काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टी नेपालबाट कारबाहीमा परेका डा. बाबुराम भट्टराई नयाँ पार्टी गठन गर्ने तयारीमा छन् । काठमाडौंको जडीबुटीमा बसेको बाबुराम पक्षको बैठकले नयाँ पार्टी बनाउने निर्णय गरे पछि उनी नयाँ पार्टी बनाउने तयारीमा लागेका हुन ।
बैठकपछि भट्टराई र उनीनिकट नेताहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छन् । जसपाको ३४ सदस्यीय कार्यकारिणी समितिमा भट्टराईको पक्षमा हिसिला यमी, महेन्द्र यादव, रमेश यादव, डम्मर खतिवडा, गङ्गानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा स्वाब, भक्तबहादुर शाह छन् ।
यता अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले भट्टराईसहितका नेताहरूको जिम्मेवारी खोस्दै कारबाही गरेको छ । वीरगञ्जमा भएको अध्यक्ष यादव पक्षको कार्यकारिणी बैठकले उनीहरूमाथि कारबाही गरेको हो ।
पार्टीबाट हटाइए पनि भट्टराईको सांसद पद नजाने भएको छ । यादव पक्षले पार्टीका सम्पूर्ण जिम्मवारीवाट पदमुक्त गरे पनि भट्टराई लगायतको सांसद पद भने जोगिएको छ ।
‘बाबुरामजीलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिए पनि सांसद पदबाट भने मुक्त गरिएको छैन, अहिले त्यो दिशामा पार्टी जाँदैन’ अध्यक्ष यादवले भने, आत्माआलोचना गरेर फर्केमा उहाँ लगायतलाई पार्टीको जिम्मेवारीमा पुनःस्थापित गरिनेछ ।’ उनका अनुसार काठमाडौंको जडिबुटीमा भएको भेलालाई भने पार्टीले मान्यता दिएको छैन ।
काठमाडौंमा अलग्गै केन्द्रीय समिति बैठक बोलाएको भन्दै वीरगञ्जमा बसेको यादव पक्षको केन्द्रीय समिति बैठकले भट्टराईसहितका नेताहरुलाई पार्टीको सम्पूर्ण जिम्मेवारीवाट मुक्त गरेको थियो ।
तर, यादव पक्षले पार्टीको जिम्मेवारीबाट मुक्त गरेपछि भट्टराईले भने पार्टी पुर्नगठनको दिशामा जाने सार्वजनिक गरिसकेका छन् ।
नेताहरु अलमलमा
भट्टराईले नयाँ पार्टी गठन गर्ने तयारीमा रहेकै बेला सो पार्टीको तेस्रो धार भने अलमलमा देखिएको छ । जसपामा आन्तरिक विवाद उत्कर्षमा पुगेर यादव र भट्टराईले अलगअलग बैठक आयोजना गर्दा तेस्रो धार तटस्थ रहेको थियो ।
दुवै पक्षले आफ्नो पक्षमा बहुमत पु¥याउन नेता तथा कार्यकर्ता तानातान गरेका थिए । अन्ततः अध्यक्ष यादवको पक्षमा बहुमत पुग्यो । ४९९ सदस्यीय केन्द्रीय समितिमा यादवको पक्षमा ३०७ जनाले हस्ताक्षर गरेका थिए । यादव पक्षका २० जना कार्यकारिणी समितिका सदस्य उपस्थित थिए भने अध्यक्ष भट्टराईको पक्षमा बाबुराम भट्टराई, हिसिला यमी, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंह र रमेश यादव गरी सात जनामात्र थिए ।
पाँच जना कार्यकारिणी सदस्यहरु हेमराज राई, भक्तबहादुर शाह, रामनरेश राय यादव, दुर्गा सोव, राजकिशोर यादव र अमृता अग्रहरी तटस्थ बसे । उनीहरुले पार्टी विभाजन नहोस्, बरु जसपामै रहेर संघर्ष गरौं भन्दै दुवै पक्षलाई बैठक स्थगित गरी संवादबाट विवाद टुङ्ग्याउन आग्रह गरेका थिए । तर दुवै पक्षले बैठक स्थगित गर्न मानेनन् ।
तटस्थ बसेकामध्ये दुर्गा सोवलाई जसपाले कारवाही गरेको छ । जसपामा तेस्रो धारको रुपमा देखिएका उनीहरुले कुन पक्षमा जाने भनेर अहिलेसम्म निर्णय गरेका छैनन् ।
महेन्द्र या राजकिशोर अध्यक्ष !
भट्टराई नयाँ पार्टी गठनको गृहकार्यमा छन् । भट्टराईले पार्टीको अध्यक्ष बन्न अनिच्छा व्यक्त गरेसँगै कसलाई अध्यक्ष बनाउने भन्नेमा अन्योल देखिएको छ । नयाँ पार्टीमा भट्टराईले कार्यकारी भूमिकामा नरहने प्रस्ट पारिसकेका छन् । उनी जसपामा जुन भूमिकामा थिए, नयाँ पार्टीमा पनि त्यही भूमिकामा रहने वा अन्य अभिभावकीय भूमिकामा रहने तर कार्यकारी पदमा नरहने योजनामा छन् ।
नयाँ पार्टीको अध्यक्ष बन्ने लाइनमा महेन्द्र राय यादव र राजकिशोर यादव छन् । पार्टीको नेतृत्वमा हिसिला यमी, गंगा श्रेष्ठको नाम पनि चर्चामा आइरहेको छ ।
महेन्द्रराय यादव र राजकिशोर यादवलाई पूर्व नयाँ शक्तिका नेताहरु अध्यक्ष स्वीकार गर्ने पक्षमा नरहेको एक नेताले बताए । बाबुराम अध्यक्ष नबनेपछि हिसिला यमी, गंगा श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंहलगायतले दाबी गर्न सक्ने उनको भनाइ छ ।
पूर्व नयाँशक्ति पक्षका नेताहरुले महेन्द्र तथा राजकिशोरलाई अध्यक्ष नदिने अडान राखेको छ । तर स्वयं बाबुराम भट्टराई भने महेन्द्र वा राजकिशोरमध्ये एक जनालाई नेतृत्व दिने पक्षमा छन् ।
महेन्द्र राय यादव सुरुदेखि बाबुराम भट्टराईलाई साथ दिँदै आएका छन् । काठमाडौंको जडीबुटीमा भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पनि महेन्द्र राय यादवको उपस्थिति थियो तर राजकिशोर यादव तटस्थ बसिदिए ।
न उनी उपेन्द्र यादव पक्षको बैठकमा गए, न बाबुराम पक्षको बैठकमा । यद्यपि उनी अहिले पनि बाबुराम भट्टराईको सम्पर्कमा छन् । बाबुराम भट्टराईसँग उनको नियमित संवाद भइरहेको छ ।
नयाँ पार्टी बनाउने कि अरु कुनै उपाय खोज्ने भन्ने विषयमा उनीहरुको बीचमा कुराकानी भइरहेको छ । भट्टराईले जसपामा विद्रोह गर्न केही हतार गरेको राजकिशोर यादवको धारणा छ । उनी जसपामै बसेर संघर्ष गरेर पार्टीलाई रुपान्तरण गर्ने सोचमा थिए ।
बाबुरामलाई पनि उनले त्यही सल्लाह दिँदै आए पनि बाबुरामले हतारहतार छुट्टै केन्द्रीय समितिको बैठक बोलाएको कारण उनी तटस्थ बसेका थिए ।
बाबुराम पक्षका कतिपय नेताहरु माओवादी पार्टीमा फर्किने सोच पनि बनाइ रहेका छन् । माओवादीबाट नयाँ शक्तिमा आएका अधिकांश नेताहरु माओवादीमै फर्किने मुड बनाइसकेको बताइएको छ । तर नयाँ शक्ति बन्दा अन्य दल वा फरक पृष्ठभूमिबाट आएका नेताहरु माओवादीमा फर्किन चाहेका छैनन् ।
प्रशान्त सिंह, डम्बर खतिवडालगायतका नेताहरु माओवादीमा फर्किने मुडमा छैनन् । हिसिला यमी, गंगा श्रेष्ठ, रमेश मल्ललगायतका नेताहरु माओवादीमा फर्किन चाहेका छन् । भट्टराईसँग भएको भेटमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भट्टराईलाई माओवादी केन्द्रमै आउन आग्रह गरेका थिए । तर भट्टराईले त्यसमा कुनै जवाफ दिएका थिएनन् ।
तपाईको प्रतिक्रिया