दाइजो लिएर छोराको विहे गरेमा कुष्ठ रोग हुनेछ : राज्यमन्त्री यादव

समाचार

2/18/2019

रौतहट, ६ फागुन । प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले आफ्नो छोरीको बालविवाह नगर्ने तथा छोराको विहे विना कुनै दाइजोको गर्ने संकल्प नलिएसम्म छोरीको जीवन सुरक्षित हुन नसक्ने बताएका छन् ।

रौतहटको राजदेवी नगरपालिका ७ स्थित नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालयमा राजदेवी नगरपालिकाले आयोजना गरेको बाल विवाह विरुद्ध संकल्प तथा मालिका फिल्म प्रदर्शन कार्यक्रममा प्रमुख आतिथिको आसन्नबाट सम्बोधन गर्दै राज्यमन्त्री यादवले राजनीतिक दलका जिम्मेवार व्यक्ति, सम्पन्न व्यक्तिले बाल विवाह, दाइजो प्रथाको अन्त्य गर्ने कसम नखाएसम्म यी सामाजिक विकृतिको अन्त्य नहुने ठोकूवा गरे ।

प्रदेश सरकारले बेटीलाई पढाउनु र बेटीलाइ बचाउनु पर्ने स्पस्ट धारणा लिएर अघि बढिरहेको बताउँदै रेखा थापा फाउण्डेशनले पनि बाल विवाह, दाइजो प्रथा अन्त्य गर्नु पर्ने उद्देश्य बोकेर सहकार्य गर्दै गइरहेको बताए । उनले भने दाइजो लिएर छोराको विहे गरेमा कुष्ठ रोग हुनेछ ।

कुष्ठ रोग जस्तो रोग कुनै अरु रोग नभएको र समयमा उपचार नगरे शरीरलाइ कुरूप पर्ने हुने भएको उदाहरण दिँदै राजयमन्त्रीले बाल विबाह र दाइजो प्रथा कुष्ठ रोग जस्तै नै भएको तर्क दिए । राज्यमन्त्री यादवले आफ्नो छोरीको बाल विबाह तथा छोराको दाइजो विनाको आदर्श विबाह गर्ने उद्घोष गरेका छन् ।

आफूले पहिलो कसम लिँदै स्थानीय सरकारका प्रमुखले शुरूआत गर्नु पर्ने धारणा राखे । गर्भाअवस्थामा भ्रुण हत्या गराउन ५० हजार भन्दा बढी खर्च गर्नु ठूलो पाप भएको ठहर गरे ।

२०–२० लाख दाइजो लिने लोभ त्याग गर्नु पर्छ भन्दै राज्यमन्त्री यादवले बाल विबाह दलित समुदायमा बढी देखिएकोले जनचेतनामूलक कार्यक्रम उनै समुदायलाई लक्षित गरी सञ्चालन गर्नु पर्ने सुझाव समेत दिए ।

भ्रुण हत्या नियन्त्रण गर्नका लागि प्रदेश सरकारले जेल सजाय बढी हुने गरी कानून ल्याउन लागेकोले यस्तो गर्ने व्यक्तिलाई कडा कार्यवाही हुने चेतावनी दिए । संसारकै विभिन्न जगहमा देश नेतृत्व महिलाहरुले गरी रहेको हुँदा छोरी पनि शक्तिशाली हुन् भनी सबैले बुझ्नु पर्ने प्रस्ट पारे ।

कार्यक्रममा गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले संसारमा सबैभन्दा विभेद हुने लिंग नै महिला भएको बताएका छन् ।

संसारमा परिवर्तन हुने क्रम जारी रहेकोले महिलालाई लिंगको आधारमा गरिने विभेदलाइ अन्त्य गर्नु पर्ने आजको आवश्यकता भएको औल्याए । मेयर गुप्ताले छोरीले छोरासरह गर्न सकिने आत्म बाल देखाउनु जरुरी रहेको बताए ।

छोरीहरुले विभिन्न क्षेत्रमा कला क्षेत्र, खेलकूद, राजनीतिक मंच, संगीत लगायतका क्षेत्रमा छोरीहरु आफ्ना प्रतिभा देखाउँदै आएको जिकिर गर्दै चाँडै नै हाम्रा छोरीहरु बलियो हुने विश्वास व्यक्त गरे ।

१० वर्ष पहिलाको महिलाको अवस्था अहिले परिवर्तन भएको बताउँदै मेयर गुप्ताले रेखा थापाको अभियान सामाजिक विकासका निमितको लडाई रहेकोले सबैले सहयोग गर्नु पर्ने धारणा व्यक्त गरे ।

छोरीको निम्ती स्वर्णिम नेपाल महाअभियानका अभियन्ता तथा रेखा थापा फाउंडेशनका सस्थापक अध्यक्ष अभिनेत्री रेखा थापाले मधेशकी छोरी शक्तिस्वरूपा भएको बताएकी छन् । माता सीताको जन्म पनि मधेशमा नै भएको उदाहरण दिँदै महिला भित्रको डर र लाज एउटा कमजोरी भएको बताइन् ।

महिला शशक्त हुनु पर्ने उनको भनाइ रहेको छ । सामाजिक विकृति विसंगतिको डटेर सामना गर्नु पर्ने आग्रह गर्दै अभिनेत्री थापाले छोरी विक्री हुने बस्तु नभएको टिप्पणी गरिन् । उनले भनिन्, हाम्रो चाहना छोरी सशक्तिकरण, बलियो, आत्मरक्षा गर्न सकिने खालको हुनु पर्ने हो । छोरीलाइ उच्च स्वरमा बोल्नु हुँदैन, एक्लै हिंड्नु पर्देन, कसैसँग जानू पर्देन, घरमा बस्नु पर्ने, खाना बनाउनु पर्ने, छोरा जस्तो लुगा लगाउनु नपर्ने सोच अन्धविश्वास मात्रै रहेको ठहर गरे ।

रामेश्वर प्रसाद यादवको सभापतित्वमा कार्यक्रममा राजपुर नगरपालिकाका प्रमुख मोहमद सकिल अख्तर, राजदेवी नगरपालिका उपप्रमुख अंशु कुमारी सिंह, पूर्वसभासद रम्भा देवी यादव, नेपाली कांग्रेसका चिरंजीवी प्रसाद सिंह, संघीय समाजवादी महिला फोरमका जिल्ला अध्यक्ष शोभा देवी साह प्राध्यानध्यापक रविशंकर प्रसाद यादव, समाजसेवी हरेन्द्र प्रसाद यादव लगायतका विद्यालयका शिक्षक शिक्षिका, बालिकाहरु सहभागी भएका थिए । कार्यक्रममा सहभागी हुन गएकी नायिका थापालाइ विद्यालयमा विद्यार्थीहरुले भव्य रुपमा स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ