मटिहानी नगरपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण सुरु

समाचार

मो. इसराफिल राइन, महोत्तरी । मटिहानी नगरपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गर्न सुरु गरेको छ । उक्त गहुँको बिउ वितरण कार्यको औपचारिक शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डलले गरेका हुन् ।

नगर प्रमुख मण्डलले कार्यक्रमको शुभारम्भ गर्दै किसानको आयआर्जन बढाउन तथा आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न नगरपालिकाले प्राथमिकताका साथ कृषि क्षेत्रलाई सहयोग गर्दै आएको बताए । उनले उन्नत जातको बिउ प्रयोगबाट उत्पादन र उत्पादकत्व बढ्ने विश्वास व्यक्त गरे ।

नगरपालिकाको कृषि शाखाकी प्रमुख संध्या साहका अनुसार पालिका भित्रका करिब ५०० जना गहुँ खेती गर्ने किसानहरूलाई लक्षित गरी शनिबारदेखि ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरिएको हो। उनले बिउ वितरण कार्यले किसानलाई राहत पुग्ने र आगामी सिजनमा गहुँ उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरिन् ।

कृषि शाखाका सह–संयोजक टंक प्रसाद उपाध्यायले वडाको सिफारिसको आधारमा किसानको नागरिकताको प्रतिलिपि संकलन गरी गहुँको बिउ वितरण भइरहेको जानकारी दिए । उनका अनुसार वास्तविक किसानलाई मात्रै अनुदानको सुविधा पु¥याउने उद्देश्यले आवश्यक प्रक्रिया अपनाइएको छ।

गहुँको बिउ वितरण कार्यक्रममा वडा अध्यक्षहरू कलिम अंसारी, जीत नारायण माझी, रितेश साह, मिश्री नायक, मोहम्मद रयूफ, कृषि शाखा प्रमुख संध्या साह, कार्यपालिका सदस्यहरू अरुण नाहर, राम पदारथ साह लगायतका जनप्रतिनिधि तथा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ