० जसपा गठन भएको वर्ष दिन नपुग्दै विभाजनको संघारमा पुगेको छ । अहिले पनि पार्टीमा विवाद छ । के पार्टी विभाजन हुन लागेको हो ?
— बाहिर हल्ला चलेको जस्तो पार्टीमा अहिले त्यस्तो देखिएको छैन । बाहिर समाचार माध्यमहरूमा बढी नै यो कुरा आएको छ । खास गरी शीर्ष नेताहरूमा ‘अन्डरस्टान्डिङ’को समस्या अलिकति दखिएको छ । त्यसले गर्दा केही कुरा भएको छ । तर, पार्टी फुट्ने स्थितिमा पुगेको छैन । त्यस्तो हामीले देखेका छैनौँ । त्यो स्थिति आइपुगेको छैन ।
० जसपाका नेताहरूले सञ्चारमाध्यमहरूमा दिएको अभिव्यक्तिबाट पनि पार्टीभित्र सबै कुरा ठिक छैन भन्ने देखाउँछ नि ?
— अहिले विशेष गरी भट्टराईजी (डा.बाबुराम भट्टराई) र उपेन्द्रजी (उपेन्द्र यादव) को कुरा आएको छ । उहाँहरूले मिडियामा त्यस्तो केही बोल्नुभएको छैन । उहाँसँग लागेका केही साथीहरूले कहिलेकाहीँ चर्को कुरा गर्नु हुन्छ । नेताहरूबाट यस्तो कुरा सार्वजनिक रूपमा आएको छैन । उहाँहरू त्यो स्थितिमा पुगिसक्नुभएको छैन । तर, केही नेताहरू मिडियामा बोलेको देखिन्छ ।
० अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच खास के विवाद हो ? सैद्धान्तिक विवाद हो कि जुँगाको लडाईँ हो ?
— यो अलिकति सैद्धान्तिक पनि हो । पार्टीमा महन्थ ठाकुर रहेका बेला कार्यकारिणी दुई जनाको व्यवस्था विधानमा छ । त्यस्तै, एक पद एक व्यक्तिको व्यवस्था पनि विधानमा छ । विधानको यो व्यवस्था मूल जीवन हो । त्यसमा अलिकति फरक छ । अध्यक्ष उपेन्द्रजी र केही साथीहरूको के मान्यता छ भने पार्टी सामूहिक कार्यकारिणी अध्यक्षको स्थितिमा गयो भने निर्णय गर्न साह्रै अप्ठ्यारो हुन्छ । पार्टीलाई समस्या हुन्छ । त्यसैले एउटै अध्यक्ष रहनुपर्छ । दुई कार्यकारिणी अध्यक्ष राख्नु हुँदैन । र, उहाँ (डा. भट्टराई) संघीय अध्यक्ष हुनुहुन्छ । अब साथीहरूले एक व्यक्ति एक पदको कुरा गरिरहेका छन् । तर, यो कुरा बाबुरामजीलाई उपयुक्त लागिरहेको छैन । उहाँको भनाइ के छ भने अहिले यसो नगरौँ । एक व्यक्ति एक पद गर्दा उहाँहरूलाई अप्ठ्यारो लागिरहेको छ । यही कुरामा अलि डिफरेन्सेज आएको छ । एउटा समूहको सोच के छ भने पार्टीमा एउटै व्यक्ति कार्यकारिणी हुँदा राम्रो हुन्छ । अर्को समूहको सोच यस्तो गर्नुहुँदैन भनने छ । अरु खास इस्यू छैन । यसबाहेक कुरा गर्ने हो, कसैलाई मन्त्री बन्ने स्वार्थ हुन सक्छ । यो कुरा त सबै पार्टीमा चलिरहन्छ ।
० उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच जुँगाको लडाइँ हो ?
— होइन । यसलाई जुँगाको लडाईँ नभनौँ । यो सैद्धान्तिक कुरा हो । पार्टी नयाँ दृष्टिकोण लिएर स्थापित भएको हो । उपेन्द्रजी र उहाँका कार्यकर्ता आन्दोलनबाट आएका हुन् । बेग्लै आन्दोलनबाट आएका हौँ । अर्को पक्ष भट्टराई हुनुहुन्छ, उहाँ अर्को सोचबाट अगाडि बढ्नुभएको हो । अर्को आन्दोलनबाट आउनुभएको हो । हामी एक ठाउँमा आउँदाखेरि केही डिफरेन्सेज हुनु स्वभाविक हो । यस्तो कुरा चलिरहन्छ । यो समस्याको समाधान पार्टीमा बैठक गरेर हुन्छ । एक किसिमले जीवन्त पार्टीको लागि यो कुरा राम्रै हो । सिद्धान्त फरक मत राख्नु कुनै ठूलो कुरा होइन । त्यो डिफरेन्सले गर्दा पार्टी नै फुट्छ जस्तो मलाई लाग्दैन । यो कुरामा बृहत् चर्चा हुनुपर्छ ।
० भनेपछि यो विवादले विभाजन निम्त्याउँदैन ?
— निम्त्याउँदैन । हामीले देखेअनुसार र अनुभव गरेअनुसार त्यहाँसम्म पुगिसकेका छैनौँ ।
० कार्यकारीको विषयमा मात्र विवाद हो ?
— सुरुमा बाबुरामजी आउँदाखेरि हाम्रो अन्डरस्ट्यान्डिङ क्लियर थियो । उहाँ संघीय परिषद्को अध्यक्ष र उपेन्द्रजी कार्यकारिणी अध्यक्ष भनेर क्लियर अन्डर स्ट्याण्डिङ नै थियो । अब महन्थजी आउँदाखेरि दुई कार्यकारिणी अध्यक्षको प्रणाली लागू भएको थियो । विधानमा त्यसरी संशोधन गर्नुप¥यो । उहाँ गएपछि हाम्रो एकल अध्यक्ष हुनुहुन्छ । दुई अध्यक्ष हुँदा आउने समस्याहरू हामीले देखेका थियौँ । यो समस्या हामीले झेल्यौँ, हाम्रा कार्यकर्ताले झेले । त्यहि भएर एउटा समूहमा स्पष्ट सोच छ कि दुई जना कार्यकारिणीमा नराखौँ । यो विषयमा हामीले पार्टीको महाधिवेशनमा छलफल गरौँला । महाधिवेशनबाट आउने निर्णयअनुसार अगाडि बढौँला । अहिलेलाई उहाँहरू आ–आफ्नो पदअनुसार नै जानुपर्छ । हामीले एकदमै छिटो एक व्यक्ति एक पदको नीति अवलम्बन गर्नुपर्छ । यस्तो भयो भने हामीले धेरै कार्यकर्तालाई पार्टीको क्रियाकलापमा सहभागी गराउन सक्छौँ । यसले गर्दा पार्टीलाई मजबुत बनाउन सहयोग गर्छ । यो नै हाम्रो सोच हो । यही कुराहरू चलिरहेका छन् ।
० एकल अध्यक्ष हुँदा एकलौटी निर्णय गर्ने आरोप उपेन्द्र यादवमाथि लाग्दै आएको छ । जसले गर्दा उहाँ नेतृत्वको पार्टी पटकपटक फुटकै छ । यस्तो नहोस् भनेर पनि भट्टराई पक्षले यो माग गरेको हुन सक्छ नि ?
— होइन । त्यो बहाना मात्र हो । केही महिनाअघि केन्द्रीय कमिटी र संघीय परिषद्को बैठक भएको थियो । केन्द्रीय कमिटीको बैठकले केन्द्रीय समितिको बैठक नचलेको अवस्थामा तीन जना नेता बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईको पयारामिड नै बनाएका थियौँ । उहाँहरूको सामूहिक निर्णयबाट यो पार्टी चल्ने हो । कुनै कुरा हुँदा तीन जनाको सहमतिबाट हुने गरी जिम्मेवारी दिइएको थियो । तीन जनाको सामूहिक निर्णयबाट पार्टीलाई अगाडि बढाउने हो । यस्तो निर्णय भएको अवस्थामा उहाँ एकल निर्णय लिएर जानु हुन्छ जस्तो मलाई लाग्दैन । बाबुराम भट्टराई र अशोकजी कसैले यो विषय उठाउनुभएको छैन । भनेपछि कसरी हामीले उपेन्द्रजीलाई दोष दिने ? तीन जनाको केन्द्रीय कार्यकारिणी समिति बनिसकेको अवस्थामा बैठकहरू डाक्ने अधिकार उहाँलाई पनि छ । डा. भट्टराई संघीय परिषद्को अध्यक्ष हुनुहुन्छ । यदि उपेन्द्रजी यस्तो गर्नुभएको छ भने कुन दिन उहाँहरू बस्नुभयो ? कुन बैठकमा उपेन्द्रजीले एक्लै निर्णय गर्नुभयो ? उपेन्द्रजीले एक्लै निर्णय गर्नुभयो, हामीहरूलाई राख्नु भएन भनेर उहाँहरूले भन्नुभएको छैन । यदि कुनै निर्णय भएको छ भने तीनै जना दोषी हो । यसमा एक जनालाई दोष दिन मिल्दैन । त्यसैले यो विषयलाई उठान गर्नु त्यति उपयुक्त हुँदैन । तीनै जना एउटै स्तरका नेता हुन् । स्टाटसको कुरा गर्ने हो भने भट्टराईजी त्यही स्तरका नेता हुनुहुन्छ । हो, काम गर्दा हामीले काम छुट्याएका छौँ । तपाईँ संघीय परिषद्को अध्यक्ष हुनुहुन्छ । तपाईँ दैनिक कार्य हेर्ने अध्यक्ष हुनुहुन्छ । तपाईँ वरिष्ठ नेता हुनुहुन्छ । तपाईँलाई थाहै होला हामी चुनावमा जाँदा उम्मेदवार छनौट र सही गर्ने अधिकार वरिष्ठ नेतालाई दिएका थियौँ । अशोक राईजीलाई दिएका थियौँ ।
० तर, दुई तीन दिनअघि मात्र कार्यकारिणी समितिको बैठक बसेको थियो । त्यसमा मन्त्री हेरफेर गर्ने, स्पष्टीकरण सोध्नेलगायत निर्णयहरू गरिएको थियो । त्यो बैठकमा उपेन्द्र यादव पक्षका व्यक्तिहरू मात्र उपस्थिति भएको बताइन्छ नि ?
— त्यसमा उपेन्द्रजी भन्दा बढी दोषी भट्टराईजी हो । किन भने भट्टराईजीले यो बीचमा सदस्यहरूको हस्ताक्षर नै गराउन थाल्नुभयो । कसैलाई उहाँले मन्त्री बनाइदिने त कसैलाई के बनाइदिने भन्नुभयो । त्यसैले यो कार्यमा उहाँको समूह हो कि भट्टराईजी आफैँ संलग्न हुनुहुन्छ, त्यो कुरा बाहिर आइसकेको छैन । तर, भट्टराई पक्षका व्यक्तिहरूले हस्ताक्षर गराउनेलगायत काम गरेका छन् । जसले गर्दा पार्टीमा अलिकति विवाद देखियो । त्यो विवाद साम्य पार्न कार्यकारिणी अधिकार रहेको अध्यक्ष उपेन्द्रजीले बैठक बोलाउनुभयो । बैठकले सर्वसम्मतिमा निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया