राम मनोहरको शव २२ दिनदेखि अस्पतालमै, अन्तर्राष्ट्रियस्तरमा मुद्दा चलाउने चेतावनी

सीके राउत भन्छन्, ‘धैर्यताको बाँध टुट्दैछ’

राजनीति

9/21/2018

काठमाडौं, ५ असोज । स्वतन्त्र मधेश गठबन्धनका बाँकेका नेता राम मनोहर यादवको प्रहरी हिरासतमा मृत्यु भएको आज २२ दिन पुग्दा पनि उनको शवको पोष्टमार्टम गरिएको छैन । उनको शव अहिलेसम्म अस्पतालमै राखिएको छ ।

मृत्यु भएको तीन हप्ता भइसक्दा पनि उनको शवको पोष्टमार्टम नहुनु र सम्बन्धित पक्षले यसबारे कुनै जवाफ नदिनु आफैमा शंकास्पद देखिएको छ । गठबन्धनले प्रहरीको यातनाका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् ।

पोष्टमार्टममा ढिलाई हुँदा विभिन्न मानव अधिकारवादी संघसंस्था तथा बुद्धिजीबीहरुले अविलम्ब पोष्टमार्टम गरी शव पीडित परिवारलई बुझाउने र छानबिन गर्नुपर्ने माग गर्दै आएका छन् । यता, प्रधानमन्त्री, गृहमन्त्री लगायत विभिन्न सरोकारवालाहरुलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।

धैर्यताको बाँध टुट्दैछ : सीके राउत

गठबन्धनका संयोजक डा. सीके राउतले राम मनोहर यादवको मृत्यु भएको २२ भइसक्दा पनि पोष्टमार्टम नहुनुले धैयर्ताको बाँध टुट्दै गइरहेको बताएका छन् । राम मनोहरको नेपाल प्रहरीले मारेको उनले आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राममनोहर यादवलाई यदि यहाँ न्याय प्राप्त भएन, उल्टा हाम्रो गिरफ्तारी र दमन जारी रह्यो भने, भू.पू. तथा वर्तमान प्रधानमंत्री, गृहमंत्री तथा आईजीपीदेखि लिएर सीडियो र एसीसमेतविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा मुद्दा चल्छ । उहाँहरुको विदेश भ्रमण अप्ठ्यारोमा पर्न सक्छ ।’

सिंगापुर, थाइलैण्ड, बेलायत र संयुक्त राज्य अमेरिका सहितका देशमा विभिन्न अन्तर्राष्ट्रिय निकायको अग्रतामा मुद्दा दिने तैयारी भइसकेको डा. राउतले खुलासा गरेका छन् ।

अन्तराष्ट्रिय क्रिमिनल कोर्टका लागि पनि थप मुद्दासँग जोड्दै केस अगाडी बढाउने पहल पहल भइरहेको उनले उल्लेख गरेका छन् । उनले दाबी गरेका छन्, ‘गठबन्धनका संयोजक सहितका नेता वा कार्यकर्तालाई पक्राऊ गर्दैमा यो रोकिन्न ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ