काठमाडौं, ७ मंसिर । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस बर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गर्ने निर्णय गरेको छ ।
रु.पाँचलाख राशीको उक्त पुरस्कार जनही रु.दुई लाख पचास हजारका दरले प्रदान गरिनेछ ।
लामो समयदेखि पत्रकारितामा संलग्न रहेका पत्रकार देवकोटा छापा पत्रकारितामार्फत नयाँ ढाँचामा समाचार सामग्री सम्प्रेषण गर्दै आएको नयाँ पत्रिका दैनिकका प्रधान सम्पादकको रुपमा रहेका छन् ।
त्यस्तै पत्रकार बराल अनलाइन सञ्चारमाध्यमको रुपमा आफ्नो छुट्टै छवि बनाउन सफल अनलाइनखबर डटकमका सम्पादक हुन् ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्य सचिव रहेको पुरस्कार छनौट समितिको बैठकले उक्त पुरस्कार अग्रज पत्रकारहरुको उपस्थितिमा यही मंसिर २४ गते प्रदान गर्ने निर्णय गरेको काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले जनाएका छन् ।
तपाईको प्रतिक्रिया