श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्नु सामाजिक सुरक्षा कोषको मुख्य उद्देश्य हो

अन्तर्वार्ता

कविराज अधिकारी, कार्यकारी निर्देशक, सामाजिक सुरक्षा कोष

० सामाजिक सुरक्षा कोष के हो ?

— नेपाल सरकारले २०६७ चैत ७ गतेदेखि सामाजिक सुरक्षा कर भनेर १ प्रतिशत कर लिन थाल्यो । त्यसपछि सामाजिक सुरक्षा कोषको औपचारिक सुरुवात भएको भन्न सकिन्छ । यस कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐन बमोजिम कार्य गर्दै आएको छ। ऐनको प्रस्तावनामा उल्लेखित श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु यस कोषका उद्देश्य हुन्। सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुकोआर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिकहकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित छन्।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने ब्यवस्था गरेकोछ । जसले गर्दा कोषको कार्य क्षेत्रलाई व्यापक बनाएको छ।सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको छ । ऐनमा उल्लेखित सामाजिक सुरक्षा योजना सञ्चालन गर्नका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आएको छ ।

० औपचारिक क्षेत्र भनेको के हो ?

— औपचारिक क्षेत्र भनेको जहाँ कम्पनी र कर्मचारी छन् । सुरुवाती चरणमा औपचारिक क्षेत्रका लागि यो कोषको स्थापना भयो । त्यससँगै वैदेशिक क्षेत्र पनि सुरु भयो । २०७९ साल चैत ८ गतेदेखि वैदेशिक क्षेत्रमा सुरु भयो । खासमा जो वैदेशिक रोजगारका लागि विदेशमा हुनुहुन्छ, उहाँहरुका लागि सामाजिक सुरक्षा कोष सुरु भयो । त्यस्तै अनौपचारिक क्षेत्रका लागि २०८० साउनदेखि सुरु भएको हो । औपचारिक क्षेत्र भनेको जसको रोजगारदाता छैन, जसले दैनिक ज्यालादारी गर्नुहुन्छ । त्यहीं बेलादेखि स्वरोजगारका लागि सुरु भएको हो । स्वरोजगार भनेको जसले कुनै आफ्नै व्यवसाय गर्नुहुन्छ ।

० सामाजिक सुरक्षा कोषको उद्देश्य के हो त ?

— यसको उद्देश्य बुझ्नका लागि सबभन्दा पहिला नेपालको संविधान पढ्नुप¥यो । नेपालको संविधानमा दुई थरिका सामाजिक सुरक्षा भन्ने छ । एउटा सामाजिक सुरक्षा प्रदान गर्ने धारा ४३, त्यो वृद्ध भत्ता लगायतका कुराहरु भयो, सरकारले अनुदानको रुपमा दिन्छ । अर्को संविधानको धारा ३४ मा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भनेर संवैधानिक हक छ । सामाजिक सुरक्षा भनेको हामी जब जन्मिन्छौं र मर्छौं त्यसको बीचमा धेरै असुरक्षा छन् । कुनै बच्चा जन्मिसकेपछि उसको शिक्षा दिक्षा कस्तो हुन्छ, उ विरामी हुनसक्छ, उसको दुर्घटना हुनसक्छ, मृत्यु हुन्छ । रोजगारीको क्रममा बेरोजगार हुनसक्छ । ती सबै कुरा हुँदा श्रमिकलाई आम्दानीको खाँचो हुन्छ, त्यतिखेर पनि उसको आम्दानीको स्रोत नटुटोस् । उसले औषधोपचार गर्दा केही सहयोग होस् भन्ने खालका कुराका लागि सामाजिक सुरक्षाको धारणा हो । श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्नु सामाजिक सुरक्षा कोषको मुख्य उद्देश्य हो । यस्तै, योगदानकर्ता वा उसको श्रीमती सुत्केरी भयो भने पनि उसले १० हजार ८२० रुपैयाँसम्म दिन्छौं ।

० वैदेशिक रोजगारमा रहेकाहरुका लागि के व्यवस्था छ ?

— वैदेशिक रोजगारमा रहेकाहरु मध्ये अहिलेसम्म ७ लाखभन्दा बढी आबद्ध भइसक्नुभएका छन् । वैदेशिक रोजगारीमा जानका लागि यसमा आबद्धता अनिवार्य हो । कतिपयलाई थाहा नै छैन कि यसमा म आबद्ध भइसकेको छु । किनभने उहाँहरु सोचिरहनुभएको छ कि मैले विदेश जानका लागि मैले कुनै लागत तिरे भनेर सोचिरहनुभएको छ । तर म भन्न चाहन्छु कि यो लागत होइन, भविष्यका लागि लगानी हो । केही पर्दा यसले जोखिम बहन गरिरहेको स्थिति छ । त्यसको बदलामा उहाँहरु केही पाउनुहुन्छ । सामाजिक सुरक्षा कोषमा एक किस्ता तिरेर लगानी पाइँदैन । यसका लागि निरन्तर कायम गर्नुपर्छ । विदेशमा बस्नेहरुले यदि चाहन्छन् कि म २३०८ रुपैयाँभन्दा बढी जम्मा गर्न चाहन्छु भन्यो भने त्यो पनि पाउनुहुन्छ । अतिरिक्त रकम जम्मा गर्ने व्यक्ति यदि विदेशबाट फर्केर आइसकेपछि उनलाई कोषले एकमुष्ट रकम फिर्ता पनि दिन्छ । तर, जरुरी के छ भने योगदानको निरन्तरता हुनुपर्छ । सँगसँगै हामी यसमा डिस्काउन्टको पनि व्यवस्था गरेका छौं । यदि उसले ६ महिनाभन्दा बढी उसले एकमुष्ट रकम जम्मा गर्छ भने त्यसमा १० प्रतिशत छुट छ । त्यस्तै, यदि उसले ३ वर्षसम्म निरन्तर योगदान ग¥यो र कुनै पनि दाबी माग गरेन भने फेरि पनि उसले १० प्रतिशत छुट पाउँछन् ।

० वैदेशिक रोजगारीमा रहेकाहरुले निरन्तर रकम जम्मा गर्दा उहाँहरु के पाउनुहुन्छ ?

— सामाजिक सुरक्षा कोषमा निरन्तर जम्मा गरिसकेपछि यदि जम्माकर्ता वा उसको परिवारमा कोही विरामी भए भने एक लाखसम्मको औषधोपचार पाउँछन् । एक लाखको आईपीडी र २५ हजारको ओपीडी भनेर उपचार खर्च पाउँछन् । हामीसँग आबद्ध भएका ८० वटा अस्पतालहरु छन् । हाम्रो वेबसाइटमा राखिएको छ । त्यो ८० वटा अस्पतालमध्ये कुनैमा गएर उपचार गराउन सक्नुहुन्छ । म सामाजिक सुरक्षा कोषको योगदानकर्ता हुँ अथवा उसको परिवार हुँ भनेर आफ्नो परिचयपत्र देखाउन सक्नुहुन्छ । त्यो कार्ड देखाइसकेपछि ती अस्पतालहरुमा सस्तो र सुलभ दरमा औषधोपचार पाउन सकिन्छ । अर्को यदि दुर्घटना भयो भने त्यतिखेर एक लाखले नपुग्ला । त्यतिखेर उसले सात लाख रुपैयाँसम्म दुर्घटनाको पनि रकम उसले पाउँछ । त्यस्तै, यदि उसको मृत्यु भयो भने उसको परिवारले आजीवन पेनसन पाउँछ । त्यस्तै, यदि काम गर्दागर्दै अंगभंग भयो, काम गर्न सक्ने अवस्था रहेन भने उसले ६ हजार ४९२ रुपैयाँ आजीवन पेनसन पाउँछन् । भोली यो बढ्दै पनि जान्छ ।

० यी सुविधाहरु कसरी पाउने ?

— सामाजिक सुरक्षा कोषको सबै कुराहरु अनलाइनमा छन् । अनलाइनमा गएपछि आफ्नो योगदानकर्ता पोर्टलमार्फत् आफ्नो काजगपत्रहरु भनेबमोजिम राख्ने र त्योअनुसार कोषका सुविधाहरु प्राप्त हुन्छ । एकदम सजिलो छ ।

० तराई–मधेशबाट वैदेशिक रोजगारमा जाने अधिकांश धेरै पढेलेखेका हुँदैनन्, उहाँहरुलाई थाहा नहुन पनि सक्छ । उहाँहरुलाई कसरी जानकारी हुन्छ ?

— त्यसका लागि त हामी तपाइँजस्ता आम सञ्चार माध्यमबाट सन्देश दिइरहेका छौं । अहिले हामी कुराकानी गरिरहँदा उहाँहरुले थाहा पाउन सक्नुहुन्छ । सामाजिक सुरक्षा कोषमा निरन्तरता गर्नुपर्छ । मैले किन पैसा तिर्दैछु भन्ने कुरा बुझ्नुपर्छ । बुझिसकेपछि यसका पाउने सुविधाहरु लिन जानुपर्छ । यदि कुनै अप्ठ्यारो पर्छ भने त्यसका लागि हाम्रो कल सेन्टर पनि सञ्चालनमा ल्याएका छौं । जसले यसमा आबद्धता जनाउनुभएको छ, उहाँले बुझ्नुपर्छ कि यो मेरो खर्च होइन, लगानी हो । यसबाट भविष्यमा केही पाउन सकिन्छ ।

० कतिपय विदेश जानेहरुले सामाजिक सुरक्षा कोषमा पैसा तिरेर गएका छन्, तर उसलाई थाहा छैन । उसले कसरी निरन्तरता दिन सक्छन् ?

— त्यसकै जानकारीका लागि हामीले मिडियामार्फत् जानकारी गराइरहेका छौं । हाम्रो वेबसाइटमा सबै कुराहरु राखिएको छ । तपाइँजस्तो मिडियाले यसमा काम गर्न सक्नुहुन्छ । हाम्रो वेकसाइट पनि फ्रेन्डली छ ।

० विदेशमा रहेकाले सामाजिक सुरक्षा कोषमा निरन्तरताका लागि पैसा कसरी तिर्ने ?

— पहिलो कुरा त उसले नेपालबाट पनि तिर्न सक्छन् । विदेशबाटै तिर्नुपर्छ भन्ने होइन । जस्तो, मेरै परिवारबाट कोही विदेश जानुभएको छ भने मैले पनि तिरिदिन सक्छु । तर, यदि कोही विदेशबाटै तिर्छु भन्यो भने यसका विभिन्न विकल्पहरु छन् । यसका लागि रेमिटेन्स कम्पनीहरु आईएमई र सिटी एक्सप्रेसमार्फत् तिर्न सक्नुहुन्छ । त्यस्तै, हाम्रो वेबसाइटमा गएर कनेक्ट आइपीएस र इसेवा खल्तीमार्फत् पनि योगदान पु¥याउन सक्नुहुन्छ ।

० सामाजिक सुरक्षा कोषमा आबद्ध भनेको एउटा लगानी हो भने यसमा लगाएको लगानी कतिको सुरक्षित छ त ?

— एकदमै सुरक्षित छ । किनभने सामाजिक सुरक्षा कोष भनेको कुने नाफा कमाउनका लागि खोलिएको संस्था होइन । यो कुनै बीमा कम्पनी वा नाफामुखी संस्था होइन । यसको कामै हो कि रकम जम्मा गर्ने र त्यसको फाइदा दिने । यो नेपाल सरकारको एउटा संस्था हो । यसमा अहिलेसम्म ५१ अर्ब रुपैयाँ जम्मा भइसकेको छ । त्यो पूर्णरुपमा पारदर्शी छ । त्यसकारणले लगानी डुब्छ भन्ने कुनै किसिमको शंका नगर्दा हुन्छ । यसमा ढुक्कसँग आबद्ध हुन अपिल गर्दछु ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ