलाई सहजरुपमा बाहिरन भने गाह्रो छ ।
भट्टराई पार्टीमा अल्पमतमा छन् । स्थानीय चुनावअघि र पछिसम्म पनि पार्टीभित्र बहुमतमा रहेका भट्टराई अहिले आएर अल्पमतमा परेका हुन् ।
यहीबीच अध्यक्ष यादवले मन्त्री हेरफेरबारे गर्ने निर्णयलाई पनि असन्तुष्ट पक्षले पर्खेका छन् । भट्टराई अल्पमतमा रहँदा यादवले मन्त्री हेरफेर गर्ने एकल निर्णय गरेका थिए भने पार्टीले पनि उनैलाई सर्वाधिकार दिएको छ ।
मन्त्री हेरफेर भएमा असन्तुष्ट नेताहरुले बाबुरामलाई साथ दिने सम्भावना रहेको छ । यही रणनीतिका साथ यादवको निर्णयको पर्खाइमा भट्टराई छन् । यता, यादवले भट्टराई अलग भएर गएपछि मात्र मन्त्री हेरफेर गर्ने सोच बनाका छन् ।
आफूसँग बहुमत भए पनि भट्टराईले त्यसलाई प्रयोगमा ल्याएनन । अध्यक्ष यादव पक्षबाट अझै केही नेता तानौँ भन्ने सोच अध्यक्ष भट्टराईको थियो । यहि सोच्दा सोच्दै यादव बहुमतमा पुगे भने पार्टीमा एकल निर्णय गराउन पनि सफल भए ।
पार्टीमा नेतृत्वबीच असन्तुष्टि बढेपछि केन्द्रीय कार्यकारिणी समितिले संघीय परिषद् अध्यक्ष भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राई रहेको मुख्यालय गठन गरेको थियो । मुख्यालयलाई आपसी छलफलबाट निर्णय गर्ने जिम्मेवारी दिइएको थियो ।
मुख्यालयको निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ । गठनको साढे तीन महिना बित्दा मुख्यालयको बैठक एक पटक पनि बसेको छैन ।
यता पार्टीका हरेक निर्णयमा यादवले भट्टराईलाई क्रस गर्ने गरेका छन् । मन्त्री बनाउँदा होस् वा स्थानीय तहको टिकट दिँदा सबै निर्णयमा यादव नै हाबी छन् । यति सम्म कि दुवै नेताबीच बोलचाल पनि बन्द भएको छ ।
भट्टराईसँग को–को
हाल अध्यक्ष भट्टराईलाई कार्यकारिणी सदस्य महिन्द्रराय यादव, राजकिशोर यादवले पनि साथ दिइरहेका छन् । यादव र भट्टराई आ–आफ्नो बाटो लागेमा भट्टराईलाई साथ दिइरहेका महिन्द्रा, राजकिशोरलगायतले के गर्लान् भन्ने चासो पनि छ ।
यस्तै भट्टराईलाई सुरुदेखि साथ दिएका प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्य इस्तियाक राइ, प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य प्रदीप यादव, राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्र कुमार सिंह यादव, सांसदहरू रुही नाज, प्रज्ञा ढकाललगायत अहिले उनलाई छाडेर जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागि सकेका छन् ।
यीमध्ये कतिपय नेताहरूले भट्टराई पक्षमा हस्ताक्षर नगरे पनि आवश्यक परे साथ दिने आश्वासन दिनुका साथै गुटको बैठकहरूमा पनि सहभागी हुँदै आएका थिए ।
तर पछिल्लो समय उपेन्द्र यादवले बोलाएको कार्यकारिणीको अनौपचारिक बैठकमा उनीहरूलगायत अध्यक्ष भट्टराई पक्षका अन्य नेताहरू पनि सहभागी भएका थिए । सोही बैठकपछि अध्यक्ष यादवको पक्षमा बहुमत जुटेको कतिपय नेताहरूको भनाइ छ ।
मन्त्री हेरफेरको निर्णय गरेसँगै अध्यक्ष भट्टराई पक्षमा रहेका नेता तथा सांसदहरू तितरबितर भएका छन् । अध्यक्ष भट्टराईको पक्षमा रहेका नेता तथा सांसदहरू उपेन्द्र पक्षतिर लाग्न थाले ।
बहुमत आफूसँग रहेको यादवको दाबी
पार्टी विभाजन डिलमा पुगेको बेला अध्यक्ष यादव पक्षले आफूहरुसँग बहुमत रहेको दाबी गरेका छन् । पार्टी विभाजन भए २० केन्द्रीय कार्यकारिणी सदस्य आफ्नै पक्षमा रहने उनीहरुको दाबी छ ।
यस्तै १६ सांसद् पनि आफूहरूसँग रहने दाबी छ । अहिले जसपामा ३३ सदस्यीय कार्यकारिणी सदस्य र राष्ट्रियसभाबाहेक २१ सांसद् छन् । बहुमत नेता तथा सांसद्ले यादवलाई साथ दिने दाबी यादव पक्षको छ ।
राजकिशोर यादव र महिन्द्रराय यादव पनि भट्टराईको साथ दिने अवस्था नरहेकाले आफूहरूसँगै आउने पनि उनीहरुको दाबी छ । यदि ती दुवै जना आफ्नो पक्षमा आए कार्यकारिणी सदस्य संख्या २४ पुग्ने पनि दाबी गरिएको छ ।
भट्टराईको गन्तव्य
२०७२ असोज ९ गते माओवादी केन्द्र त्यागेका भट्टराई २०७३ जेठ ३० गते ‘नयाँ शक्ति’ नामको नयाँ दलको घोषणा गरे । त्यसपछि भट्टराईले तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गरेर २०७६ साल वैशाख २३ गते समाजवादी पार्टी निर्माण गरे । पार्टीको केन्द्रीय भूमिका उपेन्द्र यादवलाई राखेर आफू दोस्रो तहको नेतृत्व बस्न तयार भए ।
समाजवादी पार्टी बनेको एक वर्षमै २०७७ वैशाख १० गते सबै मधेशी दल एक ठाउँमा हुने गरी तत्कालीन राजपासँग एकता भएर जनता समाजवादी पार्टी(जसपा) नेपाल निर्माण भयो । अहिले यो दलबाट पूर्व राजपा छुट्टिएर लोकतान्त्रिक समाजवादी फोरम (लोसपा) नेपाल गठन भएको छ ।
जसपाबाट निस्केर भट्टराईले के गर्लान कुनै रोडम्याप सार्वजनिक गरेका छैनन् । कुनै दलमा प्रवेश गर्ने भन्दा उनले नयाँ दल नै खोल्ने सम्भावना बढी छ । यदि भट्टराईले नयाँ दल खोले भने त्यो पाँचौ हुनेछ ।
भट्टराई निकट एक नेताले भने, ‘उहाँ जसपामा नबस्ने सङ्केत देखियो । लोसपा पनि जानुहुन्न । तर, आफ्नै नेतृत्वमा पार्टी बनाउने तयारी गर्नुभएको छ ।’
तपाईको प्रतिक्रिया