‘मुख्यमन्त्री लालबाबु राउत र उपेन्द्र यादवले मधेश आन्दोलनका शहीदको अपमान गरे’

अन्तर्वार्ता

7/1/2021

० तपाइँ लगायत पूर्वराजपाका चार जना मन्त्रीलाई प्रदेश सरकारबाट मुख्यमन्त्री हटाएपछि आलोचना मात्रै गर्दै हुनुहुन्छ । सरकारबाट निकालिँदाको रिस पोख्नुभएको हो ?

— त्यस्तो रिसराग केही पनि होइन । हामी यो सरकारमा टाँसिरहनुपर्छ भन्ने प्रवृत्ति पनि छैन । मुख्यतः नेपाली कांग्रेसले मधेश, आदिवासी जनजाति, महिला विरोधी संविधान ल्यायो । त्यो संविधानको विरुद्धमा मधेशमा आन्दोलन भयो । त्यसमा मधेशी गठबन्धन आन्दोलनरत् थियो र पछि त्यहीं मधेशी गठबन्धन चुनावमा पनि गयो । मधेशी जनतामा आशा थियो कि तत्कालीन राजपा र फोरम मिलेर चुनावमा आएको छ, यसले अधिकार दिलाउँछ भन्ने थियो । हामीले पनि चुनावका बेला ‘अब की बार मधेश सरकार’ भन्ने वाचा गरेका थियौं, सोही अनुसार मधेशी जनताले मतदान पनि गरे । मधेशी गठबन्धनलाई जनताले सरकार बनाउने स्पष्ट बहुमत दिए । अहिले हाम्रो एउटै पार्टी, सिद्धान्त, कार्यदिशा छ । यसबीचमा हामीलाई मुख्यमन्त्रीले सरकारबाट पदमुक्त गर्नुभयो । यो ठूलो कुरा होइन । हामीलाई पत्र दिँदा पदमुक्त गरिएको लेखिएको थियो भने बाहिर बर्खास्त भनेर प्रचार गरियो । त्यसकारण मुख्यमन्त्री जुन शब्द प्रयोग गर्नुभयो त्यसप्रति मात्रै हाम्रो गुनासो हो । उहाँले मन्त्रिमण्डल पुनर्गठन भन्ने कुरा लेख्दा पनि हुन्थ्यो । अर्को कुरा जनमत पनि अनादर भयो । मुख्यमन्त्रीले जनमतको दुरुपयोग गर्नुभयो ।

० तपाइँहरुलाई हटाउँदा जनमत दुरुपयोग कसरी भयो त ?

— मधेशी जनताले दुवै मधेशवादी पार्टी एक भएर जाऊ, मधेशका मागहरु संस्थागत गर, शहीदको सपना पूरा गर भनेर पठाएका थिए । हामीसँग सुविधाजनक बहुमत छँदैछ, कांग्रेसलाई सरकारमा ल्याउन किन आवश्यक प¥यो ? कांग्रेस प्रदेश सरकारमा आउने बित्तिकै उट्पटाङ कार्यहरु गर्न सुरु गरिसकेको छ ।

० कांग्रेसका मन्त्रीहरुले के–कस्ता उट्पटाङ कार्यहरु गरिरहेका छन् त ?

— पहिलादेखि चल्दै आएको जनता आवास योजनालाई महेन्द्र नारायण निधि आवास योजना नामाकरण गरिदियो । मधेशका शहीदहरुको तस्वीरलाई मन्त्रालयबाट झिकेर कांग्रेसका नेताहरुको तस्वीर लगाइयो । यसले के देखाउँछ भने यो लालबाबुको सरकार मधेश आन्दोलन, शहीदको सपना, मधेशको गरिमा, प्रतिष्ठान सबैलाई अपमान गरेको छ । पार्टीभित्रको एउटा सानो कलहलाई लिएर कांग्रेससँग सौदाबाजी वा मधेशको मुद्दै समाप्त पार्ने हिसावले अगाडि बढिरहेको छ । त्यसप्रति हाम्रो असन्तुष्टि हो । त्यसकारण म विरोध गर्दैछु, अन्य कुनै कारण छैन । म नै सधैं मन्त्री हुनुपर्छ भन्ने छैन । मभन्दा पनि राम्रो काम गर्ने कुनै साथी हुनुहुन्छ भने हामीलाई खुशी नै लाग्छ तर जसपाकै साथी हुनुपर्दथ्यो । हाम्रो पार्टीमा ५५ जना सांसदहरु छन्, अहिलेसम्म १३ जनाले मात्रै अवसर पाएका छन् ।

० शहीदको तस्वीर हटाइएको छैन नि ?

— शहीदको तस्वीर राखिएको स्थानमा कांग्रेसका नेताहरुको तस्वीर किन राख्नुपर्ने ? शहीदका तस्वीरहरुले मन्त्रीलाई गाली गरिरहेको थियो र ? जसरी शहीदहरुको तस्वीरलाई अर्को ठाउँमा राखियो, त्यसरी कांग्रेसका नेताहरुको फोटोलाई अन्य ठाउँमा राख्दा के हुन्थ्यो त ? तर शहीदकै फोटो हटाएर त्यहीं ठाउँमा राख्नुपर्ने कुनै कारण नै थिएन ।

० कांग्रेसका नेताले आफ्नो पार्टीका नेताहरुलाई आफ्नो कार्यकक्षमा राख्न हुँदैन ?

— उहाँले आफ्नो शहीदको राखेको भए राम्रो हुन्थ्यो । तर नेताको फोटो राख्नुभएको छ । बीपी कोइराला अथवा महेन्द्रनारायण निधि शहीद होइनन् नि ।

० तर नेपाली राजनीतिमा बीप कोइराला वा महेन्द्रनारायण निधिको योगदान छैन त ?

— योगदान र शहादत फरक–फरक कुरा हो । शहीदको तुलना नेतासँग हुन सक्दैन । योगदानसँगै अवसर र लाभ सबै लिएका हुन्छन् नेताहरुले । शहीद भनेको सबैको हुन्छ । कांग्रेसले त्यसलाई अपमान गर्नुपर्ने कारण म देख्दिँन । त्यहीं शहीदको बलमा पाएको संघीयता हो । शहीदको प्रतिफलबाट प्राप्त संघीयताको मन्त्री बन्न लाज नलाग्ने अनि शहीद फोटो टाउकोमा हुँदा लाज लाग्ने ? त्यसकारणले यस्ता कार्यहरुले गर्दा मधेश आन्दोलन र मधेशका शहीदको अपमान हो । त्यसको दोषी मन्त्री रामसरोज यादवभन्दा बढी मुख्यमन्त्री लालबाबु राउत र उपेन्द्र यादव हुन् ।

० भनेपछि मुख्यमन्त्री लालबाबु राउत र तपाइँहरुको अध्यक्ष उपेन्द्र यादवकै मधेश आन्दोलनका शहीदहरुको अपमान भइरहेको छ ?

— उहाँहरुले नै कांग्रेसलाई यो सरकारमा ल्याउनुभएको हो । कांग्रेस आफैले निवेदन दिएर सरकारमा आएको त होइन । यो सरकारमा तपाइँहरुको खाँचो छ आउनुस् भनेर कांग्रेसलाई ल्याइएको हो ।

० भनेपछि प्रदेश २ को सरकारमा कांग्रेस वा अन्य दललाई ल्याउनै नहुने हो र ?

— किन ल्याउने ? जसपासँग बहुमत छँदैछ नि । जसपा सरकारको कार्यदिशामा संघीयता विराोधीलाई सरकारमा ल्याउने कतै पनि पर्दैन । संघीयता विरोधीलाई सरकारमा ल्याएर फेरि संघीयता मास्ने प्रयास भइरहेको छ । यी पार्टीहरु संघीयताप्रति कहिल्यै उद्दार भएनन् । तसर्थ संघीयता जसको देन हो, जसले संघीयता ल्याएको छ त्यो पार्टी सरकारमा भएपछि संघीयता संस्थागत गर्न सजिलो हुन्छ ।

० संघीयता र मधेश विरोधी, प्रतिगमनकारीहरुसँग केन्द्रमा तपाँइहरुले सहकार्य गर्न मिल्ने तर प्रदेशमा कांग्रेस वा माओवादीसँग सहकार्य गर्न नमिल्ने ?

— यहाँ बुझाईमा त्रुटि छ । प्रदेश नं. २ लाई केन्द्रसँग जोडेर हेर्न मिल्दैन । प्रदेश नं. २ संघीयताको जननी हो, यहाँ आन्दोलन भएको थियो र यहाँको आन्दोलनले संघीयता दिएको हो । यहाँ दुईटा पार्टीबीच गठबन्धन भएको हो, केन्द्रमा भएको होइन् । केन्द्रको सरकारमा जतिखेर उपेन्द्र यादव सहभागी हुनुभो, त्यतिबेला हामीले रोकका थियौं । त्यतिबेला उहाँले भन्नुभयो कि हाम्रो सहकार्य र गठबन्धन प्रदेश २ मा मात्रै छ, प्रदेश २ बाहेक हामी स्वतन्त्र छौं । त्यसकै फाइदा उठाएर उपेन्द्रजी १८ महिनासम्म ओलीको सरकारमा बस्नुभो । हामीले विरोध गरेनौं । त्यसकारणले प्रदेश २ र केन्द्रलाई दाँज्न मिलेन ।

० तपाइँहरुलाई प्रतिगमनकारी ओलीको मतियार भएकोले हटाइएको भन्नेसम्म तपाइँकै पार्टीका जिम्मेवार नेताहरुबाटै अभिव्यक्तिहरु आए नि ?

— हामी प्रतिगमनकारीका मतियार हौं भन्ने लाग्दैन । किनभने यही ओलीसँग उपेन्द्रजी १८ महिनासम्म सरकारमा बस्नुभो । त्यतिखेर ओली प्रतिगामी भएन । अर्को कुरा उपेन्द्रजी कगजमा लेखाएर सरकारमा जानुभएको थियो । तर हामी काम गराएर सरकारमा गएका थियौं ।

० जसपा जुन उद्देश्यका साथ निर्माण भएको थियो, त्यो पनि एक रहने सम्भावना क्षीण हुँदै गएको छ नि ?

— हामी अझै पनि आशावादी छौं । मधेशी जनताको चाहना, भावना जसपा एक रहोस् भन्ने नै हो । यद्यपि पार्टीभित्रको अवस्था सकारात्मक देखिएको छैन । हाम्रो कामना छ कि पार्टी नफुटोस् । भोली गएर यदि दुर्भावश पार्टी विभाजन भएपनि मधेशको सवालमा हामी एकजुट भएर काम गर्नुपर्छ । गालीगलौजभन्दा पनि सौहार्दपूर्ण वातावरणमा भोलीका लागि एउटा बाटो खुल्ला राखौं । अहिले पनि पार्टी फुटेको छैन । नेपाली राजनीतिमा चमत्कारहरु पनि भइरहेका हुन्छन् । हाम्रो पार्टी फुटेको छैन, अहिलेसम्म हामी सबै जना जसपामै छौं । जुन किसिमले उपेन्द्रजीहरुले पार्टीको आधिकारिकताको दाबी गर्नुभएको छ, त्यसले भोली पार्टी एक नरहला भन्ने किसिमको शंका छ । हामी कामना गरौं कि जसपा एक रहिरहोस् । मधेशी, आदिवासी जनजाति, सीमान्तकृत समुदायको आशा र भरोसाको केन्द्र जसपा हो । नेताहरुमा रहेका कमीकमजोरीहरुलाई सुधारौं । तर पार्टी एकता जरुरी छ ।

० यदि जसपा विभाजन भयो भने मुख्य दोषी को हुने ?

— हिजो पार्टी एकीकरण हुँदा त्यसको श्रेय महन्थ ठाकुर र उपेन्द्र यादवलाई गएको थियो भने यदि पार्टी फुट्यो भने त्यसको अपजस पनि ती दुई नेतालाई नै जान्छ ।

० उपेन्द्र यादवले पूर्वराजपाका नेताहरुमाथि भारतपरस्तको आरोप पनि लगाउनुभएको छ नि ?

— भारत हाम्रो मित्र हो, हामी भारत विरोधी छैनौं । भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ । त्यसकारणले कसैले आरोप लगाउँदैमा त्यो सम्बन्ध टुट्नेवाला छैन । हामीप्रति उहाँले त्यस्तो आरोप नलगाउनुपर्ने हो । त्यसकारण उहाँले त्यस्तो अभिव्यक्ति नदिनुपर्ने थियो । उहाँबाट गल्ती भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ