महायज्ञले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्छ : सांसद यादव

समाचार

6/5/2019

वीरगंज, २२ जेठ । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रदिप यादवले विधिपूर्वक हुने पूजापाठ तथा महायज्ञले समाजमा शान्ति ल्याउनुका साथै सकारात्मक ऊर्जा प्रदान गर्ने बताएका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा मंगलबारदेखि सुरु भएको श्री शिवशक्ती रुद्र महायज्ञको उद्घाटन गर्दै सांसद यादवले धार्मिक विधिविधानअनुसार हुने पूजापाठ तथा महायज्ञले देशमा सुख शान्ति तथा समृद्धि हुने भएकाले महायज्ञको विशेष महत्व रहेको बताए ।

अहिले विश्वभरि जताततै अशान्ति भइरहेको बेला देशमा शान्ति तथा समृद्धिका लागि आयोजना गरिएको यो महायज्ञले देशमा शान्तिको वातावरण सिर्जना हुने बताए ।

अहिले सरकारले पनि नेपालीलाई सुखी तथा देशलाई समृद्ध बनाउन विशेष नारा दिएर कार्यहरु गरिरहेको बेला समाजमा शान्ति तथा आत्मशान्तिका लागि भइरहेको यो महायज्ञले समाज तथा देशमै सकारात्मक उर्जा प्रदान गर्ने बताए ।

श्री ओम भक्तेश्वर शिव मठ मन्दिर एवम् गायत्री शक्ति पिठको आयोजनामा सुरु भएको महायज्ञ ९ दिनसम्म चल्ने छ । महायज्ञको पहिलो दिन कलश यात्रा निकालिएको मूल आयोजक समितिका अध्यक्ष मगदिश प्रशाद यादवले जानकारी दिए ।

नौ दिनसम्म चल्ने महायज्ञमा भारत तथा नेपालका विभिन्न धार्मिक प्रवचनकर्ताहरुले प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । उद्घाटन कार्यक्रममा समाजवादी पार्टीका महानगर अध्यक्ष इश्वर यादव लगायत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ