उपचार र जिविकोपार्जनका लागि नगरपालिकाद्वारा सहयोग

समाचार

10/7/2018

जलेश्वर, २१ असोज । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले उपचारबाट बन्चित एक महिलालाई २५ हजार नगद सहयोग गरेको छ ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले उपचारबाट बन्चित मटिहानी नगरपालिका वडा नं. २ बरदाहा बस्ने नथुनी यादवकी पत्नी फुलकुमारी देवीलाई २५ हजार नगद दिएर सहयोग गरेका हुन् ।

स्थानीयबासीहरुले घरमा कमाउने व्यक्ति कोही नभएको तथा रकम अभावमा उपचारबाट बन्चित भइरहेको खबर गरेपछि मेयर मण्डलले नगरपालिकाको तर्फबाट सो रकम प्रदान गरेका हुन् । उनले पति ९ महिना अगाडी वितेपछि आफैले काम गरेर एक छोरा र एकछोरीलाई पालनपोषण गर्ने फुलकुमारी आफै अहिले पारालाइसिसले गलेपछि सहयोग गरिएको बताए ।

घरमा कमाउने व्यक्ति नै विरामी भएपछि उनीहरुको अहिले अवस्था नाजुक बनेको बताउँदै मेयर मण्डलले अन्यलाई पनि सहयोग गर्न आव्हान गरे । घरमै पुगेर रकम प्रदान गर्दै उनले यो रकमले उपचार तथा सम्भव भए जिविकोपार्जनको लागि केही गर्न सुझाव दिँदै अन्य सहयोगको लागि आफू हरसम्भव प्रयास गर्ने बताए ।

सोही ठाउँका स्थानीय शिक्षक सुरेन्द्र यादवले १२ वर्षिय छोरी र ८ वर्षिय छोराकी आमा रहेकी फुलकुमारी आफै थला परेपछि गुजाराको लागि माँग्नु परिरहेको बताउँदै सबैलाई सहयोग गर्न आग्रह गरे । उनले मेयरले गरेको कामको प्रशंसा गर्दै अन्य परोपकारी व्यक्ति, संघसंस्थाहरुले पनि छोरा वा छोरीलाई जिविकोपार्जनका लागि सहयोग गरे राम्रो हुने बताए ।

फुलकुमारीसँग न त जग्गा छ, न त आफ्नु भन्ने कुनै घर नै । जुन घरमा अहिले उनी बसिरहेकी छन् त्यो पनि महाजनको रहेको छ र महाजनले व्यावहारिक रुपमा उनलाई घरमा बस्न दिएको बताउँदै शिक्षक सुरेन्द्रले ‘महिलालाई नागरिकता नभएपछि हामी छिमेकीहरु दुई दिन अगाडी मात्रै नागरिकता बनाइदिएको बताए ।

छोराछोरीहरुलाई पढने उमेरमा मेहनत, मजदुरी गर्नुपरिरहेको बताउँदै उनले महिलाको उपचार र जिविकोपार्जनको व्यवस्था भए राम्रो हुने जिकिर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ