दिपावलीले उत्पीडितको हृदयमा उज्यालो भरेर नयाँ प्रभात ल्याओस् : राजेन्द्र महतो

समाचार

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अन्धकारमाथि प्रकाशको विजय, आत्मजागरण, ऐक्यबद्धता र समृद्धिको प्रतीक दिपावली (तिहार) को सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष महतोले आइतबार ऐक्यवद्धता सहितको दिपावलीको शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘यो दीप पर्व केवल उत्सवको क्षण होइन, आत्ममूल्यांकन र पुनःसंघटनको पनि समय हो। भर्खरै सम्पन्न जेन–जी पुस्ताको विद्रोहले अपार बलिदान र धनजनको क्षति बेहोरे पनि, अन्धकारमाथि प्रकाशको विजय जस्तो अपेक्षित परिणाम अझै हासिल हुन सकिरहेको छैन। हाम्रो दर्शन स्वदेशवादले सिकाउँछ “शक्ति बाहिर होइन, आफ्नै भूमि, श्रम र चेतनामा निहित छ।” त्यो चेतनाको प्रस्फुटनका लागि अझ गहिरो आत्मजागरण आवश्यक छ ।’

उनले भनेका छन्, ‘हाम्रो लक्ष्य बहुलराष्ट्र राज्य निर्माण हो जहाँ प्रत्येक पहिचानको सम्मानसहित समान अवसर सुनिश्चित होस्।“नेपाल सबै नेपालीकालागि” भन्ने हाम्रो अभियान तबमात्र सफल हुन्छ जब हामी सबै विच वास्तविक ऐक्यबद्धता कायम गर्न सक्छौँ । यसो भएमात्र देवी लक्ष्मीको आगमन अर्थात् हाम्रो छलाङमय समृद्धिको आकांक्षा सम्भव हुनेछ । किनभने सुख, खुशी र समृद्धिको आधार न्याय, स्वाभिमान, सहकार्य र आत्मनिर्भरता हो।’

‘अब वेला आएको छ – हामी सबै सीमान्तकृत समुदाय, उत्पीडित जाति–वर्ग, श्रमजीवी, किसान, मजदुर, जेन–जीसहितका युवा पुस्ता र महिलाहरू साझा चेतना र उद्देश्यका साथ एकीकृत होऔँ । विखण्डित चिँडाहरूको टिलमिल उज्यालो होइन, ऐक्यबद्ध दीपशृंखलाको प्रकाश नै त्यो शक्ति हो, जसले देशलाई मुक्ति र समृद्धिको बाटोतर्फ डोर्याउँछ।’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

देवी लक्ष्मीको यो पर्व केवल धनपूजाको अवसर होइन, सामूहिक चेतनाको उज्यालो फैलाउने प्रेरणा पनि हो । अब समय आएको छ – सबै दीपहरूको उज्यालो मिलाएर प्रकाशतर्फ डोर्याउने । विखण्डित, राज्यविहिन अनुभव गरेका, सभ्यता–संस्कृति जोगाउन समर्पित र सुशासन–समृद्धि चाहने सबैलाई एकजुट पार्ने । शक्ति ध्रुवीकरणमार्फत स्वदेशको पुनर्जागरण र आफ्नो चेतना, श्रम र ऐक्यबाट नयाँ इतिहास लेख्ने । दिपावली २०८२ सालले प्रत्येक उत्पीडित हृदयमा उज्यालो भरेर न्याय, समानता र विजयको नयाँ प्रभात ल्याओस् हार्दिक शुभकामना ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ