काठमाडौं, २ जेठ । बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानीको मोडालिटी आगामी महिना भारतमा आयोजना हुने नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले टुंगो लगाउने भएको छ ।
नेपाललाई अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत दिन लागेको ५० करोड अमेरिकी डलरमध्ये ठूलो हिस्सा खर्च हुने प्रसारणलाइन परियोजनाका लागि बुटवल–गोरखपुर (नेपाल–भारत) अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढ्नुपर्ने हुन्छ ।
नेपाल र भारतका अधिकारीलाई वार्तामा सहजीकरणका लागि अमेरिकी ऊर्जा मन्त्रालय मातहतको ‘नेसनल रिनेवल इनर्जी ल्याब्रोटोरी’ ले नेपाल–भारत विद्युत् व्यापार अवसरका सम्बन्धमा अध्ययन गरेको छ ।
भारतले विद्युत् क्षेत्रमा सुधारका लागि थालेको कदमले उपक्षेत्रीय र क्षेत्रीय तहमा विद्युत् व्यापारबाट नेपाल लाभान्वित हुने उनको भनाइ छ ।
अमेरिकाले एमसीसी सहयोग अन्तर्गत ३ सय किमि उच्च क्षमताको प्रसारण लाइन निर्माणका लागि अनुदान सहयोग दिने भएको छ । ३ सय ५ किमि सडक स्तरोन्नति र ४ सय केभी क्षमताको प्रसारणलाइन हेटौंडा–गल्छी–दमौली–सुनवलसम्म निर्माण हुँदैछ ।
यही उच्च क्षमताको प्रसारणलाइन उच्च क्षमताको बुटवल–गोरखपुर प्रसारणलाइनमा जोडिएपछि नेपालमा उच्च क्षमताको प्रसारणलाइनको राजमार्ग तयार हुनेछ। यसले विद्युत् व्यापारलाई सहजीकरण गर्नेछ ।
तपाईको प्रतिक्रिया