रौतहट, २६ जेठ । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलले निमित्त प्रमुख प्रशासकीय अधिकृत र नेपाल कम्युनिस्ट पार्टीका निर्वाचित जनप्रतिनिधिको कारण नगरपालिकाको कार्य अस्तव्यस्त भएको बताएका छन् ।
सदरमुकाम गौरस्थित निवासमा पत्रकार सम्मलेन आयोजना गरेर नगर प्रमुख पटेलले एउटा उपमेयर र ६ जना वडा अध्यक्ष रहेको नेकपाका नेताको इशारामा नगरपालिकालाई बन्धक बनाएको आरोप लगाएका छन् ।
मेयर पटेलले भने, ‘निर्वाचित विपक्षी दलका वडा अध्यक्षहरुले बजेट दिए नगर सभाको समर्थन गर्ने भन्दै बार्गेनिङ्ग गर्ने गरेको छ । वडा सदस्यले पनि वडा अध्यक्ष जस्तै बजेटको सेलिंग पाउनु पर्ने भन्दै आएको बताए ।
बैशाख ६ गतेमा चालू आर्थिक वर्षको नगर सभा भए पनि निमित प्रमुख प्रशासकीय अधिकृत मनोज रजकको असहयोगको कारण अहिलेसम्म बन्द सत्रको प्रक्रिया पूरा नभएको उल्लेख गरे । जनताको प्रतिनिधि भएको कारण विकास निर्माणको योजना समयमा सञ्चालन हुनु पर्ने हो भन्दै आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न अदृश्य शक्तिले कार्य गर्न बाधा पुर्याएको उनले बताए ।
नेकपाका प्रतिनिधिसभा सदस्य प्रभु साहलाई इंगित गर्दै मेयर पटेलले कटाक्ष गरे, ‘आफूलाई विकासप्रेमी भनाउने र विकासको कार्यमा बाधा पुर्याउने ?’
आफु अनुपस्थित भएको मौका छोपी उपमेयर र प्रमुख प्रशासकीय अधिकृत रजक मिलेर रजिस्टरमा कार्यपालिका सदस्यसँग हस्ताक्षर गराएको दावी गरे ।
एउटा स्थानीय तहमा एक जना उपसचिव बस्नु पर्नेमा पार्टीको बलमा रजकलाई २ बटा स्थानीय तहको जिम्मेवारी दिएको टिपण्णी गरे । उनले कसैलाई जानकारी नदिई १ करोड १२ लाखको टेण्डर गरेको बताए । संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत आएको सशर्त अनुदानको रकमको टेण्डर गरिएको बताए ।
बौद्धिमाई नगरपालिकाका अमर साह अध्यक्ष भएको संस्थाले देवाही गोनाही नगरपालिकामा मधेश सांस्कृतिक संग्रहालय निर्माण गर्न लागिएको टिपण्णी गर्दै जुन ठाउँमा योजना कार्यान्वयन हुनेछन् त्यसै ठाउँको व्यक्ति हुनु पर्ने जिकिर गरे ।
मेयर पटेलले तल र माथि नेकपाको मंत्रालय रहेकोले काम काज प्रभावित बनाउने खेल शुरू गरेको आरोप समेत लगाए । मनोज रजकको सरुवा गर्न मन्त्रालयलाई पटक पटक आग्रह गर्दा पनि कुनै चासो नलिएको गुनासो गर्दै विकासबाट बंचित गराई रकम फ्रिज गराउने नेकपाका नेताको खेलको विरुद्ध स्थानीय समाजसेवी, संचारकर्मीहरुलाई आवाज उठाइदिन आग्रह समेत गरे ।
नगरपालिकाको बन्धक बनाएर राख्ने खेल निन्दनीय रहेको आलोचना गर्दै जनताको विकासको कार्य गर्न सहज बातावरण बनाउन अपील समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया