काठमाडौं । दिनप्रति दिन तराई–मधेश मरुभूमिकरण हुँदै गएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चुरे संरक्षण तीनै तहको सरकारको प्राथमिकतामा पर्नुपर्ने ध्यानाकर्षण गराएको छ ।
लोसपा नेपालको भाद्र ८ र ९ गते बसेको शीर्ष तहको नेताहरुको विस्तारित बैठकको निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष महन्थ ठाकुरले चुरे संरक्षणका लागि तीनै तहको सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
तराई–मधेशका जिल्लाहरु खडेरीले गर्दा किसानहरु पूर्णतया नराम्रोसँग प्रभावित भएको हुनाले किसानहरुको लागि क्षतिपूर्तीको प्याकेज घोषणा गर्न संघीय तथा प्रादेशिक सरकारसँग जोरदार माग गर्ने निर्णय लोसपाले गरेको छ ।
मधेश प्रदेशका जिल्लाहरु सुख्खाग्रस्त भएको हुनाले खानेपानीको हाहाकार हुनुको साथै चापाकल, ईनार र पोखरीहरु सुकेको अवस्था भएकोले आम नागरिकलाई खानेपानीको सहज व्यवस्थापन गर्न तिन तहको सरकारलाई गम्भिररुपमा ध्यानाकर्षण गराएको हो ।
अध्यक्ष ठाकुरले तराई–मधेशका जिल्लाहरुको पानीको सतह दिन–प्रतिदिन तल जाँदै गरेकोले दीर्घकालिन रुपमा तराई–मधेश मरुभूमीहुने निश्चीतै रहेकोले चुरे संरक्षण अति आवश्यक कार्यभार तीन तहकै सरकारको प्राथमिक्तामा पर्नुपर्नेमा जोड दिएका छन् । साथै चुरे संरक्षणमा स्थानीय वासिन्दाको सहभागिता मुलक कार्य योजनाहरु सञ्चालनमा ल्याउनु पर्ने ठहर बैठकले गरेको छ ।
तराई–मधेशका जिल्लाहरुमा लुटपाट, चोरी–डकैति र हत्याको घटनाहरु दिन–प्रतिदिन बढ्दै गएकोमा लोसपा नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । संघीय सरकारसँग कानूनी राज्यको प्रत्याभूती हुने गरि आम नागरिकको ज्यू–धनको सुरक्षा प्रदान गर्न यस बैठकले माग गरेको हो ।
साथै, लोसपा नेपालको केन्द्रीय महाधिवेशन तोकिएको मिति श्रावण मसान्तबाट २०८२ चैत्र ६ र ७ गते गर्ने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया