पञ्चेश्वर बहुद्देश्यीय आयोजना कार्यान्वयनबारे नेपाल–भारतबीच छलफल

समाचार

3/4/2019

काठमाडौं, १६ फागुन । पञ्चेश्वर बहुद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा नेपाल र भारतका विज्ञ समूहबीच काठमाडौंमा छलफल सुरु भएको छ ।

लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मै अल्झिएको आयोजनामा देखिएका समस्या समाधान गरी अघि बढाउने प्रयासस्वरुप विज्ञ समूहबीच छलफल सुरु भएको हो । दुई दिन चल्ने छलफलमा दुई देशले निर्माण गरेको विज्ञ समूहका १५–१५ जनाको सहभागिता छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयले आयोजना गरेको संयुक्त तेस्रो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व देवेन्द्र कार्की र भारतको तर्फबाट विज्ञ समूहका प्रमुख महसुस हुसेनले गरेका छन् ।

नेपाल तथा भारत सरकारबीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजना सम्बन्धमा २०५२ माघ २९ गते सन्धि सम्पन्न भएपछि सो आयोजना द्वि–राष्ट्रिय लगानीमा संयुक्त रुपमा सञ्चालन गर्ने निर्णय भएको थियो ।

२०६६ मंसिर ९ मा भएको दुवै देशको जलस्रोत मन्त्रालयअन्तर्गतको संयुक्त समितिको बैठकमा पञ्चेश्वर विकास प्राधिकरण गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ