काठमाडौं, १८ चैत । बारा, पर्सा लगायतको क्षेत्रमा हावाहुरीबाट पीडितहरुको राहत कार्यका लागि राष्ट्रिय जनता पार्टी नेपालले पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले सोमबार एक विज्ञप्ति जारी गरी सो सहयोगको घोषणा गरेका हुन् ।
आइतबार राति आएको विनाशकारी आँधी, हावाहुरी र असिनापानीले बारा, पर्सा र रौतहटमा ४० जनाभन्दा बढीको ज्यान गएको र करीव ४०० भन्दा बढी घाइते भएका छन् ।
‘सो घटनाले हामीलाई दुःखी र स्तब्ध बनाएको छ’ भण्डारीले विज्ञप्तिमा भनेका छन्, मृतकआत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छांै ।’
घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पुरै पार्टी पंक्तिलाई राहत र उद्धार कार्यमा लाग्न संयोजक भण्डारीले आग्रह गरेका छन् ।
प्रदेश नं. २ को सरकारले प्राकृतिक विपत्तिको यस दुःखद घटनामा देखाएको तत्परताको प्रशंसा गर्दै संघीय सरकारलाई समेत राहत र उद्धार कार्यमा यथासिघ्र लाग्न आग्रह गरेका हुन् ।
तपाईको प्रतिक्रिया