जनकपुरधाम, ३० कार्तिक । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनकपुरधामलाई स्वास्थ्य सेवाको केन्द्र बनाउने बताएका छन् ।
अमेरिकी सरकारको सहयोगमा जनकपुर अञ्चल अस्पताल परिसरमा निर्माण हुन लागेको प्रसुती गृहको शिलान्यास गर्दै उपप्रधानमन्त्री यादवले सो कुरा बताएका हुन् ।
जनकपुर अञ्चल अस्पताललाई स्तरोन्नति गर्नुका साथै विभिन्न विशेषज्ञ सेवा संचालनको प्रयास समेत भै रहेको उल्लेख गर्दै उनले प्रादेशिक स्तरको आयुर्वेद अस्पताल समेत जनकपुरमै निर्माण गर्न लागिएको जानकारी गराए ।
जनकपुरको सरसरफाईमा सुधार ल्याउन जनकपुरवासीसँग आग्रह गर्दै उपप्रम यादवले भने, ‘तपाईहरु सरसफाईमा ध्यान दिनुस् अन्य विकासको जिम्मा हाम्रो हो ।’
८ करोडको लगानीमा निर्माण हुन लागेको एक सय सैयाको प्रसुति गृहमा उच्चस्तरको सेवा प्रदान गरिने अस्पतालका मेसु रामपरिक्षण यादवले बताए ।
भवनसहित अन्य उपकरण र सुविधाका लागि अमेरिकी सरकारले एक अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएको स्रोतले जनाएको छ ।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी, भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकासमन्त्री नवलकिशोर साह, कृषि राज्यमन्त्री योगेन्द्र राय यादवसहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया