‘सिंहदरबार पूर्णरुपमा गाउँ–गाउँमा गएको छैन’

स्थानीय सम्वाद्

विद्यानन्द चौधरी, अध्यक्ष, छिन्नमस्ता गाउँपालिका, सप्तरी

० तपाइँ गाउँपालिका अध्यक्षमा निर्वाचित भएको सात महिना भयो, यो अवधिमा तपाइँले गरेका कामहरु के–के छन् ?

— निश्चितरुपमा हामीले चुनावताका जनताबीच गरेका प्रतिबद्धताअनुसार नै काम गर्दै आएका छौं । यसअघिको कार्यकालमा यो पालिकामा तीन–तीन वर्षसम्म परिषद् नभएको पालिकाको रुपमा थियो । विभिन्न योजनाहरुको भुक्तानी भएका थिएनन्, स्थानीय सेवा प्रवाहको सन्दर्भमा जनताले सामान्य कुरा पनि प्राप्त गर्न सकेका थिएनन् । हामी निर्वाचित भएर आएपछि जेठ १२ गते पदभार ग्रहण ग¥यौं । त्यसपछि विभिन्न समितिहरु निर्माणमा लाग्यौं । तीन–तीन वर्ष परिषद् नभएको पालिका भनेर चिनिने पालिकामा हामीले असार १० गते नै परिषद् ग¥यौं । त्यसपछि सो आर्थिक वर्षमा सञ्चालन भएका आयोजनाहरुलाई प्रक्रियासंगत तवरले भुक्तानी दिन लगायौं । त्यसपछि जनताले प्रत्याभूत गर्ने खालका कार्यहरु अगाडि बढायौं । जुन पालिकामा कर्मचारीले ९–९ महिनासम्म तलब नपाएर आन्दोलन गर्नुपर्दथ्यो, आज शिक्षकहरुले मासिकरुपमै तलब पाइरहेका छन् । शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रका विज्ञहरुलाई राखेर यो पालिकालाई कसरी सवल र समृद्ध बनाउन सकिन्छ भन्नेमा हामी लागेका छौं ।

० तर जनताले प्रत्याभूत गर्ने कामहरु ?

— जुन स्वास्थ्य चौकीमा आधारभूत औषधिको अभाव ६–६ महिना हुन्थ्यो, आज हामीले दुई–तीन महिना अगावै पठाइसकेका छौं । यी लगायत जनताको दैनिकीसँग जोडिएका कुराहरुमा हामी लागेर पूर्ति गर्ने प्रयासमा लागेका छौं । हामी निर्वाचित भएर आएको धेरै समय पनि भएको छैन । एकै पटक सबै पूरा हुँदैन । हामी सकारात्मक तरिकाले जनताले प्रत्याभूत गर्न सक्ने गरी कामहरु अगाडि बढाएका छौं । यिनै कुराहरुलाई जनताले परिवर्तनको संकेतको रुपमा लिएका छन् ।

० सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा जनताले अनुभूत गरेका छन् ?

— हाम्रो संविधानले मुलुक संघीयतामा गएको भनिएको छ । स्थानीय सरकारलाई संविधानले दिएको अधिकारहरु पूर्णरुपमा दिइएको छैन । अहिले जिल्ला–जिल्लामा कृषि ज्ञान केन्द्र रहेका छन् । जबकि त्यो पालिकास्थरमा हुनुपर्छ भनेर कानूनले भनेको छ । भनेपछि यो कस्तो संघीयता ? संविधानले सिडियोको परिकल्पना गरेको छैन । संविधानले परिकल्पना नगरेका कुराहरु अहिले यहाँ लागू भएको छ । संघ सरकारले सशर्त बजेटहरु लाद्ने काम गरेको छ । त्यसकारण स्थानीय सरकारलाई सबल र सफल बनाउन पूर्ण स्वायत्त भनेर संविधानले भनेको छ । स्थानीय सरकारको स्वायत्त अधिकारलाई केही राज्यसत्ताका ठेकेदारहरुले खोसेका छन् । तसर्थ, सिंहदरबार गाउँ–गाउँमा जुन आधारमा भनिएको छ, त्योअनुसार हामीले पाएका छैनौं । जनताले ती स्थानीय सरकारबाट अपेक्षाकृत सेवा सुविधा पाउन संघ सरकारको नियत ठिक हुनुपर्छ । गाउँ–गाउँमा गएको सिंहदरबारलाई बलियो बनाउनुपर्छ । यो सिंहदरबार पूर्णरुपमा गाउँ–गाउँमा गएको छैन । त्यसकारण हामीसँग भएको स्रोत, साधन र क्षमताअनुसार हामीले सिंहदरबार गाउँमा प्रत्याभूत गराएका छौं । हामीले यसपटक रचनात्मक बजेट विनियोजन गरेका छौं ।

० छिन्नमस्ता गाउँपालिकाले जनतासँग जनप्रतिनिधि भन्ने कार्यक्रम ल्याएको छ, त्यो के हो ?

— हाम्रो पालिकामा सात वटा वडाहरु छन् । ती सबै वडाहरुमा हामीले पालैपालो जनतासँग प्रत्यक्ष सम्वाद गर्ने गरेका छौं । समग्रमा यसको तात्पर्य भनेको जनप्रतिनिधि जनताको बीचमा रहेर जनसवालका विषयमा बहस गरेर सेवा सुविधाहरु कसरी पु¥याउने रहेको छ । जनताका समस्याहरु के–के छन्, पालिकाबाट जनताले कुन–कुन सेवा लिन पाएन वा अझ के सुधार गर्न सकिन्छ लगायतका विषयमा छलफल गर्ने गरेका छौं । यसमा जनताले हामीलाई खबरदारी र स्यावासी पनि दिने गरेका छन् । यदि हामीले कहीं नराम्रो काम गरेका छौं भने खबरदारी पनि गर्छन् र राम्रो गर्छौं भने स्यावासी पनि दिन्छन् । यो कार्यक्रम हामीले मासिकरुपमा गरिरहेका छौं ।

० तपाइँ गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । यो महासंघको काम के हो ?

— देशैभर रहेका गाउँपालिकाहरुको छाता संगठनको रुपमा गाउँपालिका राष्ट्रिय महासंघ रहेको छ । यो महासंघले गाउँपालिकाहरुको हक, अधिकारका लागि आवाज उठाउँदै आएको छ । गाउँपालिकालाई अनुशासित र व्यवस्थित तरिकाले कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा हामीलाई अभिमुखीकरण, तालिम, सेमिनार, गोष्ठी लगायत आवश्यक बहस र पैरवी गर्दै आएको छाता संगठन हो । विगतमा पनि गाउँपालिका महासंघले आफ्नो काम, कर्तव्य गर्दै आएको छ । विकासका सूचकांकहरुमा पछाडि परेका गाउँपालिकाहरुको स्तरोन्नतिका लागि पहल गरेको छ ।

० तपाइँ आफ्नो पाँच वर्षको कार्यकालमा गर्नुपर्ने महत्वपूर्ण कामहरु के–के छन् ?

— हाम्रो पालिका राज्यको केही तथ्यांकहरुमा पछाडि परेको छ । तर, सम्भावना र स्रोतको दृष्टिकोणले परिपूर्ण छ । ती सम्भावना र स्रोतहरुलाई परिचालित गरेर अगाडि बढाउनुपर्ने हुन्छ । हाम्रो प्राथमिकीकरणमा शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार, कृषि र स्वरोजगार सिर्जना गर्ने रहेको छ । कृषि पेशा व्यवसायीकरण हुन सकेन । यसलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ, कसरी उत्पादन बढाउन सकिन्छ भन्ने विषयहरुलाई हामीले प्राथमिकतामा राखेका छौं ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ