काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको बताएका छन् ।
एक वर्षको नीति कार्यक्रम भए पनि दूरगामी कार्यक्रम राखेर ल्याइएको प्रधानमन्त्रीको भनाइ छ । “आगामी एक वर्ष, चार, पाँच र २५ वर्षसम्मको दूरगामी लक्ष्य राखेर ल्याइएको हो,” वार्षिक नीति तथा कार्यक्रममा छलफलमा उठेका प्र्रश्नहरुको प्रतिनिधिसभामा मंगलबार जवाफ दिँदै प्रधानमन्त्रीले भने, “अग्रगामी सोचसहित ल्याइएको हो ।”
प्रधानमन्त्रीले नीति तथा कार्यक्रमले सपनामात्र होइन संकल्प र अठोट पनि लिएको उल्लेख गरे । “कतिपय साथीहरुलाई सपना रातिमात्रै देखिने भन्ने पनि लागेको छ, यहाँ सपनाको कुरा गरेको राति देखिने होइन, यहाँ देश बनाउने सपना हो,” उनले भने, “सहिदको सपना पूरा गर्ने भनेको निदाएर घुरेर देखिने सपनामात्र होइन ।”
प्रधानमन्त्रीले लोकतन्त्रका संस्थाहरु, जनप्रतिनिधिको सम्मान बढाउने र अग्रगामी सोचसहित नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गरे ।
बहुमत आफँैमा स्थिरता र स्थायित्व नहुने बताउँदै उनले योजना र नीतिले त्यसलाई स्थायित्व दिलाउने उल्लेख गरे । नीति तथा कार्यक्रममा विपक्षी दलले असावधानीवस शब्द प्रयोग गरेको प्रधानमन्त्रीको भनाइ छ ।
“आलोचनाको कुनै ठाउँ रहेनछ, सुन्दर निबन्धजस्तो छ भने एक मित्रले, यसमा धेरै केही भन्नु छैन नीति कार्यक्रम आलोचना रहेनछ, त्यही भएर निबन्ध भनेर टुंगो लगाइदिनुभएछ,” उनको भनाइ छ, “असावधानीसाथ शब्द प्रयोग गर्नुभएजस्तो लाग्छ, योजनाबद्ध छैन, खोक्रो छ भनेर । लामो हुन सक्छ, सविस्तार हुन सक्छ । तर, सबै पनि छ । केही पनि छैन भनेको के ?”
तपाईको प्रतिक्रिया